काठमाडौं/ पूर्वकप्तान रोहितकुमार पौडेलको शतक मद्दतमा नेपालले आइसिसी विश्वकप लिग– २ अन्तर्गत क्यानडालाई २३६ रनको लक्ष्य दिएको छ।
आइतबार ओमानस्थित अल अमिरात मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदा २३५ रन बनायो।
क्यानडाविरुद्ध रोहितले १२५ बलमा शतक बनाएका हुन्। रोहितले आठ चौका र एक छक्का प्रहार गरे। १२७ बलमा १०१ रन बनाएका उनलाई जागिरले आउट गराए।
एकदिवसीय क्रिकेटमा रोहितको यो तेस्रो शतक हो। एकविदसीयमा तेस्रो शतक प्रहार गर्ने उनी एकमात्र नेपाली क्रिकेटर समेत बनेका छन्।
मध्यम योगफल बनाउने क्रममा गुल्सन झाले ३४ बलमा ४८ रन बनाउँदा बसिर अहमदले ५७ बलमा ३० रनको योगदान गरे।