एमालेको राष्ट्रिय कार्यकर्ता भेलामा तीन हजार चार सय १४ प्रतिनिधि सहभागी हुने भएका छन् । काठमाडौंको बबरमहलस्थित एक बैंक्वेटमा आगामी २ र ३ मंसिरमा भेला हुँदै छ ।
शुक्रबार पार्टी कार्यालय, च्यासलमा आयोजित भेलाको अन्तिम तयारी बैठकमा भेला तयारी मूल समितिका संयोजक भानुभक्त ढकालले देशभरबाट नेता, जनप्रतिनिधि तथा विभिन्न तहका संगठनका प्रतिनिधि सहभागी हुने बताए । उनले प्रस्तुत गरेको विवरणअनुसार भेलामा ३४६ केन्द्रीय सदस्य, ८१ केन्द्रीय निकायका प्रतिनिधि, ५५ प्रदेश, भारत प्रवास तथा प्रवासी नेपाली मञ्चका प्रतिनिधि, ४४० जिल्ला तहका प्रतिनिधि र एक हजार ५०६ जना पालिका कमिटीका प्रतिनिधि सहभागी हुनेछन् । त्यस्तै, संघीय संसद् तथा राष्ट्रिय सभाका ३५, प्रदेश सभाका १५५, स्थानीय तहका प्रमुख तथा अध्यक्ष १९६, उपप्रमुख तथा उपाध्यक्ष ३४२ र जनसंगठनका ९६ जना प्रतिनिधि सहभागी हुनेछन् ।
अन्तिम तयारी बैठकमा विभिन्न प्रदेशबाट सहभागी हुने प्रतिनिधिको अवस्था, व्यवस्थापन र कार्यक्रम सञ्चालनसम्बन्धी तयारीबारे विस्तृत समीक्षा गरिएको प्रचार विभाग प्रमुख नीरज आचार्यले बताए । बैठकमा महासचिव शंकर पोखरेलले स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर पार्टीका नेता तथा कार्यकर्तामाझ एकीकृत सन्देश प्रवाह गर्नु भेलाको मुख्य उद्देश्य रहेको बताए । पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, जनजीविकाका सवाल र आगामी राजनीतिक चुनौतीबारे साझा बुझाइ निर्माण गर्दै पार्टी पंक्तिलाई स्थानीय निर्वाचनको तयारीमा परिचालित गर्ने लक्ष्य भेलाको रहेको उनले बताए । भेला तयारीका लागि जिम्मेवारी पाएका विभिन्न प्रदेशका फोकल पर्सनहरूले आ–आफ्नो प्रदेशबाट हुने सहभागिताबारे रिपोर्टिङ गरेका थिए ।
बैठकमा संयोजक ढकालले कार्यक्रमस्थलमा सभाहल व्यवस्थापन, मञ्च निर्माण, सजावट, प्रचारप्रसार तथा स्वयंसेवक परिचालनलगायत तयारीलाई तीव्रता दिइएको जानकारी गराए । भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्ष रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।