Skip This
हजारौँ बचतकर्ताको अर्बौँ हिनामिना गरेका सहकारी सञ्चालकहरूको ‘कागजी डिभोर्स’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३० आइतबार
  • Wednesday, 18 September, 2024
टेकराज थामी काठमाडाैं
२o८१ भदौ ३० आइतबार o६:३६:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

हजारौँ बचतकर्ताको अर्बौँ हिनामिना गरेका सहकारी सञ्चालकहरूको ‘कागजी डिभोर्स’

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ ३० आइतबार o६:३६:oo

बचतकर्ताको अर्बौँ रकम अपचलन गरेर निजी सम्पत्ति जोडेका ठुला सहकारीका सञ्चालकले कानुनी फन्दामा पर्ने संकेत पाएपछि धनदौलत श्रीमतीका नाममा सारेर योजनाबद्ध रूपमा ‘डिभोर्स’ गरेका छन्, समस्याग्रस्त सहकारीमाथि गरिएका छानबिनबाट उनीहरूको धुर्त्याइँ पुष्टि भएको छ

हजारौँ बचतकर्ताको अर्बौँ रकम अपचलनमा मुछिएका समस्याग्रस्त ठुला सहकारीका सञ्चालकहरूले सम्पत्ति जोगाउन श्रीमतीसँग कागजी सम्बन्धविच्छेद गरेका छन् । समस्याग्रस्त सहकारीमाथि गरिएका छानबिनबाट उनीहरूको धुर्त्याइँ पुष्टि भएको छ । आर्थिक अपचलन मुद्दामा जुनसुकै वेला कानुनी फन्दामा पर्ने र भएभरको सम्पत्तिसमेत गुम्ने डर भएपछि योजनाबद्ध रूपमै उनीहरूले सम्बन्धविच्छेद गरेका हुन् । 

सम्पत्ति जोगाउनकै लागि कानुनी रूपमा सम्बन्धविच्छेद गर्ने सहकारी सञ्चालकहरूको सूची लामै रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारी नै बताउँछन् । यस्तो सूचीको पहिलो नम्बरमा आउँछन्– ओरियन्टल को–अपरेटिभका अध्यक्ष सुधीर बस्नेत । उनले ०६९ भदौअघिसम्म महँगो ब्याज दिने प्रलोभनमा चार हजार २५९ बचतकर्ताबाट तीन अर्ब १९ करोड ५० लाख २२ हजार ८६२ रुपैयाँ उठाएका थिए ।

सोही रकमबाट हाउजिङ निर्माण गरेका उनले त्यही हाउजिङ देखाएर बैंकबाट ऋण लिए । जब कारोबारमा समस्या आउन थाल्यो, तब सहकारीको सम्पत्ति श्रीमती नितु बस्नेतको नाममा पास गरे । लगत्तै अदालत पुगेर नितुसँग सम्बन्धविच्छेद पनि गरे । कागजी रूपमा सम्बन्ध तोडे पनि व्यवहारमा उनीहरू सँगसँगै रहे । सहकारी ठगी कसुरमा सुधीर जेल परे, त्यतिवेला पनि दुईबिचको सम्बन्ध बिग्रिएन । अहिले पनि उनीहरू सँगै बसिरहेका छन् । सुधीरले बचतकर्ताको रकम भने अझै फिर्ता गरेका छैनन् । 

बचतकर्ताको अपचलन गरेको रकम व्यवस्थापन गर्न श्रीमतीसँग कागजी सम्बन्धविच्छेद गर्ने अर्का सहकारी सञ्चालक हुन्– सिभिल सहकारीका अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङ । करिब दुई हजार बचतकर्ताबाट पाँच अर्ब ५९ करोड रुपैयाँ उठाएका उनले श्रीमती सिर्जना शाक्य, छोरीहरू प्रतीक्षा र प्रतिष्ठा तामाङको नाममा घरजग्गा पास गरे । विभिन्न कम्पनीमा सेयर खरिद गरे । बाँकी रकम विभिन्न कम्पनीको नाममा निकासा गरे । जब सहकारीमा समस्या आउने सुइँको पाए, तब इच्छाराज र सिर्जना अदालत पुगेर सम्बन्धविच्छेद गरे । जब कि १८ असोज ०७८ मा पक्राउ पर्नुभन्दा अघिसम्म उनीहरू सँगै बस्दै आएका थिए । 

३७ हजार बचतकर्ताको १० अर्ब ३४ करोड सात लाख ३९ हजार ठगी गर्ने अर्का सञ्चालक हुन्– सुमेरू सहकारीका अध्यक्ष भरत महर्जन । सहकारीको रकम अपचलन गरेर उनले श्रीमती राजमायाको नाममा धापाखेलमा दुई रोपनी दुई आना दुई पैसा जग्गा खरिद गरिदिए । छोरा सचिन र छोरी सरलाका नाममा टौदहस्थित सुमेरू रिसोर्टको जग्गा नाम सारी गरिदिए । जब सहकारीमा समस्या आउने संकेत पाए, तब अदालत पुगेर श्रीमतीसँग सम्बन्धविच्छेद गरे । यो सम्बन्धविच्छेद योजनाबद्ध थियो भन्ने पुष्टि पछि उनीहरूकै गतिविधिले गरिदियो । अहिले बेलायत बस्दै आएका उनीहरू पुनः विवाह गरेर गएका थिए । विवाह गरेर नाता प्रमाणित गरी राहदानी बनाएर उनीहरू बेलायत उडेका थिए । 

शिव शिखर बहुउद्देश्यीय सहकारीका अध्यक्ष केदारनाथ शर्माले पनि श्रीमती गीता शर्मासँग कागजी सम्बन्धविच्छेद गरेका छन् । केदारनाथले ३२ हजार ६१२ बचतकर्ताबाट नौ अर्ब ४९ करोड २२ हजार ८९६ रुपैयाँ उठाएका थिए । उनले श्रीमती गीताको नाममा शिखर अर्गनाइजेसनलगायत कम्पनी खडा गरी सहकारीको रकम सोही कम्पनीको नाममा निकासा गरे । उक्त कम्पनीमार्फत विभिन्न क्षेत्रमा ठूलो लगानी गरे । सहकारीमा समस्या आउन थालेपछि उनीहरूले सम्बन्धविच्छेद गरेका हुन् । केदारनाथ र गीता दुवै अहिले पुर्पक्षका लागि थुनामा छन् । 

देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंले पनि बचतकर्ताबाट उठाएको रकम हिनामिना गर्ने उद्देश्यले श्रीमतीसँग कागजी सम्बन्धविच्छेद गरेका छन् । २० हजार बचतकर्ताबाट तीन अर्बभन्दा धेरै उठाएका उनले आफू र श्रीमती पूजा खत्रीको नाममा ६५ स्थानमा १०३ रोपनी जग्गा जोडेको सिआइबीको अनुसन्धानमा खुलिसकेको छ । श्रीमतीदेखि जेठानसम्मको नाममा जग्गा जोडेका उनले सहकारीमा समस्या आउन थालेपछि भने श्रीमती पूजासँग कागजी सम्बन्धविच्छेद गरे । दुवैजना अहिले पुर्पक्षका लागि जेलमा छन् । 

काभ्रेका स्थापित कांग्रेस नेता हुन्– सिबी अर्थात् चन्द्रबहादुर लामा । उनले पनि सहकारी ठगीबाट जोडेको सम्पत्ति जोगाउन श्रीमती जुनी श्रेष्ठसँग कागजी सम्बन्धविच्छेद गरेका छन् । गत १८ जेठमा चितवनबाट पक्राउ परेका सिबी कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी र पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेभिट दुवैमा समानान्तर रूपमा २१ वर्ष अनवरत अध्यक्ष बने । दुवै सहकारीबाट उनले एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ अपचलन गरे । उनले पशुपति सेभिङबाट मात्रै एक हजार ४२ बचतकर्ताका एक अर्ब १४ करोड ४८ लाख तीन हजार ६१८ रुपैयाँ संकलन गरेका थिए । सहकारीकै अर्का एक साझेदारको मृत्यु भएपछि उनले ती साझेदारकी श्रीमतीसँग पनि विवाह गरे । थुनामा पर्नुअघि उनी दुवै श्रीमतीसँग बस्दै आएका थिए । 

यसबाहेक लालीगुराँस सहकारीका सञ्चालक सुरेन्द्र भण्डारीले पत्नी पार्वती बस्नेतसँग, सूर्यदर्शन सहकारीका अध्यक्ष जिबी राईले पत्नी निशा बमजनसँग, गुडविल सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ पत्नी जेनी महर्जन श्रेष्ठसँग कागजी सम्बन्धविच्छेद गरेका छन् । त्यस्तै, प्राइम सहकारी सञ्चालक सुरेन्द्रमणि पौडेल, लुनिभा सहकारी अध्यक्ष मीनकृष्ण महर्जन, स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिटका खेमराज निरौलाले पनि श्रीमतीसँग कागजी सम्बन्धविच्छेद गरेका छन् । 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमणकुमार गौतम ठुला तथा समस्याग्रस्त सहकारीका सञ्चालकहरूले योजनाबद्ध रूपमा श्रीमतीसँग कागजी सम्बन्धविच्छेद गरेको बताउँछन् । ‘सहकारी सञ्चालकले बचतकर्ताबाट रकम असुल्छन् । अन्धाधुन्ध लगानी गर्छन् । श्रीमती र आफन्तका नाममा विनाधितो ऋण प्रवाह गर्छन् । सम्पत्ति पनि उनीहरूकै नाममा पास गरिदिन्छन् । सहकारीमा समस्या आउन सक्ने अनुमान उनीहरूलाई पहिले नै हुन्छ । त्यसो हुँदा उनीहरू श्रीमतीसँग कागजी रूपमा समबन्धविच्छेद गर्छन्,’ उनले भने, ‘सुधीर बस्नेत, मीनकृष्ण महर्जन, खेमराज निरौला, सिबी लामा सोहीमध्येका केही पात्र हुन् ।’ 

संसदीय समितिको अध्ययनका क्रममा पनि सर्वसाधारणबाट ठगी गरिएको सम्पत्ति जोगाउन सञ्चालकहरूले कागजी सम्बन्धविच्छेद गरेको पाइएको छ । सहकारीमा भएको रकम अपचलनबारे अध्ययन गर्न गठित संसदीय समितिका सदस्य सांसद शिशिर खनालले सहकारी सञ्चालकहरूले योजनावद्ध रुपमै कागजी सम्बन्धविच्छेद गरेको पाइएको बताए । ‘समस्याग्रस्त सहकारी छानबिनका क्रममा हामीले विभिन्न सहकारीका सञ्चालकसँग छलफल ग¥यौँ । यसक्रममा सहकारी सञ्चालकहरूले योजनाबद्ध रूपमै कागजी सम्बन्धविच्छेद गरेको देखियो,’ उनले भने, ‘केहीको त कस्तो पनि देखियो भने सहकारी सञ्चालक हुँदा सम्बन्धविच्छेद गरेको र फरार भई विदेश जाने क्रममा पुनः विवाह गरेको भेटियो । भरत महर्जन सोहीमध्येका एक पात्र हुन् ।’

बचत तथा ऋण सहकारी संघ जिल्ला कार्यसमिति ललितपुरका अध्यक्ष रामहरि बजगाईं पनि बचतकर्ताको रकम अपचलनपछि सम्पत्ति जोगाउने उद्देश्यले श्रीमतीसँग कागजी सम्बन्धविच्छेद गर्ने सहकारी सञ्चालकको संख्या उल्लेख्य रहेको बताउँछन् । ‘सहकारी सञ्चालन दुई तरिकाले भए । एउटा विशुद्ध समुदायमा आधारित भएर सञ्चालनमा रहे, जसमा कुनै समस्या छैन । तर, अर्को अरूको देखासिकी र लहलहैमा खुले, अहिले समस्या आएको त्यहीँ हो । त्यस्ता सहकारी सञ्चालक जसरी पनि पैसा कमाउन चाहन्थे । यसका लागि उनीहरूले त्यही हर्कत गरे, जुन कानुनसम्मत थिए । श्रीमतीसँग कागजी सम्बन्धविच्छेद यसैअन्तर्गतका हर्कत हुन् । यस्ता प्रवृत्ति सहकारी सञ्चालकहरूमा बढ्दै गएको देखिन्छ,’ उनले भने ।