त्रिविका सबै संकायमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी

शनिबार, २८ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडाैं- त्रिभुवन विश्वविद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि सबै संकायमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी गरिएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयसँग शुक्रबार भएको छलफलमा त्रिविका उपकुलपति प्राडा भोला थापाले सेमेस्टर प्रणाली कार्यान्वयनका लागि पाठ्यक्रम निर्माण भइरहेको र नीतिगत सुधारसँगै पाठ्यक्रम परिमार्जनको काम अघि बढाइएको जानकारी गराए ।

विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै त्रिभुवन विश्वविद्यालयलाई उत्कृष्टताको केन्द्र (सेन्टर फर एक्सिलेन्स)का रूपमा विकास गर्न विश्वविद्यालय प्रतिबद्ध रहेको उनको भनाइ छ । शिक्षामन्त्री सस्मित पोखरेलका सल्लाहकार शैलेन्द्र झाले विद्युतीय हाजिरी (इ–एटेन्डेन्स) प्रणालीले शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने बताए । उनले सम्बन्धन वितरणमा संख्यात्मक विस्तारभन्दा गुणस्तरलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

त्रिविसँग सम्बन्धन प्राप्त सबै क्याम्पसमा आवश्यक शैक्षिक पूर्वाधार, पुस्तकालय र प्रयोगशालाको व्यवस्था अनिवार्य हुनुपर्ने तथा क्याम्पसको दिगोपन र शैक्षिक गुणस्तर कायम गर्न विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । झाले विश्वविद्यालयको पठनपाठनलाई सेमेस्टर प्रणालीमा लैजानुपर्ने, कलेजहरूलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्नुपर्ने र शैक्षिक सत्रलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । शिक्षा मन्त्रालयका सहसचिव भट्टराईले त्रिविको जग्गासम्बन्धी विषयमा थप खोजबिन गरी समग्र लगत तयार गर्नुपर्ने बताए । यसका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने उनले बताए । 

सुझावित समाचार