१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २४ सोमबार
  • Tuesday, 17 September, 2024
२o८१ भदौ २४ सोमबार o९:o८:oo
Read Time : > 10 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

एमालेसँग तत्काल एकीकरणको सम्भावना छैन : माधवकुमार नेपाल

नाम र सिद्धान्त नफेरेसम्म माओवादीसँग पनि एकता हुँदैन

Read Time : > 10 मिनेट
२o८१ भदौ २४ सोमबार o९:o८:oo

 तीन वर्षअघि एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीले हालै महाधिवेशन सम्पन्न गरेको छ । तर, पार्टीभित्र असन्तुष्टि र निराशा झन् बढेको छ । नेतृत्व पार्टीलाई एक्लै अघि बढाउने कि अन्य कम्युनिस्ट पार्टीसँग एकता गर्ने दोसाँधमा छ । केही नेताहरू त एमाले र माओवादीसँग अनौपचारिक छलफलमा पनि छन् । एकीकृत समाजवादीको भविष्य, पार्टीभित्रको विवाद, वामपन्थी एकता, सरकारको प्रारम्भिक समीक्षालगायतका विषयमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग खगेन्द्र पन्त प्रेम गौतमले गरेको कुराकानी :

सामान्यतया, महाधिवेशनले पार्टीको नीति र नेतृत्वको टुंगो लगाउँदै तत्कालका आन्तरिक किचलो पनि व्यवस्थापन गर्छ । तर, एकीकृत समाजवादीमा भने झन् भद्रगोल देखियो । कार्यकर्ता तहमा रहेको निराशा र असन्तुष्टि नेताहरूमै प्रकट भयो ?
अहिलेसम्म ज–जसका जतिवटा महाधिवेशन भएका छन्, ती जुनसकै कम्युनिस्ट पार्टी हुन् वा कांग्रेस भन्नुस्, तिनीहरूले वैधानिक रूपमा विवाद समाधान गरेको पाइन्छ । तर, व्यावहारिक रूपमा समाधान गर्न जहाँ पनि गाह्रो हुने गरेको छ । निर्वाचन गर्नुस्, कोही जित्छन, कोही हार्छन् । सहमतिबाट गर्नुस्, कसैको चित्त बुझ्छ, कसैको चित्त बुझ्दैन । व्यक्तिको मूल्यांकन कसरी गर्ने भन्नेमा हाम्रो अझै पनि तरिका मिलिरहेको छैन । मूल्यांकनका आधार के हुन् ? मैले धेरै वर्षदेखि एमालेमा त्यसलाई प्रयोग गर्न खोजेँ । संगठन विभागलाई त्यो काममा लगाएँ पनि । फाराम धेरै तयार पनि पारिए ।

त्यसपछि तथ्यांकका आधारमा कामको मूल्यांकनको पद्धति बसाल्न थालियो । तर, रेकर्ड लिनै गाह्रो । त्यसपछि बसेर छलफल गर्न झन् गाह्रो । एउटाको कुरा अर्कोले सुन्नेबित्तिकै ‘लिक’ होला भन्ने अर्को डर । कोही कसैको बारेमा भन्न नसकिने स्थिति बन्दोरहेछ । तर, हामीले समाजवादीमा जे गर्‍यौँ सहमतिमा गर्‍यौँ । महाधिवेशन हलले जे भन्यो, त्यही ग¥यौँ । त्यहाँ अल्पमत, बहुमत भएन । अल्पमत, बहुमतको विषय पनि लोकतान्त्रिक नै हो । महाधिवेशन हलले ‘निर्वाचनमा नजाऔँ, ९३ सदस्यीय कमिटीलाई जिम्मा दिऔँ । त्यसले नै बाँकी केन्द्रीय कमिटी चयन गरोस्’ भन्ने म्यान्डेट दिएको हो । सबै प्रदेशका अगुवा, प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कमिटीका सदस्यहरूसँग परामर्शसमेत गरेर केन्द्रीय कमिटीलाई पूर्णता दिइएको हो ।

महाधिवेशनदेखिको नेतृत्व छनोट प्रक्रिया पनि अनौठो देखियो । तपाईं, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ सदस्य हलबाटै सर्वसम्मत हुनुभयो । बाँकी २५१ जनालाई केन्द्रीय सदस्यका रूपमा टीका लगाउनुभयो । अनि, ती टीका लगाएकाहरूले मतदानबाट पदाधिकारी छान्ने अनौठो अभ्यास गर्नुभयो । र, त्यही पनि पारदर्शी र आचारसंहिताअनुसार नभएको भन्दै छानबिन गर्ने निर्णय पहिलो बैठकबाटै गर्नुभयो ?
टीका लगाएर कोही पनि भएका छैनन् । महाधिवेशन हलले ‘केन्द्रीय कमिटीले निर्णय गरोस्’ भनियो, केन्द्रीय कमिटीले निर्णय गर्‍यो । पोलिटब्युरो, स्थायी समिति वा सचिवालयले गरोस् भनेर जिम्मा दिइयो भने सम्बन्धित कमिटीले नै गर्छन् । संस्थागत तरिका भनेकै यही हो । हिजो पोलिटब्युरोको सदस्य भइसकेका व्यक्तिहरूमध्ये जुनजुन व्यक्ति सक्रिय हुनुहुन्न र बस्न चाहनुहुन्न त्यसबाहेकका सबैलाई ल्याऊँ भनेपछि पहिलो चरणमा केन्द्रीय सदस्य चयन गरिएको हो । महाधिवेशन हलमा सबैले ताली बजाएर स्वागत गरेको हो कि होइन ? बाँकी सबै काम पनि त्यही कमिटीले गरोस् भनेर जिम्मा दिइयो । हलको म्यान्डेटअनुसार केन्द्रीय कमिटीलाई पूर्णता दिएको हुनाले टीका लगाएर भन्न मिल्दैन । टीका त महाधिवेशनले लगाइदियो । 

एमालेका मुख्य–मुख्य नेताहरू हाम्रो मुख पनि हेर्न चाहँदैनन् । एमालेका धेरै कार्यकर्ता हामीलाई मन पराउँछन् । एमालेमा छटपटाइरहेका छन् भन्ने पनि थाहा छ । आइदिनुभयो भने शक्ति बढ्ने थियो पनि भन्छन् । तर, मूल नेताको दिमागमा जबसम्म परिवर्तन हुँदैन, स्वभावमा परिवर्तन हुँदैन । तबसम्म केही हुनेवाला छैन ।

पदाधिकारी पनि सहमतिबाट गर्न जब हामीले नाम तय गर्‍यौँ । कतिपयको चित्त बुझेन । त्यो दोष जति सबै नेताहरूलाई आउने भयो । त्यो देखेपछि मलाई पनि वाक्क लाग्यो । त्यही पनि सहमतिका लागि धेरै छलफल गर्‍यौँ । एउटै पदमा दुईजना आकांक्षी भइसकेपछि मनाउन खोज्दा कोही मान्दैनन् । अनि लोकतान्त्रिक प्रक्रिया के हो ? एउटाले आदेश दिने, अर्कोले पालना गर्ने हुन्छ ? त्यो हुँदैन । त्यसकारण, मैले दुईटा विकल्प राखेँ । पदाधिकारीहरू नै हटाइदिऊँ न त । न रहे बाँस, न बजे बाँसुरी । पद राख्नुपर्छ भन्ने माग आयो । र, त्यो पनि चुनावबाटै हुनुपर्छ भन्ने माग आयो । केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्ने कुरा संसारभरको नियम हो । 

तर, अध्यक्ष र महासचिवकै सचिवालयबाट ‘चिट’ बाँडेर निर्वाचनलाई आचारसंहिताविपरीत अस्वस्थ बनाउने काम भयो भनेर नेताहरूले सार्वजनिक रूपमै आपत्ति जनाए नि । 
मेरो सचिवालयबाट भएको छैन । मैले त्यस्ता १५ वटा चिट पाएको छु । ककसलाई के मन लागेको छ, त्यो सबै गरेका छन् । निर्वाचन आयोगले ‘टाइट’ पनि गरेको थियो । फेला परेका सबै चिट खोसिदियो । फेरि त्यो हेरेर साध्य पनि हुँदैन । १०५ जनाको चुनाव गर्नु छ पोलिटब्युरोमा, त्यति धेरै नाम कहाँबाट हेर्नु ? चिटमा आएको नामले मात्रै जितेको भए, चिटअनुसार जितेछन् भन्ने हुन्थ्यो । चिटमा नामै नभएकोले पनि जितेको छ, नाम भएकाले पनि हारेको छ । केन्द्रीय कमिटीका सदस्यहरूले पनि सोचेरै त भोट दिए होलान् । १० जना नेता एउटै पदमा उठिसकेपछि सबैले त जित्दैनन् नि । मैले आफैँ सहमतिमा जोड गरेको थिएँ । तर, पाँच दिनसम्म कोसिस गर्दा पनि पार लागेन । सबैभन्दा राम्रो सहमति, सहमति नभए निर्वाचन नै सबैभन्दा लोकतान्त्रिक प्रक्रिया हो ।

महाधिवेशनमै निर्वाचन गराएको भए बरु यति धेरै विवाद आउँदैनथ्यो कि ? 
जित्नेजति सबै खुसी हुन्छन्, हार्नेजतिले ‘मलाई हराइदियो’ भन्दिए भइहाल्यो । आफ्नो कमजोरी मान्छेले हेर्दैन । मैले भोट माग्न सकिनँ, मैले अझै धेरै मिहिनेत गर्नुपर्नेरहेछ भन्ने बुझ्दैन । म त भोट हाल्ने वेलामा मात्रै गएँ । किनभने, म गएपछि ‘मेरोबारेमा भनिदिनुस्’ भन्न थाल्छन् । मैले कसैलाई पनि ‘फलानालाई भोट दिनुस्’ भनिनँ । कसैले ‘उठौँ’ भनेर सोध्दा ‘जित्नुहुन्छ भने उठ्नुस्’ भनेँ । फेरि, नउठ्नुस् भन्यो भने पनि रिसाउँछ । उठ्नुस् भन्यो भने पनि ‘मलाई त उहाँले प्रेरित गरेको’ भनिदिन्छ । पाँचवटा सिट छ, ६ जना उठे भने कसको पक्ष लिने ? कुनै एउटा आउट हुन्छ, मैले कसलाई आउट गरिदिने । सबै मेरा नेता–कार्यकर्ता हुन् । 

पदाधिकारीमा सहमतिका लागि धेरै कोसिस गरेँ । मनाउन खोज्दा कोही मान्दैनन् । त्यसपछि मैले पदाधिकारीहरू नै हटाइदिऊँ न त भनेँ । न रहे बाँस, न बजे बाँसुरी । तर, पद त राख्नुपर्छ, त्यो पनि चुनावबाटै छान्नुपर्छ भन्ने माग आयो । अनि के गर्ने ?

कि त वैज्ञानिक अर्को तरिका व्यक्तिको मूल्यांकन हो । सिनियर, सक्रियता, खुबी र क्षमता, पार्टी विस्तारमा खेलेको भूमिका, कमिटीको परिचालन, आन्दोलनको अगुवाइ गर्ने भूमिकाका आधारमा मूल्यांकन गर्न सकिन्छ । ५ नम्बर दिने कि १० नम्बर दिने भन्ने विधि बसाल्नैपर्छ । 

एउटै दलमा भए पनि तपाईं र सम्मानित नेता झलनाथ खनाल नदीका दुई किनारजस्तै हुनुहुन्थ्यो । महाधिवेशनअगाडिका तीन वर्षमा तपाईंहरूबिच पार्टीका गम्भीर मुद्दामा छलफल–संवाद भएको विरलै सुनियो । तर, महाधिवेशन चुनाव नजिक पुग्नै लाग्दा अध्यक्षका तीन दाबेदारमध्येका तपाईं दुईबिच एकाएक मिलन भयो । खासमा तपाईंहरूलाई जोड्ने तन्तुको उद्देश्य के थियो, भर्खरै बनेको पार्टीमा गुटबन्दी बढ्ने चिन्ता कि नेतृत्व पुस्तान्तरण भएर युवामा जाने डर ?
कमरेड झलनाथ खनालले धेरै समस्याका बारेमा जानकारी पाउनुभयो । हाम्रो पार्टीविरुद्ध र मेरा विरुद्धका षड्यन्त्रहरूको कुरा पनि थाहा पाउनुभयो । त्यसपछि उहाँले सतर्क हुनुपर्ने आवश्यकता महसुस गर्नुभयो । त्यसकारण, म उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु । हाम्रा केही विरोधीहरूले यो पार्टीलाई समाप्त पारेर छोड्ने षड्यन्त्र गरिरहेका थिए । तर, कम्युनिस्ट आन्दोलनको हित, आन्दोलनलाई क्षयीकरणबाट जोगाउने, भुत्ते हुनबाट रोक्ने, गतिहीन हुन नदिने तथा कम्युनिस्ट आन्दोलनलाई समाप्त हुनबाट रोक्ने हित र स्वार्थले हामीलाई एक ठाउँमा उभ्यायो ।


जाल, झेल, षड्यन्त्रजस्ता कुराको म घोर विरोधी मान्छे हुँ । कहिलेकाहीँ कुरा नमिल्न सक्छ, विचार नमिल्न सक्छ । कुन ठुलो कुरो हो र ? हिजो पनि त नमिलेकै हो नि । नमिले पनि सँगसँगै अगाडि बढेकै त हो । त्यसकारण, विचारमा छलफल, बहसबाट एउटा टुंगोमा पुगिन्छ । यसलाई भन्छन्– वादेवादे जायते तत्वबोध । 

झन्डै डेढ महिना लगाएर महाधिवेशन सम्पन्न गर्नुभयो । तर, महाधिवेशनपछि पार्टीमा असन्तुष्टि झन् चुलिएको छ । यस्तो अवस्थामा एकीकृत समाजवादी अब कसरी अगाडि बढ्छ ? 
असन्तुष्ट भएका साथीहरूलाई बोलाएर कुरा गर्दै छौँ । चिट भन्ने कुरा जुन आएको छ, त्यो ठिक होइन । सबै मेरा कार्यकर्ता हुन् भने ‘क’ र ‘ख’ जसले पनि जित्न सक्छ । मेरो आफ्नो मूल्यांकन होला, तर निर्वाचनमा केन्द्रीय कमिटीका सदस्यहरूले मूल्यांकन गर्ने सवालमा हामीले हस्तक्षेप गर्न मिल्दैन । हामीले हस्तक्षेप गरेका पनि छैनौँ । तर, व्यक्तिको आफ्नो स्वार्थ मिलेको छ भने खुसी हुँदोरहेछ । उसको चाहना पूरा गर्नुभएन भने असन्तुष्ट भइदिन्छ । तपाईं आफ्नो दाजुभाइलाई त कन्भिन्स गर्न सक्नुहुन्न । श्रीमान्–श्रीमती त मिल्दैनन् । यो संसार त मैले पनि बुझेको छु नि । जटिलता पनि हुन्छन् । जटिलता देखेर दिक्क मान्नु पनि पर्दैन । वाक्क मान्नु पनि पर्दैन । 

विरोधीलाई हाँस्ने, खिल्ली उठाउने मौका दिनुहुँदैन । त्यो भावनाले ओतप्रोत भएका नेताहरू त्याग गर्न तयार हुन्छन् । उ दुखेसो पोख्दै १० ठाउँमा हिँडदैन । मिडियामा असन्तुष्टि लिएर जाँदैन, खुला रूपमा लेखेर हिँड्दैन । जिम्मेवार हुन्छ, यही नै जिन्दगीको अन्त्य होइन भन्ने ठान्छ । त्यही भावनालाई म प्रमोट गर्न चाहन्छु । हामीले संसारलाई बुझेर, सामना गर्दै अगाडि बढ्नुपर्छ । 

नेपाली इतिहासमा मै मात्र त्यो व्यक्ति हुनुपर्छ, जसले पार्टीको महासचिव पद स्वेच्छाले छाड्यो । प्रधानमन्त्री पनि स्वेच्छाले छाडेको हुँ । टाँसिने प्रवृत्ति भइदिएको भए दुवैपटक चुनौती दिन्थेँ । अहिले पार्टीको अध्यक्ष पनि रहरले होइन, कार्यकर्ताको चाहनाले बनेको हुँ । कार्यकर्ताको बिजोग म देख्न सक्दिनँ ।

महाधिवेशनअघि सम्मानित नेता खनालले वामपन्थी एकताको कुरा पनि अघि सार्नुभएको थियो । त्यो अहिले कति सम्भव छ ? खास गरेर एमालेसँग पुनः एकीकरण सम्भव छ कि छैन ?
एमालेका मुख्य–मुख्य नेताहरूले हाम्रो मुख पनि हेर्न चाहँदैनन् । एमालेका धेरै कार्यकर्ताले हामीलाई मन पराउँछन् । कहाँ आएर फसियो पनि भन्छन् । एमालेमा छटपटाइरहेका छन् भन्ने पनि थाहा छ । आइदिनुभयो भने शक्ति बढ्ने थियो पनि भन्छन् । मैले त्यहाँ सबै बुझिसकेको छु । यस्ता अनेक पापड बेलेर हिँडेको मान्छे हुँ म । त्यसकारण, त्यहाँको मूल नेताको दिमागमा जबसम्म परिवर्तन हुँदैन, स्वभावमा परिवर्तन हुँदैन । तबसम्म केही हुनेवाला छैन । मूल मान्छेको मूल भूमिका हुन्छ । त्यो मूल मान्छेमा जब एकाधिकारवादी प्रवृत्ति हुन्छ, एकलौटीपन हाबी रहन्छ । त्यहाँ भएका अरू सबै निरीह हुन्छन् । 

त्यस्तो अवस्थामा तीनवटा विकल्प हुन्छन् । पहिलो विकल्प निराश भएर राजनीति छाडेर भाग्ने, होइन भने जंगलमा जाने र ध्यान गरेर बस्ने । अर्को विकल्प दास बनिदिने, जेजे भन्छन्– हजुर, प्रभु भनेर बस्ने । तेस्रो हुन्छ विद्रोह । दास भएर बस्ने मेरो नेचर छैन । राजनीति छाडेर सन्न्यास लिएर बस्ने पनि मेरो प्रवृत्ति छैन । त्यसैले श्वास र चाहना भएसम्म म लडेरै बस्छु । एमालेको तर्फबाट अहिले एकताको त्यस्तो कुनै सम्भावना मैले पाएको छैन । पानी पर्ने, घाम लाग्ने, आँधीहुरी आउने पनि संकेत हुन्छ नि । अहिलेसम्म कुनै संकेत छैन ।  

तर, पार्टी नेता–कार्यकर्ताको एउटा त पंक्ति एमालेमा फर्किन खुट्टा उचालेर ठिक्क परेको देखिन्छ नि ? 
यो विरोधीहरूले हल्ला गरेका हुन् । त्यस्तो छैन । जाने मात्रै होइन, आउने पनि छन् । त्यहाँबाट वाक्क भएकाहरू आउँछन् । हामीसँग बस्न नसक्ने कोही हुनुहुन्छ, कसैको चित्त दुखेको छ भने हामी चित्त सम्हाल्ने कोसिस गर्छौँ । सम्झाउने कोसिस गरौँला । गइजाओस् भन्नुभएन । काममा लगाउने कोसिस गर्नुपर्छ । किनभने, विनम्रता नै मूल कुरा हो । 
कुनै मान्छे पार्टीप्रति निष्ठावान् नै छैन । यो पार्टीप्रति उसको विश्वास र आस्था नै छैन भने त्यो काम लाग्दैन । पद पाएको भए त्यो पदसहित जाने थियो । मैले सुनेको छु, केही व्यक्ति पद पाउनका लागि यहाँ आएका हुन् । पद लिएर बार्गेनिङ गर्ने कुरा पनि सुनेको छु । यस्ता मान्छेलाई लिएर तपाईं लामो यात्रामा हिँड्नुहुन्छ ? पछाडि पिठ्युँमा छुरा बोक्ने मान्छे काम लाग्दैनन् । कसैको पछि होइन, विचारको पछि, आफ्नो मान्यताको पछि लाग्ने हो । विचार र मान्यता मिल्नेहरू हात मिलाउँदै अगाडि बढ्छन् । त्यसकारण यस्ता कुरामा सजग हुनुपर्छ । केन्द्रीय कमिटीमा आएका र भोलिपल्ट भागेको पनि हामीले देखेकै हौँ । के दिनुपथ्र्यो उनीहरूलाई ? पार्टीको सम्पत्ति भएकोभए त्यो पनि लिएर जान्थे होलान् । अब पार्टीमा मूल्यांकनको विधि बसाल्छौँ । जिम्मेवारी पाएपछि काम पूरा गर्नुपर्छ । नभए पद किन लिने ? अब त्यसरी चल्दैन ।

यो सरकार स्थिरताका लागि बनेकै होइन । राम्रो भावनाले भएको भए मध्यरातमा सहमति गर्नुपर्छ ? यदि, संविधान संशोधन गर्ने चाहनाले भएको हो भने मध्यरातमा लुकाएर गर्नुपर्ने थिएन । यसभित्रको नियत ठिक छैन । 

माओवादीसँग पार्टी एकताकोे तयारी भइरहेको विषय तपाईंकै पार्टीभित्र भुसको आगोझैँ छ । कहिले गर्नुहुन्छ एकता ?
अर्को यो हल्ला पनि चलाइरहेका छन् । हामी कुनै पनि कम्युनिस्ट पार्टीसँग मिचार मिल्यो भने, मन मिल्यो भने एकताबद्ध भएर जान्छौँ । एमालेसँग जाँदैनौँ भनेर हामीले कसम खाएका छौँ र ? एमाले र हामी नमिल्ने भन्ने कुरा हुन सक्छ त ? तर, अहिलेकै अवस्था हुँदासम्म सम्भव छैन । माओवादीले पनि पार्टीको नाम र मार्गदर्शक सिद्धान्त नहटाएसम्म एकता सम्भवै छैन । कल्पनैै नगरे हुन्छ । त्यो हटाउन तयार भइसकेपछि बसेर छलफल गर्नुपर्‍यो । तल्लो तहमा वातावरण के छ, मनस्थिति कस्तो छ भन्ने सोधीखोजी गर्नुपर्‍यो । असन्तुष्टि छ भने त्यसलाई सम्बोधन गर्नुपर्‍यो । दुईटैलाई सहकार्य गर्दै मिलाउँदै ल्याउनुपर्‍यो । निकटता बढाउँदै जानुपर्‍यो । निकटताले नै एकता हुन्छ । त्यसकारण हामी कसैसँग पनि एकता गर्दैनौँ र भन्दैनौँ । तर, एकता भन्ने कुरा हाम्रो चाहनाले मात्रै हुँदैन । परिस्थिति परिपक्व हुुनुपर्छ । 

हामी सिंगो कम्युनिस्ट पार्टीलाई नै मिलाएर अगाडि बढ्न चाहन्छौँ । समाजवादी मोर्चा भएर हामी अगाडि बढिरहेका छौँ । पहिला एकताभन्दा पनि सहकार्य हुनुपर्छ । सहकार्य गर्दै जाँदा छलफल हुँदै जान्छ, निकटता बढ्दै जान्छ । त्यसपछि मिलेर पनि जान सकिन्छ । 

व्यक्तिगत स्वभाव र सहकार्यका हिसाबले मिल्न सजिलो केपी ओलीसँग छ कि प्रचण्डसँग ?
व्यक्तिको हिसाबले प्रचण्डसँग सजिलो छ । उहाँका पार्टीभित्रका विभिन्न साथीहरूका बारेमा बुझ्नुपर्ने बाँकी छ । सबैलाई म नजिकबाट बुझ्दिनँ । एमालेका नेताहरू सबैजसोका बारेमा म भन्न सकौँला । तर, एमालेका मूल नेता नै नकारात्मक भएपछि, हाम्रो सासै गनाइसकेपछि, अनुहार नै हेर्न मन नलागेपछि के लाग्छ र ? कि सास फेर्नै बन्द गरिदिनुपर्‍यो (हाँस्दै) । कि सधैँभरि मनपर्ने सेन्ट छरिदिनुपर्‍यो । त्यो मन पर्ने कुन सेन्ट हो भन्ने मैले कसरी थाहा पाउने ? तर, म कसैको पनि चाकडी गर्ने पक्षमा छैन । म कम्युनिस्ट पार्टी अनुशासित हुनुपर्छ, नियम–कानुन, विधिको आधारमा चल्नुपर्छ भन्ने पक्षमा छु । यसका निम्ति सामूहिकताको कमिटी प्रणालीलाई पालना गरेर जाऔँ भन्छु ।

पुराना दल र नेताहरूप्रति नागरिकमा, खास गरेर युवा पुस्तामा एकखालको अविश्वास र आक्रोश देखिन्छ । एकीकृत समाजवादी भर्खरै गठन भए पनि तपाईं र झलनाथ खनाललाई हेरेर पुरानै दलको रूपमा चिन्छन् । नयाँपन दिन किन सक्नुभएन ?
हामीले नयाँपन दिनकै लागि समाजवादी क्रान्तिको कार्यक्रम ल्याउने काम गरेका छौँ । नेपालको कम्युनिस्ट आन्दोलनमा कुनै पनि पार्टीले अहिलेसम्म समाजवादी क्रान्तिको कार्यक्रम अगाडि सारेको छैन । हामीले नेपाली विशेषताको समाजवादसम्बन्धी अवधारणा, कार्यक्रम अघि सारेका छौँ । यसमा हामीले समानताका बारेमा, न्यायका बारेमा, विकासका बारेमा, देशको आर्थिक विकासको सोचका बारेमा, लोकतान्त्रीकरणका बारेमा, सुशासनका बारेमा र जनताको समृद्धिका बारेमा हाम्रा मान्यतालाई प्रस्ट रूपमा अघि सारेका छौँ । 

दोस्रो, जनतामा जानका लागि अभियान (मेची–महाकाली) सुरु गर्ने पनि हाम्रो पार्टी पहिलो हो । जसले १२ सय किलोमिटरको यात्रा गरेर मेचीनगरको सीमा काँकडभिट्टाबाट सुरु गरेर महाकाली नदीको किनार हुँदै कर्णालीको सुर्खेतमा पुगेर हामीले पहिलो चरणको कार्यक्रम सम्पन्न गर्‍यौँ । दोस्रो चरणको कार्यक्रम लिएर मध्यपहाडी राजमार्ग जाने सोचिरहेका थियौँ । एमालेले थाहा पाएर गरिहाल्यो, हामीले त्यो गर्न बाँकी छ । जनताको घरदैलोमा, जिल्ला–जिल्लामा पुग्ने कार्यक्रम गर्दै छौँ । जनतामा जति गयो, जनताको पक्षमा जति उभियो, तब न जनताले विश्वास गर्छन् । त्यसकारण हामी अरूजस्ता होइनौँ । 


एकीकृत समाजवादीले पार्टी गठनयताका झन्डै साढे तीन वर्षमा न राजनीतिक शक्ति कायम राख्न सक्यो न नेता–कार्यकर्ता जोगाउन सक्यो । एमाले विभाजन गरेर पार्टी गठन हुँदा संघीय संसद्मा ३१ र प्रदेशमा ५४ सांसद थिए । ०७९ को निर्वाचनपछि संघीय संसद्मा १८ र प्रदेशमा २४ सांसदमा खुम्चिनुभएको छ । प्रत्यक्षमा १० सिट जिते पनि राष्ट्रिय दल बन्न सकेन । विद्रोह गरेका केही नेता–कार्यकर्ता एमालेमै फर्किए । पार्टी यो अवस्थामा पुग्नुमा तपाईंको भूमिका कति छ ? अरू नेताको कति छ ?
०३२ सालमा कोअर्डिनेसन केन्द्र बनाएको कति वर्षमा त्यो पार्टी ठूलो भयो ? तीन वर्षपछि बल्ल नेकपा माले बनाइयो । त्यतिवेला सम्मेलनमा कतिजना थिए ? त्यसको ११ वर्षपछि चौथो महाधिवेशन गरियो । मदन भण्डारीलाई महासचिव बनाइयो । पार्टी बनाउने हामी होइनौँ ? के हामी निराश भएर बसेको भए अरू कसैले पार्टी बनाइदिन्थ्यो ? ०३२ देखि ०४६ सालसम्म कति वर्ष भयो ? अनि ०४६ सालपछि हामीले कम मिहिनेत गर्‍यौँ ? त्यत्तिकै ०५१ साल आएको हो ? लागिराख्नुपर्छ, जित हुन्छ । यदि, सही विचार लिएको छ भने, सही सोच राखिएको छ भने, इमानदारिता र निष्ठाका साथ लागिएको छ भने कमीकमजोरी पनि खोजिनेछ, सुधारिनेछ । विगतमा पनि हामीमा कमीकमजोरी थियो । उग्रवामपन्थता थियो, मनोगतवाद पनि थियो । कतिपय व्यक्तिमा निराशा पनि थियो । केन्द्रीय कमिटीका ठुला भनिएका नेता पनि भागे । हामी भागेनौँ । भाग्ने भागिरहन्छ, हिँड्ने हिँडिरहन्छ । हामीले पार्टी बनाएरै छाड्यौँ । म त भन्छु, यो रेलको यात्रा हो । कोही यात्रु चढ्छ, कसैको काम ओर्लने हुन्छ । हामी अगाडि बढ्ने हो, गन्तव्यमा पुग्ने हो । जबसम्म जनताको हित र कल्याण हुँदैन, जबसम्म हाम्रो यो यात्रा अविराम गतिका साथ अगाडि बढिरहन्छ ।

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले स्थिरताका लागि भनेर सरकार गठन गरेका छन् । यसलाई कसरी हेर्नुभएको छ ? 
स्थिरताका लागि हुँदै होइन, यो नाटक हो । दुई ठुला दल एउटा सत्तापक्ष, अर्को प्रतिपक्ष हुनुपर्ने हो । दुवैको स्वार्थ ठिक विपरीत छ । भोलि चुनाव भयो भने, दुईमध्ये को ठूलो हुने भन्ने सबैभन्दा ठुलो लडाईं त्यहीँ हुन्छ । त्यस्तो अवस्थामा यो विचित्रको घटना भएको छ । राम्रो भावनाले भएको भए मध्यरातमा सहमति गर्नुपर्छ ? यदि, संविधान संशोधन गर्ने चाहनाले भएको हो भने मध्यरातमा लुकाएर गर्नुपर्ने थिएन । सार्वजनिक रूपमा व्यापक बहसको विषय बनाएर गर्न सकिन्थ्यो । संविधानजस्तो विषयलाई कुनै पार्टीविशेषको पेवा बनाउने काम राम्रो होइन । त्यसकारण यसभित्रको नियत ठिक छैन । 

संविधान जारी भएको एक दशक हुन लाग्यो, संशोधनको आवश्यकता त हो नि ? 
मिलाउनुपर्ने कुरा थुप्रै विषय छन् । मेरै कतिपय सन्दर्भमा विमति छन् । व्यापक छलफलको आवश्यकता छ । पहिला हामी सबैको अनुभव संकलन गरौँ । व्यापक छलफल गरौँ, हतारपतारमा संविधान संशोधन संसारमा कहीँ पनि हुँदैन ।

सरकारको प्रारम्भिक लक्षण कस्तो देख्नुभएको छ ?
कुरा ठुल्ठुला गरेको छ । काम देखिएको छैन । कुरोले चिउरा भिज्दैन । काम गरेर देखाउनुपर्छ । त्यसकारण म अहिले शंकाको लाभ मात्रै दिन्छु ।

अन्त्यमा, एमालेमा हुँदा १४ वर्ष पार्टीको नेतृत्व गर्नुभयो । एमाले विभाजन गरेर गठन भएको एकीकृत समाजवादीलाई पनि सुरुका तीन वर्ष तपाईंले नै हाँक्नुभयो । महाधिवेशनबाट पाँच वर्षका लागि फेरि अध्यक्ष बन्नुभएको छ । यो कार्यकर्ताको माग हो कि नेतृत्वप्रति तपाईंको आसक्ति ?
म कहिल्यै जबर्जस्ती पदमा बसिनँ । नेपालको राजनीतिक इतिहासमा मै मात्र त्यो व्यक्ति हुनुपर्छ, जसले पार्टीको महासचिव पद स्वेच्छाले राजीनामा गरेर छाडेको छ । पदमा टाँसिने प्रवृत्ति भइदिएको भए चुनौती दिन्थेँ । तर, मैले उदाहरण पेस गरेको छु । दोस्रो, मैले प्रधानमन्त्री पद पनि स्वेच्छाले छाडेको हुँ । आसक्ति भएकोभए छाड्दिनथेँ, चुनौती नै दिने थिएँ । एकीकृत समाजवादीको अध्यक्ष पनि म आफ्नो रहरले होइन, पार्टी कार्यकर्ताको चाहनाले हो । पार्टी कार्यकर्ताको बिजोग म देख्न सक्दिनँ ।