१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १९ बुधबार
  • Sunday, 15 September, 2024
२o८१ भदौ १९ बुधबार o८:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्रीलाई फेसबुकमा भ्रष्टाचारी लेख्ने युवकलाई साइबर अपराधको मुद्दा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ १९ बुधबार o८:४७:oo

प्रधानमन्त्री केपी ओलीलाई भ्रष्टाचारी भनेर फेसबुकमा स्टाटस लेख्ने एक युवकलाई प्रहरीले पक्राउ गरी विद्युतीय कारोबार ऐन (साइबर अपराध)को मुद्दा चलाएको छ । फेसबुकमा आलोचना गरेकै आधारमा बाजुरा खप्तड छेडेदह घर भएका २१ वर्षीय रमेशबहादुर रावलविरुद्ध प्रहरीले मुद्दा चलाएको हो । 

गत ३२ साउनमा पक्राउ परेका उनी मंगलबार जिल्ला अदालत, काठमाडौंको आदेशमा धरौटीमा छुटेका छन् । रावल सिन्धुपाल्चोकको बाह्रबिसेस्थित किस्टोन अस्पतालका कर्मचारी हुन् । बाह्रबिसे प्रहरीले उनलाई पक्राउ गरी साइबर ब्युरोलाई बुझाएकोमा ब्युरोले सोमबार सरकारी वकिल कार्यालयमार्फत मुद्दा दायर गरेको हो । 

प्रहरीका अनुुसार उनले फेसबुकमा प्रधानमन्त्री ओलीको फोटो राखेर ‘यही हो देश लुट्ने, सही हो कि गलत साथीहरू, भ्रष्टाचारकी कुलदेवी, भ्रष्टाचारका महादेव’ भनेर लेखेका थिए । त्यसविरुद्ध अजितकुमार लामाले प्रहरीमा उजुरी दिएका थिए । सोही आधारमा प्रहरीले सार्वजनिक घृणा फैलाउने काम गरेको भन्दै प्रहरीले मुद्दा दायर गरेको हो । 

पक्राउ परेका युवकले आफूलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह मन पर्ने र शाहको समर्थनमा बनाइएका पोस्टहरू आफूले सेयर गरेको बताएका छन् । यसरी फेसबुकमा आलोचना गरेकै आधारमा मुद्दा चलाइएकोमा सरकारबाट दमन भएको भन्दै युवकका आफन्तले प्रहरीप्रति असन्तुष्टि जनाएका छन् । यो घटनामा प्रहरीले असम्बन्धित व्यक्तिको जाहेरी लिएर मुद्दा चलाएको देखिन्छ । 

यसअघि गत १० भदौमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेकै आधारमा प्रहरीले तीन युवकलाई पक्राउ गरी शान्तिविरुद्धको कसुरमा मुद्दा चलाएको थियो । सर्वत्र दबाबपछि उनीहरू चौथो दिनमा जिल्ला प्रशासन कार्यालयबाट धरौटीमा छुटेका थिए ।