
करोडौँ रकम ठगी तथा चेक बाउन्सको अभियोगमा पक्राउ परेका विवादास्पद ठेकेदार मनोज भेटवाल पाँच दिनपछि नै छुटेका छन् । अनुसन्धान नै पूरा नभई उनी छुटेका हुन् । बिहीबार जिल्ला अदालत, काठमाडौंले उनलाई थुनामा नराखी अनुसन्धान गर्न भनेको प्रहरीले जनाएको छ ।
म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतले थुनामा राख्न म्याद नदिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए । ‘म्याद थपका लागि अदालत लगेकोमा थुनामा नराखी अनुसन्धान गर्न भनिएको छ,’ उनले भने, ‘अदालतको निर्णयअनुसार उनी हाजिरी जमानीमा छुटेका छन् ।’
प्रहरी स्रोतका अनुसार ठेकेदार भेटवालविरुद्ध करिब नौ करोड रुपैयाँ ठगीको उजुरी परेको छ । चेक बाउन्समा एक–दुई लाख बिगोका आरोपीलाई समेत प्रहरीले थुनामै राखेर अनुसन्धान गर्दछ । तर, करोडौँ ठगीका आरोपीलाई अदालतले म्याद नदिएपछि प्रहरी अधिकारी पनि आश्चर्यमा परेका छन् ।
पक्राउ परेलगत्तै उनलाई छाड्न काठमाडौं प्रहरीमाथि उच्च तहबाट दबाब परेको थियो । जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेका आधारमा गत १३ असारमा अनामनगरबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो । तर, माथिबाट दबाब आएको भन्दै लगत्तै छुटेका थिए । विवाद भएपछि फेरि प्रहरीले बेलुका नियन्त्रणमा लिएर प्रहरीले विज्ञप्ति जारी गरेको थियो । पक्राउ परेलगत्तै उनी अस्पताल भर्ना भएकोमा हिरासत नै नबसी छुटेका हुन् । अझै शक्तिको दुरुपयोग गरी पीडितविरुद्ध नै उल्टो जाहेरी दिएकोसमेत काठमाडौं परिसर स्रोत बताउँछ ।
व्यवसायी भेटवाललाई यसअघि पनि प्रहरीले बारम्बार बैंकिङ कसुर तथा चेक बाउन्सका कसुरमा मुद्दा चलाएको थियो । जसमध्ये कतिपयमा उनी दोषीसमेत ठहर भइसकेका छन् । कमसल धितोका आधारमा रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीलाई ठगी गरेको आरोपमा समेत उनी ०७५ मा पक्राउ परेका थिए ।