बुढीगण्डकी बाढी- पाँचजना सम्पर्कविहीन, तीन जलविद्युत् आयोजनामा क्षति
बुढीगण्डकी बाढीमा परेर पाँचजना सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजीकार्य जारी रहेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार हालसम्म ८२ जनाको उद्धार गरिएको छ। त्यसमध्ये ९ जना विदेशी नागरिक हुन्। बाढीले दुई–दुईवटा पक्की र झोलुंगे पुल बगाएको छ भने तीन जलविद्युत् आयोजनामा क्षति पुगेको छ।
रोहितको शतकप्रेरित खेलमा नेपाल २४ रनले विजयी
आइसिसी विश्वकप लिग–२ अन्तर्गत आइतबारको खेलमा नेपालले क्यानडामाथि २४ रनको जित निकालेको छ। २३६ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको क्यानडा ४८।४ ओभरमा २११ रन बनाएर अलआउट भयो।
ओमानस्थित अल अमिरात मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदा २३५ रनको योगफल तयार गरेको थियो। नेपालका पूर्वकप्तान रोहित पौडेलको शतक र गुल्सन झाको आक्रामक ब्याटिङको मद्दतमा नेपालले जित दर्ता गराएको हो।
दुई दिनपछि सञ्चालनमा आयो पृथ्वी राजमार्ग
शुक्रबारदेखि अवरुद्ध पृथ्वी राजमार्ग दुई दिनपछि पूर्ण रूपमा सञ्चालनमा आएको छ। गजुरी गाउँपालिका–५, गलौँदीमा त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि अवरुद्ध पृथ्वी राजमार्ग नयाँ ट्रयाक निर्माण गरी पुनः सञ्चालनमा ल्याइएको हो।
नागढुंगा–नौबिसे–मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार सडक भासिएपछि शुक्रबार साँझदेखि अवरुद्ध राजमार्गमा शनिबार बिहानैदेखि नयाँ ट्रयाकबाट रोकिएका सवारीसाधन पास गराइएको थियो।
इजरायल रोजगारी प्रकरणः मन्त्रिपरिषद्कै एजेन्डा किर्ते गरेर असुली, संगठित अपराधमा अनुसन्धान
मन्त्रिपरिषद्बाटै निर्णय गराएर रोजगारीमा इजरायल पठाउने भन्दै ठगी गरेको घटनामा प्रहरीले संगठित अपराधको कसुरमा पनि अनुसन्धान थालेको छ। यसअघि ठगीको कसुरमा मात्र अनुसन्धान गर्दै आएकामा घटनामा संगठित प्रकृतिको देखिएपछि संगठित अपराधको कसुरमा अनुसन्धान थालिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रमुख एआइजी उमाप्रसाद चतुर्वेदीले बताए।
विराटनगरमा मुख्यमन्त्री सम्मेलन: संघीयता कार्यान्वयन र अधिकार बाँडफाँट मुख्य एजेन्डा
संघीयता कार्यान्वयनमा देखिएका समस्या समाधान, प्रदेशको अधिकार बाँडफाँट, वित्तीय स्रोतको उपयोग र असल अभ्यासको आदानप्रदानलाई मुख्य एजेन्डा बनाएर कोशी प्रदेशको राजधानी विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन आयोजना हुने भएको छ।
कोशी प्रदेश सरकारको आयोजनामा आगामी २७ र २८ असोजमा हुने सम्मेलनमा संघीयता कार्यान्वयन, वित्तीय संघीयता, कानुनी तथा नीतिगत सुधार, प्रदेशहरूबिच असल अभ्यासको आदानप्रदान र कानुन निर्माणका विषयमा छलफल हुने जनाइएको छ।
कपनमा प्रधानाध्यापकमाथि कुटपिट, दुईजना पक्राउ
कपनमा विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट र शिक्षिकामाथि अभद्र व्यवहार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का ३६ वर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली नगरपालिका–१ का ४४ वर्षीय ध्रुवप्रसाद घिमिरेलाई प्रहरी वृत्त बौद्धले आइतबार पक्राउ गरेको हो।
वेत्रावतीमा एक्रो ब्रिज सञ्चालनमा, सिधा सडक सम्पर्कमा नुवाकोट र रसुवा
गत १० भदौमा भोटेकोशीको विनाशकारी बाढीले वेत्रावतीमा पक्की पुल बगाएपछि टुटेको नुवाकोट र रसुवाबिचको सिधा सडक सम्पर्क पुनः जोडिएको छ। नेपाली सेनाले दुई जिल्लाको सीमामा पर्ने फलाकु खोलामा ४० टन भारवहन क्षमताको एक्रो ब्रिज सञ्चालनमा ल्याएको हो।
७३।२ मिटर लामो र ५।५ मिटर चौडा पुल सेनाले एक कार्यक्रमबिच गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ। पुल सञ्चालनसँगै आसपासका नागरिकको आवतजावत तथा बाढी प्रभावित क्षेत्रमा राहत र अत्यावश्यक सामग्री ढुवानी सहज हुनेछ। भोटेकोशीमा आएको बाढीले वेत्रावतीको पुलसँगै पहुँच सडकमा समेत क्षति पुगेपछि उक्त स्थानबाट सवारी आवागमन अवरुद्ध भएको थियो। त्यसको विकल्पमा सेनाले मोडुलर एक्रो ब्रिज जडान गरेको हो।
काठमाडौं वडा नम्बर १३ का वडाअध्यक्षविरुद्ध किर्ते र ठगी मुद्दा दायर
काठमाडौंको वडा नम्बर १३ का अध्यक्ष धुव्रनारायण मानन्धरविरुद्ध ठगी तथा लिखत किर्ते मुद्दा दायर भएको छ। काठमाडौंको ताहाचलस्थित एक रोपनी जग्गा धनीलाई थाहा नै नदिई बिक्री गरेको घटनामा सिआइबीले सरकारी वकिल कार्यालयमार्फत उनीलगायत १६ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
अमेरिका बस्ने सुमित अडुकियाको जग्गा कीर्ते कागजपत्रका आधारमा दीपककुमार अग्रवाललाई नौ करोड ८० लाखमा बिक्री भएको थियो। यसमा वडा र मालपोत कार्यालयले सघाएको खुलेपछि सिआइबीले वडाअध्यक्ष मानन्धरलाई समेत पक्राउ गरेको थियो। उनलाई हाजिरी जमानीमा राखेर छाडिएकोमा शुक्रबार मुद्दा दायर भएको हो । वडाका अधिकृत पदमबहादुर थापालाई पनि यस मुद्दामा प्रतिवादी बनाइएको छ।
१० वर्षदेखि ज्येष्ठ नागरिकलाई भत्ता बाँड्दै वडाध्यक्ष कुँवर
कञ्चनपुरको भीमदत्त नगरपालिका– १ का वडाध्यक्ष आसिफ कुँवर ९भुन्टु०ले विगत १० वर्षदेखि ज्येष्ठ नागरिक, असहाय तथा अशक्त नागरिकलाई आफ्नो भत्ताबापतको रकम वितरण गर्दै आएका छन्।
नेपाली कांग्रेसबाट ०७४ र ०७९ सालको स्थानीय तह निर्वाचनमा लगातार वडाध्यक्षमा निर्वाचित कुँवरले यस वर्ष पनि राज्यबाट प्राप्त भत्ताको रकम ज्येष्ठ नागरिक तथा असहाय नागरिकलाई वितरण गरेका छन्।
चाडपर्व सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन, पाँच स्थानमा यात्रु सहायता कक्ष
जिल्ला प्रहरी कार्यालयले चाडपर्वका वेला यात्रुको सुरक्षा, सवारी चाप व्यवस्थापन तथा आपराधिक गतिविधि नियन्त्रणका लागि जिल्लाभर ६३६ प्रहरी परिचालन गरेको छ। बडादसैँ, दीपावली, नेपाल संवत् र छठलाई लक्षित सुरक्षा योजनाअन्तर्गत पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्नुका साथै राजमार्ग तथा बजार क्षेत्रमा निगरानी बढाइएको हो।