१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २४ सोमबार
  • Tuesday, 17 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ २४ सोमबार १o:३३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइन निर्माण अन्तिम चरणमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २४ सोमबार १o:३३:oo

त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारणलाइनको निर्माण अन्तिम चरणमा पुगेको छ । 

रसुवाको आमाछोदिङ्मो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेँसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारणलाइन निर्माणको अन्तिम चरणको काम भइरहेको छ । प्रसारणलाइन निर्माणका बाँकी काम सम्पन्न गरी दसैँअगाडि नै सञ्चालनमा ल्याउने गरी निर्माण धमाधम भइरहेको छ । चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत नै २२०/१३२/३३ केभीका चिलिमे हब र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् । 

प्रसारणलाइनमा पर्ने ७६ वटा टावरमध्ये ७५ वटाको निर्माण सम्पन्न भएको छ । एउटा टावर जडान कार्य अन्तिम चरणमा छ । २८ किलोमिटर प्रसारणलाइनमध्ये पाँच किलोमिटर मात्र तार तान्न बाँकी छ । टावर जडान र बाँकी रहेको तार तान्न करिब दुई सयजना श्रमिक परिचालित छन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायत सम्मिलित उच्चस्तरीय टोलीले शनिबार प्रसारणलाइन निर्माण कार्यको स्थलगत अनुगमन गरी दसैँअघि नै काम सक्ने समयसीमा तय गरेको छ ।

आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच छलफल गरी निर्माण कार्यमा ढिलाइ नगर्न, कामदार थपेर कामलाई तीव्रता दिन आग्रह गर्दै टोलीले बाँकी रहेका हरेक काम सम्पन्न गर्ने तालिका तय गरी सोहीअनुसार कार्यसम्पादन गर्न निर्देशन दिएको छ । टोलीले अन्तिम टावरको जडान कार्य भइरहेको र तार तान्न बाँकी रहेको ठाउँको अनुगमनसमेत गरेको थियो । 

प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा निर्माण भएको एक सय ११ मेगावाटको रसुवागढी र ४२.५ मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाको विद्युत् यही प्रसारणलाइनमा जोडिनेछ । दुवै आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादनको चरणमा छन् । यसले गर्दा पनि प्रसारणलाइन निर्माण जतिसक्दो छिटो सम्पन्न गर्नुपर्ने दबाबमा प्राधिकरण छ । 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा निर्माणाधीन प्रसारणलाइन निरन्तरको प्रयासपछि अब सम्पन्न हुने अवस्था पुगेको बताए ।