काठमाडौं- मलेसिया रोजगारीमा जाने कामदारलाई सिन्डिकेट कायम गरी ठगी गर्ने व्यवसायी कैलाश खड्कासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसनधान ब्युरोले खड्का र उनका तीन सहयोगीलाई पक्राउ गरी ठगी तथा संगठित अपराधको कसुरमा अनुसन्धान थालेको हो । पक्राउ पर्ने अन्यमा भक्तपुरका रवीन्द्र केसी, गोरखाका प्रवीण तिवारी र सर्लाहीका रामपुकार तिवारी छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्र तथा पीडितको उजुरीका आधारमा चारजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको सिआइबीका एसएसपी अनुपमशमशेर जबराले बताए। मलेसिया रोजगारीमा जाने कामदारलाई म्याक्रोटेक प्रालिको नाममा थप शुल्क लिएर ठगी हुँदै आएको छ। गैरकानुनी रुपमा त्यसरी शुल्क असुल्दै आएकाले त्यसमा विस्तृत छानबिन हुन लागेको सिआयबीे जनाएको छ । सो कम्पनीले सरकारले तोकेभन्दा धेरै शुल्क असुल्दै आएको थियो । यसमा म्याक्रोटेकमा आबद्ध स्वास्थ्य परीक्षण गर्ने संस्थाहरू पनि तानिँदै छन्।