काठमाडौं । जलवायु परिवर्तनका कारण भोटेकोशी–त्रिशूली नदीमा गत १० भदाैमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाललाई हानीनोक्सानी कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज–एफआरएलडी) बाट २० मिलियन अमेरिकी डलर अनुदान उपलब्ध गराउने निर्णय भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार कोषको बोर्डको बिहीबार बसेकाे विशेष बैठकले नेपाललाई उक्त अनुदान उपलब्ध गराउने निर्णय गरेको हो।
यो रकम नेपाली रुपैयाँमा करिब २ अर्ब ८० करोड रुपैयाँ बराबर हुन्छ। गत १० भदाैमा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएको थियो। विवरणअनुसार करिब १ हजार ५०० जनाले ज्यान गुमाएका छन् भने ५ हजारभन्दा बढी व्यक्ति अझै बेपत्ता छन्। विपदबाट १५ हजारभन्दा बढी परिवार प्रत्यक्ष प्रभावित भएको मन्त्रालयले जनाएको छ। बाढीबाट प्रभावित परिवार तथा समुदायलाई तत्काल राहत उपलब्ध गराउन, पुनःस्थापना गर्न र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्न अनुदान रकम उपयोग गरिने अपेक्षा गरिएको छ। मन्त्रालयका अनुसार नेपाल सरकारले गत अगस्ट ३१ मा हानीनोक्सानी कोषसमक्ष सहयोग उपलब्ध गराउन औपचारिक अनुरोध गरेको थियो।
अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कोषको शासकीय दस्तावेज तथा उद्देश्यअनुसार बाढी प्रभावित परिवारलाई शीघ्र सहयोग उपलब्ध गराउन बोर्डसमक्ष विशेष अनुरोधसहित पत्र लेखेका थिए। नेपालको अनुरोधपछि विकसित तथा विकासशील राष्ट्रका प्रतिनिधिबीच विभिन्न चरणमा छलफल भएको थियो। नेपाललाई सहयोग उपलब्ध गराउने विषयमा बोर्ड सदस्य तथा वैकल्पिक बोर्ड सदस्यहरूबीच निरन्तर परामर्श र समन्वय गरिएको मन्त्रालयले जनाएको छ। अनुदान परिचालनका लागि थप प्रक्रिया आवश्यक कोषको बोर्डले अनुदान उपलब्ध गराउने निर्णय गरे पनि रकम परिचालनका लागि आवश्यक कार्यविधि र प्रक्रियाअनुसार नेपालले प्रस्ताव तयार गरी पेस गर्नुपर्नेछ।
मन्त्रालयका अनुसार कोषको सचिवालयले उपलब्ध गराएको कार्यविधि र प्रक्रियाका आधारमा नेपालले आवश्यक जलवायु कार्यक्रमको प्रस्ताव तयार गरी पेस गर्नेछ। त्यसपछि निर्धारित प्रक्रियाअनुसार अनुदान परिचालनको काम अघि बढ्नेछ। यस सहयोगले बाढी प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्नुका साथै पुनःस्थापना र पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। जलवायुजन्य विपदबाट भएको क्षति सम्बोधन गर्न सहयोग नेपालले पछिल्लो समय जलवायु परिवर्तनका कारण उत्पन्न विपद्बाट ठूलो मानवीय तथा आर्थिक क्षति व्यहोर्दै आएको छ। भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीले बस्ती, पूर्वाधार र स्थानीय जनजीवनमा गम्भीर असर पारेको छ। यस्तो क्षतिपछि प्रभावित समुदायको पुनःस्थापना र पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउनु चुनौतीपूर्ण बनेको अवस्थामा हानीनोक्सानी कोषको अनुदानले राहत पुग्ने अपेक्षा गरिएको छ। मन्त्रालयका अनुसार अनुदान सहयोग उपलब्ध गराउने प्रक्रियामा कोषका बोर्ड सदस्य, वैकल्पिक सदस्य तथा विभिन्न क्षेत्रीय समूहका प्रतिनिधिहरूले सहयोग गरेका थिए। नेपाल सरकारले सहयोगका लागि पहल गर्ने सम्बन्धित सबै पक्षप्रति आभार व्यक्त गरेको छ।