मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ भदौ १८ मंगलबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ १८ मंगलबार १४:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालेनको सचिवालयले भन्यो– फेसबुकले नै स्टाटस हटाइदियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ १८ मंगलबार १४:२६:oo

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दुई दिनअघि फेसबुकमा पोस्ट गरेको स्टाटस गायब भएपछि सामाजिक सञ्जाल तातेको छ। आफैँले राखेको पोस्ट डिलिट गरेको भन्दै बालेनको आलोचना भइरहेको छ।

उक्त स्टाटसमा मेयर शाहले लुम्बिनी प्रदेशकी एमाले सांसद रेखा शर्मालाई पक्राउ गर्न भन्दै प्रधानमन्त्री केपी ओलीमाथि प्रश्न उठाएका थिए। तर, उक्त स्टाटस मंगलबार बिहान गायब भएको छ। मेयर शाहले झुटो कुरा लेखेकाले अहिले आफैँ डिलिट गरेको आरोप लागिरहँदा शाहकाे सचिवालयले भने उक्त स्टाटस मेयर आफैँले डिलिट नगरेको दाबी गरेको छ।

मेयर शाहका स्वकीय सचिव भूपदेव शाह सो स्टाटसबारे कसैले फेसबुकलाई रिपाेर्ट गरिदिएपछि फेसबुकले नै उक्त पोस्ट हटाइदिएको बताउँछन्। ‘कम्युनिटी गाइडलाइनभन्दा बाहिर गएको भनेर फेसबुकले हटाएको हामीले बुझेका छौँ, यो मेयरसाबले आफैँ हटाउनुभएको होइन, कसैले फेसबुकलाई रिपोर्ट गरेकाले फेसबुकले हटाएको हो। तर, मेयरसाबले कुन मर्म र हिसाबमा स्टाटस राख्नुभएको हो भनेर फेसबुकले बुझेन,’ उनले भने, ‘हामी आशावादी छाैँ, फेसबुकले टेक डाउन गरेको त्यो स्टाटस रिकभर हुनेछ, तर कतिपयले कुरै नबुझी स्टाटस मेयरसाबले नै हटाएको भनिरहेका छन्, त्यो सत्य होइन।’

स्वकीय सचिव शाहका अनुसार सचिवालयले फेसबुकसँग सम्पर्क गरेर सत्य बुझाउने तयारी गरेको छ। सांसद शर्माविरुद्ध तीन महिनाअघि जिल्ला प्रहरी परिसर, काठमाडौंमा बालबालिकाविरुद्धको कसुर मुद्दामा जाहेरी दर्ता भएको छ। तर, अनुसन्धानमा प्रहरीले ढिलाइ गरेपछि बालेनले प्रधानमन्त्रीमाथिसमेत आक्रोश पोख्दै स्टाटस लेखेका थिए।