भीमफेदी दुर्घटनामा मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो

बिहिबार, २६ कार्तिक, २०८३
डिजिटल संस्करण

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा बिहीबार बिहान भएको यात्रुवाहक विद्युतीय गाडी (इभी) दुर्घटनामा मृत्यु भएका १४ जनाकै पहिचान खुलेको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको हो। काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक इभी बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डबाट करिब ५०० मिटर तल खसेको थियो।

दुर्घटनामा परेका यात्रु छठ पर्व मनाउन ललितपुरको टीकाथलीबाट सर्लाहीस्थित घर फर्किँदै थिए। मकवानपुर प्रहरीका अनुसार गाडीमा सवार सबै यात्रु एउटै गाउँका छिमेकी तथा आफन्त थिए।

दुर्घटनामा मृत्यु हुनेमा गाडीचालक सर्लाहीको कविलासी नगरपालिका–८ का ३० वर्षीय रविशङ्कर कुमार मण्डल, चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका २६ वर्षीय विकेश यादव, ३५ वर्षीय पुनमदेवी यादव, ७ वर्षीया दीक्षा यादव, ५ वर्षीया दीपिका यादव, १० वर्षीया अनुकुमारी यादव, ३६ वर्षीय गुड्डु यादव, ३२ वर्षीया गायत्री देवी यादव, २६ वर्षीय रामदुलार यादव, २५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादव रहेका छन्।

मृत्यु हुने अन्य तीनजनामा राकेश यादव, छोटु यादव र सुदेश यादव छन्। छोटु राकेशका साला हुन्। यस्तै दुर्घटनामा मृतक पुनमदेवी यादव अवधेश यादवकी श्रीमती हुन् भने दीक्षा, दीपिका र अनुकुमारी यादव उनका छोरीहरू हुन्। गायत्री देवी गुड्डुकी श्रीमती हुन्।

दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीनजना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। घाइते मुकेश यादव, सक्षमकुमार यादव र देवेन्द्र राय हेटौँडा अस्पतालबाट डिस्चार्ज भएका हुन्।

दुर्घटनामा परी घाइते भएका ३० वर्षीय सुजन यादव र १४ महिनाका सुदीप यादवलाई थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल रेफर गरिएको छ। ३१ वर्षका बेचु भन्ने देवेन्द्र रायलाई भरतपुरस्थित मनकामना अस्पताल रेफर गरिएको मकवानपुर प्रहरीले जनाएको छ।

सुझावित समाचार