
कपिलवस्तुमा इस्लाम धर्मअनुसार नयाँ वर्षको प्रारम्भ मानिने मोहर्रम पर्व हिन्दु र इस्लाम समुदायले सौहार्दपूर्ण र शान्तिपूर्ण वातावरणमा मनाएका छन्। कपिलवस्तुको कृष्णनगर, तौलिहवा, महाराजगन्जलगायतका स्थानहरूमा पर्व विशेष उल्लास र श्रद्धाका साथ मनाइएको छ।
मोहर्रम पर्व विशेष गरी सिया मुस्लिम समुदायले शोक पर्वका रूपमा मनाउने गर्छन्। धार्मिक विश्वासअनुसार ६८० इस्वीमा करबलाको युद्धमा इस्लाम धर्मका पैगम्बर मोहम्मद साहबका नाति इमाम हुसैन र उनका परिवार, समर्थकलाई यजिदको सेनाले सहिद बनाएका थिए। अन्याय, अत्याचार र अधर्मको विरुद्धमा लड्दै इमाम हुसैनले दिएको बलिदानको सम्झनामा यो पर्व मनाइने गरिएको छ।
कृष्णनगर मोहर्रम मेला समितिका आयोजक रासिद मिर्जाका अनुसार मोहर्रम हिन्दु र मुस्लिम समुदायले पुर्खाैंदेखि आपसी एकता र सहिष्णुताका साथ मनाउँदै आएका छन्। उनका अनुसार दुवै समुदायले ताजिया–इमाम हुसैनको समाधिको प्रतीक– निर्माण गरी श्रद्धापूर्वक जुलुस निकाल्ने र अन्ततः कर्बलामा विसर्जन गर्ने परम्परा छ।
सिया मुस्लिमहरूले आत्मनिरीक्षण, प्रार्थना तथा मातम शोक प्रदर्शनका साथ यो पर्व मनाउँछन् भने सुन्नी मुस्लिमहरूले यो महिना पवित्र मानेर उपवास र धार्मिक अभ्यासमा ध्यान केन्द्रित गर्छन्।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार, मोहर्रमजस्ता पर्वहरूले हिन्दु–मुस्लिम समुदायबिचको सामाजिक सद्भाव, एकता र सहअस्तित्वको उत्कृष्ट उदाहरण प्रस्तुत रहेको छ। कपिलवस्तुको सौहार्दता अन्य स्थानका लागि पनि सिक्नयोग्य रहेको उनको भनाइ छ। मोहर्रम पर्व जिल्लामा शान्तिपूर्ण, भव्य र सामुदायिक सहकार्यका साथ सम्पन्न भएको उनले बताए। कपिलवस्तुमा यो पर्वले धार्मिक आस्थासँगै सामाजिक एकताको पनि सन्देश दिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताएका छन्।