
बागमती प्रदेशले गण्डकी कप महिला राष्ट्रिय बास्केटबल प्रतियोगिता ०८२ को उपाधि हात पारेको छ। गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा आयोजक गण्डकीलाई ५५–३४ स्कोरले पराजित गर्दै बागमतीले उपाधि हात पारेको हो।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सम्पन्न प्रतियोगितामा बागमतीले उपाधिसँगै गण्डकीसँग यसअघि लिग चरणको खेलमा भएको हारको बदला समेत लिएको छ।
लिगमा गण्डकीले बागमतीलाई २४–१७ ले पराजित गरेको थियो। प्रतियोगिताको बिजेताले एक लाख, उपविजेताले ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा सेमिफाइनमा पराजित कर्णाली र कोशी प्रदेशले १०–१० हजार नगद पुरस्कार पाए।
प्रदेश खेलकुद परिषद्का उपाध्यक्षसमेत रहेका आयोजक संघका अध्यक्ष धोजकुमार गुरुङका अनुसार प्रतियोगितामा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली गरी ६ प्रदेशको सहभागिता थियो। फिबाको नियमअनुसार लिगकम नकआउटका आधारमा सञ्चालन गरिएको प्रतियोगितामा बागमतीकी मीना गुरुङ ‘मस्ट भ्यालुएबल प्लेयर’ घोषित हुँदै ट्रफी र प्रमाणपत्र पुरस्कार हात पारिन्। विजेता टोली एवं खेलाडीहरूलाई गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बराललगायतले पुरस्कार वितरण गरेका थिए।