१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २४ सोमबार
  • Tuesday, 17 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ २४ सोमबार १o:५६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रशिक्षक र रेफ्रीको भूमिका निर्वाह गर्न सक्ने श्रेष्ठ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २४ सोमबार १o:५६:oo

पछिल्लो समय नेपालमा पनि रग्बी खेल चर्चित बनिरहेको छ । रग्बीले छोटो समयमै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनायो । गत वर्ष चीनको हाङझाउमा भएको १९औँ एसियन खेलकुदमा नेपाली रग्बीले पनि भाग लियो । नतिजा त्यति धेरै राम्रो नभए पनि रग्बीले राम्रो अन्तर्राष्ट्रिय एक्सपोजर पायो । यस खेललाई माथिल्लो स्तरसम्म पुर्‍याउन मिहिनेत गरिरहेका खेलाडी हुन् श्रीराम श्रेष्ठ । ३३ वर्षका श्रेष्ठको एकतिहाइ जीवन रग्बीमै सकिएको छ । 

रग्बीका यिनै प्रतिभाशाली खेलाडी श्रेष्ठ यसै साता नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डअन्तर्गत पिपुल्स च्वाइसमा मनोनयनमा परेका छन् । उनले योे विधामा पर्नुलाई नै जितसरह मानेका छन् । मनोनयनमा परेका अन्य खेलाडीमध्ये उनी पनि उपाधिका दाबेदार हुन् । ‘हामी सबै रग्बी परिवार खुसी छौँ । आखिरमा हामीले ढिलोचा“डो नै सही आफूले गरेको कामका लागि श्रेय पाएका छौँ,’ मनोनयनमा परेपछि श्रेष्ठले भने, ‘हाम्रो लागि मनोनयनमा पर्नु नै जितसरह हो ।’

एक दशकदेखि रग्बीमा लागेका बनेपा नालाका श्रेष्ठ सबैभन्दा सिनियर खेलाडी हुन् । उनले अहिलेसम्म नौ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । सबैभन्दा रमाइलो पक्ष के रह्यो भने टोलीलाई आवश्यक परेका वेलामा उनी प्रशिक्षक र रेफ्री बन्छन् । राष्ट्रिय टोलीका सिनियर खेलाडीले सन्न्यासपछिको बाटो के भन्ने द्विविधा लिएर बसेका छन् । 

प्रशिक्षक तथा रेफ्रीको भूमिकामा उनी अब्बल छन् । तर, उनी रग्बीबाहेक अन्य सोच्न सक्दैनन् । ‘एक न एक दिन सन्न्यास लिनुपर्छ । त्यसवेला रेफ्री वा प्रशिक्षक हुने विषयमा अन्योल छु,’ उनले भने, ‘तर, यसबाट टाढा जान सोच्नेछैन ।’ सुरुमा उनी फुटबल खेल्थे । पछि उनी भलिबलतिर लागे । नेपालमा खेलजीवनबाट भविष्य सुन्दर नहुने देखेपछि उनी बिचमा विदेश जाने प्रयास पनि गरे । यत्तिकैमा साथीभाइको संगतले रग्बीमा एकाएक छिरे ।

रग्बीमा मुख्य चाहिने हाइट हो । यसमा श्रेष्ठ फिट छन् । उनी ६ फिट चार इन्चका छन् । रग्बीलाई सुहाउँदो शरीर भएका उनले पिपुल्स च्वाइसको नतिजा जस्तो आए पनि यसले युवाहरूलाई बाटो खुलाएको बताए । ‘पिपुल्स च्वाइस अवार्डको नतिजा कस्तो आउँछ थाहा छैन, तर यसले रग्बीको नया“ पुस्ताका खेलाडीलाई एउटा बाटो भने खोलिदिएको छ,’ उनले भने, ‘नेपाली रग्बीका खेलाडीले अब यो विधामा मात्र होइन, अरू धेरै विधामा पनि अवार्ड जित्न सक्छ ।’ उनले साथीभाइको सक्रियतामा गोर्खाली रग्बी क्लब स्थापना गरेका छन् ।