१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २४ सोमबार
  • Tuesday, 17 September, 2024
२o८१ भदौ २४ सोमबार १o:३९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बेलिब्रिजले दुर्गम हिमाली गाउँ पापुङ सडक सञ्जालले जोडियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २४ सोमबार १o:३९:oo

ताप्लेजुङको दुर्गम हिमाली गाउँ मिक्वाखोला गाउँपालिको वडा नम्बर ५ पापुङ मेवा खोलामा मोटरेबल पुल (बेलिब्रिज) बनेपछि सीधै सडक सञ्जालसँग जोडिएको छ । दुर्गम गाउँ पापुङमा मोटरबाटो खनिए पनि बिचमा रहेको मेवा खोलाले सो गाउँको सम्बन्धविच्छेद गरेको थियो । तर, मिक्वा खोला गाउँपालिकाको वडा नम्बर ४ साँवा र वडा नम्बर ५ पापुङ जोड्ने पुल बनेपछि दुर्गमका बासिन्दालाई राहत मिलेको छ । 

विद्युत् उत्पादनका लागि हाइड्रोपावर निर्माण गरिरहेको मेवा डेभलपर्स लिमिटेडले पुल निर्माण गरेको हो । वडाध्यक्ष ग्यान्जे शेर्पाले जलविद्युत् आयोजनाले पुल निर्माण गरेपछि पापुङवासीका लागि यातायात सुविधा मिलेको बताए । वडाध्यक्ष शेर्पाले हिउँदयाममा खोलामा पानी घटेका वेला केही महिनासम्म मात्र यातायात सञ्चालन हुने गरेको जानकारी दिए । ‘बर्खायाम सुरु भएपछि पुलको अभावमा यातायात सेवा ठप्प हुने गथ्र्यो,’ शेर्पाले बताए । मेवा खोलामा माथि पुल नहुँदा यातायात सेवा पापुङसम्म नपुगेका कारण सो गाउँका बासिन्दाले दैनिक उपभोग्य वस्तुलगायत आवश्यक सामग्री याक र चौँरीलाई बोकाएर साथै भरियामार्फत ढुवानी गर्नुपर्ने बाध्यता रहेको शेर्पाको भनाइ छ । 

‘पुल बनेपछि पापुङ गाउँबस्तीसम्म नै यातायातका साधनमार्फत आवश्यक वस्तु ढुवानी र यात्रा गर्ने सुविधा प्राप्त भएको छ,’ वडाध्यक्ष शेर्पाले भने । मेवा खोलामा पुल निर्माण हुनुभन्दा अघिसम्म पापुङका बासिन्दाले सदरमुकाम फुङ्लिङ हुँदै जिल्लाबाहिर यात्रा गर्नुपर्दा साँवाको तेम्बासम्म पुग्नुपर्ने एवं खाद्य तथा अन्य सामग्री पनि त्यहीँदेखि ढुवानी गर्नुपर्ने बाध्यता रहेको बाल्देन मावि पापुङका पूर्णबहादुर लिम्बूले बताए । पाठ्यपुस्तक साथै विभिन्न सामग्री सीधै आउने प्रअ लिम्बूले जानकारी दिए ।

मेवा डेभलपर्स लिमिटेडले ३६.५८ मिटर लम्बाइ रहेको बेलिब्रिज निर्माणका लागि करिब तीन करोड रुपैयाँ लगानी रहेको आयोजनाका वरिष्ठ प्रबन्धक सुनील रेग्मीले बताए । रेग्मीले आयोजनाको प्रयोजनका लागि पुल निर्माण गरिएको भए पनि सर्वसाधारणलाई समेत रहत पुगेको जानकारी दिए ।