भीमफेदी दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १४ पुग्यो, तीन शवको पहिचान खुल्न बाँकी

बिहिबार, २६ कार्तिक, २०८३
डिजिटल संस्करण

मकवानपुर । भीमफेदी गाउँपालिका– ६ स्थित चिसापानीगढीमा भएको यात्रुवाहक गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ। यसअघि ११ जनाको मृत्यु भएको पुष्टि भएकामा घटनास्थलमा खोज तथा उद्धारका क्रममा थप तीन पुरुषको शव फेला परेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। थप फेला परेका तीन शवको पहिचान भने खुल्न बाँकी छ।

काफ्लेका अनुसार यसअघि पहिचान खुलेका ११ जनामा पाँच महिला र बालिका तथा ६ पुरुष छन्। थप तीन पुरुषको शव फेला परेसँगै दुर्घटनामा मृत्यु हुनेमा पाँच महिला तथा बालिका र नौ पुरुष छन्। मृतकमा तीन बालिका तथा एउटै परिवारका सदस्यसमेत छन्।

प्रहरी प्रवक्ता डिएसपी काफ्लेका अनुसार मृत्यु हुनेमा सर्लाहीको कविलासी गाउँपालिका– ८ का करिब ३० वर्षीय चालक रविशंकरकुमार मण्डल छन्। त्यस्तै, सर्लाहीको चक्रघट्टा गाउँपालिका– ४, सुन्दरपुरटोलका २६ वर्षीय विकेश यादव, ३५ वर्षीया पुनम यादव, सात वर्षीया दीक्षा यादव, पाँच वर्षीया दीपिका यादव, १० वर्षीया अनुकुमारी यादव, ३५ वर्षीय गुड्डु यादव, ३२ वर्षीया गायत्री देवी, २६ वर्षीय रामदुलार यादव, २४ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवको मृत्यु भएको छ।

मृतक पुनम यादव अवधेश यादवकी श्रीमती हुन् भने दीक्षा, दीपिका र अनु कुमारी उनका छोरी हुन्। त्यस्तै, गायत्रीदेवी गुड्डु यादवकी श्रीमती रहेको प्रहरीले जनाएको छ। एउटै परिवारका सदस्यसहित बालबालिकाले ज्यान गुमाएपछि सर्लाहीको सुन्दरपुरटोल शोकमा डुबेको छ।

दुर्घटनामा ६ जना घाइते भएका छन्। घाइतेमध्ये सर्लाही चक्रघट्टा–४ का ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षमकुमार यादव र २६ वर्षीय देवेन्द्र राय उपचारपछि हेटौँडा अस्पतालबाट डिस्चार्ज भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

तीन वर्षीय सुजन यादवको टाउको र मुखमा चोट लागेको छ। अवस्था मध्यम रहेकाले उनलाई थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल रिफर गरिएको छ। त्यस्तै, ३१ वर्षीय बेचु भन्ने देवेन्द्र रायको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनलाई थप उपचारका लागि भरतपुरस्थित मनकामना अस्पताल पठाइएको छ।

अवधेश यादवका १४ महिनाका छोरा सुदीप यादव पनि दुर्घटनामा घाइते भएका छन्। उनलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकामा थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल रिफर गरिएको डिएसपी काफ्लेले जानकारी दिए।

दुर्घटनापछि उद्धार तथा खोजतलासका लागि बागमती प्रदेश प्रहरी गण हेटौँडाबाट प्रहरी निरीक्षक बालकृष्ण पुडासैनीको कमान्डमा १३ जना र बागमती प्रदेश विपत् व्यवस्थापन गुल्म थानाभर्याङबाट चारजना गरी १७ जनाको थप टोली घटनास्थल पुगेको थियो।

काठमाडौंबाट सर्लाहीको चक्रघट्टा गाउँपालिका– ४ स्थित सुन्दरपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय हाइस बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत चिसापानीगढीमा दुर्घटनामा परेको थियो। सडकबाट करिब पाँच सय मिटर तल खसेर गाढी दुर्घटना भएको प्रहरीले जनाएको छ।

सुझावित समाचार