१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २६ बुधबार
  • Tuesday, 17 September, 2024
टेकराज थामी काठमाडौं
२o८१ भदौ २६ बुधबार o६:१५:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा धनराजको नामसहित परेको थियो उजुरी तर, नाम काटेर गरियो सिआइबीमा सिफारिस

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २६ बुधबार o६:१५:oo

मितेरी सहकारीको रकम हिनामिना प्रकरण

ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभको १४ करोड ८१ लाख हिनामिनामा कांग्रेस उपसभापति एवं सांसद धनराज गुरुङको नाममा समेत उजुरी परेको भेटिएको छ । धनराजसहित ज्योति गुरुङ, ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश थापाको नाम किटान गरेर सहकारीले नै गत १४ साउनमा बागमती प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी दिएको खुलेको हो । तर, कार्यालयले अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई सिफारिस गर्दा धनराजको नाम हटाएर अन्य पाँचजनाको मात्रै पठाएको खुलेको छ ।

कार्यालयका रजिस्ट्रार राजन पोखरेलले धनराजको नाम हटाएर अन्यविरुद्ध अनुसन्धान प्रक्रिया अघि बढाउन सिआइबीलाई सिफारिस गरिएको स्वीकार गरे । ‘मितेरीको तर्फबाट सचिव बोधविक्रम थापा उजुरी लिएर हामीकहाँ आएका थिए । उजुरीमा धनराज गुरुङ, ज्योति गुरुङसहित सहकारीसँग सम्बन्धित अन्य व्यक्तिको नाम पनि उल्लेख थियो । धनराजको नाम हटाएर ज्योति र निजसँग सम्बन्धित अन्यविरुद्ध अनुसन्धान गर्न हामीले सिआइबीलाई पत्राचार गरेका हौँ ।’

तर, ६ जनाविरुद्ध उजुरी परेकोमा धनराजको नाम काटेर अन्यको मात्रै सिफारिस पठाउनुको स्वार्थ के हो ? यो प्रश्नमा रजिस्ट्रार पोखरेलले दाबी गरे, ‘हामीले धनराज गुरुङ भन्ने मान्छे तपाईंको संस्थाको कर्मचारी वा कोष सञ्चालन गर्ने वा रकम संकलन गर्ने बजार प्रतिनिधि वा चेक काटेर भुक्तानी दिने कुनै कर्मचारी हो ? भनेर प्रश्न गरेका थियौँ । उजुरीकर्ताले धनराज गुरुङ तीमध्ये कोही पनि होइन भनेपछि सरोकार नै नभएको व्यक्तिलाई सिफारिस गर्न सकिँदैन भनेर उनको नाम काटेका हौँ ।’ 

प्रदेश रजिस्ट्रारको कार्यालयमा उजुरी गर्नुअघि सहकारीले रकम हिनामिनाको सम्बन्धमा आन्तरिक छानबिन गरेको थियो । उक्त छानबिनले १२ करोड ५० लाख हिनामिनामा ज्योतिको मुख्य भूमिका रहेको निष्कर्ष निकालेको थियो भने हिनामिनामा धनराजसहित ज्योतिबहादुर, सुजन, हितमान र प्रकाशको संलग्नता ठहर गरेको थियो । पछि सहकारीको वार्षिक अडिटमा पनि रकम हिनामिना भएको निष्कर्षसहित ज्योति, धनराज, ज्योतिबहादुर, सुजन, हितमान र प्रकाशकै संलग्नता देखाइएको थियो । सहकारीले १२ करोड ५० लाखको ब्याजसमेत जोड्दा ज्योति र उनको समूहबाट असुल गर्नुपर्ने रकम १४ करोड ८१ लाख निर्धारण गरेको छ । आरोपी ज्योति धनराजकी पूर्वश्रीमती हुन् । ज्योति ०५७ मा मितेरी सहकारीमा बचत संकलकका रूपमा प्रवेश गरेकी थिइन् । ०७० मा सहकारीको कोषाध्यक्ष बनेकी उनी फरार हुनुअघिसम्म महाप्रबन्धक पदमा कार्यरत थिइन् । २९ फागुन ०७६ मा धनराजसँग सम्बन्धविच्छेद गर्नुअघि उनले धनराजकै नाममा पनि ऋण झिकेको हाल सिआइबीको अनुसन्धानमा खुल्न आएको स्रोतले बतायो । 

रकम हिनामिनामा ६ जनाको संलग्नता औँल्याएपछि सहकारी सञ्चालक समितिको बैठकले घटनामा संलग्नविरुद्ध प्रहरीमा उजुरी गर्ने निर्णय गरेको थियो । उजुरी गर्ने अख्तियारी सचिव बोधविक्रमलाई दिएको थियो । आन्तरिक छानबिन र अडिट प्रतिवेदनको निष्कर्ष उल्लेख गरेर उनले सुरुमा सिआइबीमा जाहेरी दिएका थिए । सिआइबीले सहकारीको जाहेरी सीधै अनुसन्धान गर्न नमिल्ने भनेपछि बोधविक्रम जाहेरी बोकेर हेटौँडास्थित बागमती प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय पुगेका थिए । जाहेरीमा उनले ज्योति र अन्य पाँचसहित धनराजको नाम प्रस्टसँग उल्लेख गरेका थिए । तर, कार्यालयले घटनाको अनुसन्धानका निम्ति सिआइबीलाई सिफारिस गर्ने क्रममा धनराजको नाम काटेको थियो । बोधविक्रमले कार्यालयमा घटनासँग सम्बन्धित अडियो, पेनड्राइभसहितका प्रमाण पनि पेस गरेका थिए । पेस भएका सबै प्रमाण गत १४ साउनमै सिआइबीमा पठाइएको रजिस्ट्रार पोखरेलले बताए । 

सिआइबीले घटना अनुसन्धानमा आनाकानी गरेपछि बोधविक्रम उजुरी बोकेर समस्याग्रस्त सहकारीबारे छानबिन गर्न सकारले गठन गरेको एमाले सांसद सूर्य थापा नेतृत्वको उच्चस्तरीय छानबिन समितिको कार्यालय पुगे । उक्त उजुरीमा पनि धनराजको नाम उल्लेख थियो । समितिले उक्त सहकारीका अध्यक्ष कुम्भराज गुरुङसँग बयान लिएपछि मात्रै घटना सार्वजनिक भएको थियो । कुम्भराजले सहकारीको रकम हिनामिनामा ज्योतिसहित धनराजको पनि संलग्नता रहेको बयान दिएका छन् । सम्बन्धविच्छेदपछि पनि ज्योतिले हिनामिना गरेको रकम असुली सम्बन्धमा धनराजलाई कार्यालयमै बोलाएर छलफल भएको उनको बयान छ । धनराजले हिनामिना भएको रकम असुलीमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको कुम्भराजले बयानमा भनेका छन् । उनको भनाइ उद्धृत गर्दै छानबिन समितिका एक सदस्यले भने, ‘रकम हिनामिनाको उजुरी सिआइबीले नहेरेपछि उहाँहरू उजुरी लिएर समितिमा आउनुभएको रहेछ । उजुरीमा धनराजको नाम प्रस्टसँग उल्लेख छ । सहकारीका अध्यक्ष कुम्भराजले पनि रकम हिनामिनामा धनराजको संलग्नता रहेको बताएका छन् । रकम असुलीका सम्बन्धमा धनराजसँग कार्यालयमै बसरे छलफल भएको र असुलीमा सघाउने प्रतिबद्धतासमेत धनराजले दिएको उनले बयानमा भनेका छन् ।’

सहकारीबाट हिनामिना गरिएको रकम ‘बिट क्वेन’मार्फत ज्योतिले थाइल्यान्ड लगेको विषयसमेत कुम्भराजले समितिलाई दिएको बयानमा बताएका छन् । कुम्भराजलाई उद्धृत गर्दै समिति सदस्यले अगाडि भने, ‘सहकारीको रकम बिट क्वेनमार्फत थाइल्यान्ड लगिएको प्रसंग कुम्भराजले उप्काएका छन् । यस धन्दामा धनराजकी पूर्वपत्नी ज्योति संलग्न रहेको उनले हामीसँग बताए । हिनामिना भएको भनिएको साढे १२ करोड कोभिड– १९ को महामारीआसपास सहकारीबाट निकासा भएको कुम्भराजको भनाइ छ ।’

सिआइबी प्रमुख एआइजी दीपक थापाले भने मितेरी सहकारीमा रकम हिनामिना भएको भन्दै ठाडो उजुरी लिएर केही व्यक्ति आएको, तर प्रक्रिया नपुगेपछि जाहेरी दर्ता नगरिएको बताए । बागमती प्रदेश सहकारी रजिस्ट्रार कार्यालयको सिफारिसपछि भने उक्त जाहेरी दर्ता भएको उनको भनाइ छ । ‘मितेरीको रकम हिनामिना सम्बन्धमा केही दिनअघि ठाडो उजुरी लिएर केही व्यक्ति आएका हुन् । तर, प्रक्रिया पुगेको थिएन । पछि रजिस्ट्रारको कार्यालयबाट सिफारिस भएर सोही जाहेरी हामीकहाँ आयो । अहिले उक्त जाहेरीमाथि अध्ययन गर्ने काम भइरहेको छ,’ उनले भने ।

सिआइबीमा पेस भएको जाहेरीमा उल्लेख भएअनुसार मितेरीकी तत्कालीन महाप्रबन्धक ज्योतिले कम्पनीमा लगानी गर्ने भन्दै ज्योतिबहादुरको नाममा मनोमानी ढंगले १२ करोड ५० लाख रुपैयाँ झिकेकी थिइन् । रकम निकासा गर्न ज्योतिलाई मितेरीका कर्मचारी सुजन, हितमान र प्रकाशले सघाएका थिए । तर, उक्त रकम मितेरीमा हालसम्म फिर्ता भएको छैन । रकम उठाउन मितेरीले पटक–पटक प्रयास गरेको थियो । तर, ज्योति अमेरिका फरार भएपछि मितेरी संकटमा परेको थियो । 

बचत तथा ऋण सहकारी संघ जिल्ला कार्यसमिति ललितपुरका अध्यक्ष रामहरि बजगाईंले रकम हिनामिनामा संलग्न जोकोही भए पनि कानुनी कारबाही हुनुपर्ने बताए । उनले भने, ‘मितेरी सहकारीको सम्बन्धमा समाचारमार्फत मैले पनि जानकारी पाएँ । सहकारीभित्र त्यत्रो समस्या रहेछ । तर, हामीकहाँ त्यसको सूचना कहिल्यै गरिएन । यद्यपि, सहकारीमा जम्मा भएको रकम सर्वसाधारणको हो । त्यो रकम हिनामिना गर्न मिल्दैन । चाहे जोसुकै हुन्, दोषीविरुद्ध कानुनी कारबाही हुनुपर्छ ।’