गाडीमा नअटाएर छुटेका अवधेश यादवले गुमाए गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ

शुक्रबार, २७ कार्तिक, २०८३
प्रिन्ट संस्करण

हेटौँडा-फलफूल व्यापारी अवधेश यादव पनि परिवार चढेकै गाडीमा छठ मनाउन सर्लाहीस्थित घर जाने योजनामा थिए । तर, गाडीमा सिट नपुगेपछि आफू डेरामै फर्किए, परिवारका सात सदस्यलाई गाडी चढाएर पठाइदिए । तर, उक्त गाडी भीमफेदीमा दुर्घटनामा पर्यो । उनकी गर्भवती श्रीमती, तीन छोरी र दुई भाइको मृत्यु भयो भने एक छोरा घाइते भएका छन् ।

३५ वर्षीया गर्भवती श्रीमती पुनमदेवी, छोरीहरू १० वर्षीया अनुकुमारी, सात वर्षीया दीक्षा र पाँच वर्षीया दीपिका तथा भाइहरू २६ वर्षीय विकेश र २४ वर्षीय सुबोधको मृत्यु भएको हो । विकेश काठमाडौंमै सिभिल इन्जिनियरिङ पढिरहेका थिए भने सुबोध फलफूल व्यापार गर्थे । १४ महिने छोरा सुदीप घाइते छन्, उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

‘गाडीमा नअटाएपछि म भोलितिर आउँछु, तिमीहरू जाँदै गर भनेर पठाएको थिएँ,’ हेटौँडा अस्पतालपरिसरमा भावविह्वल अवधेशले भने, ‘यस्तो हुन्छ भन्ने थाहा थियो भने म पनि बरु त्यही गाडीमा जसरी पनि आउँथेँ ।’

परिवारका सदस्य र गाउँघरकै अरूलाई गाडीमा बिदाइ गरेर कोठामा फर्किएर सुतेका अवधेशलाई बिहीबार बिहान ५ बजे दुर्घटनाको खबर आएको थियो । त्यो उनका लागि खबर थिएन, बज्रपात थियो । चाडको मुखमा परिवार नै सखाप भएको यो घटनाले अवधेश बेचैन छन् । उनको परिवारसँगै एकै गाउँका अन्य आठजनाले पनि ज्यान गुमाएका छन् भने पाँचजना घाइते छन् । 

सुझावित समाचार