रोहितको शतकप्रेरित खेलमा नेपाल २४ रनले विजयी

आइतबार, २५ असोज, २०८३
डिजिटल संस्करण

आइसिसी विश्वकप लिग–२ अन्तर्गत आइतबारको खेलमा नेपालले क्यानडामाथि २४ रनको जित निकालेको छ। २३६ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको क्यानडा ४८.४ ओभरमा २११ रन बनाएर अलआउट भयो।

ओमानस्थित अल अमिरात मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदा २३५ रनको योगफल तयार गरेको थियो। नेपालका पूर्वकप्तान रोहित पौडेलको शतक र गुल्सन झाको आक्रामक ब्याटिङको मद्दतमा नेपालले जित दर्ता गराएको हो।

रोहितले १२७ बलमा १०१ रन जोड्दा ३४ बल सामना गरेका गुल्सनले चार चौका र तीन छक्काको मद्दतमा ४८ रनको योगदान गरे। एकदिवसीय क्रिकेटमा रोहितको यो तेस्रो शतक हो। एकदिवसीयमा तेस्रो शतक प्रहार गर्ने उनी एकमात्र नेपाली क्रिकेटर हुन्।

यसैगरी बसिर अहमदले ५७ बलमा ३० रन जोड्दा अर्जुन कुमालले ५४ बलमा २३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

क्यानडाका लागि अखिल कुमारले चार विकेट हात पार्दा सुखजिन्द सिंह र जाहिद सिर्जादले क्रमशः तीन र दुई विकेट निकाले।

जवाफी ब्याटिङ गरेको क्यानडाका लागि आरोन जोनसनले सर्वाधिक ४४ रन बनाए। समित गोहिल ३५ तथा श्रेयस मोव्बा र हम्जा तरिकले समान २६ रन बनाएर पेभेलियन फर्किँदा अखिल कुमारले नटआउट ३० रनको योगदान गरे।

नेपालका लागि सन्दीप लामिछाने, ललित राजवंशी, करण केसी र नन्दन यादवले समान दुई विकेट निकाले।

सुझावित समाचार