नेपालमा ह्विलचेयर रग्बी खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
ह्विलचेयर रग्बी संघ नेपालको आयोजना तथा बिआइए इन्स्टिच्युट र नेपाल रग्बी संघको सहकार्यमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा मंगलबारदेखि सुरु प्रशिक्षण बिहीबार सम्पन्न भएको हो । प्रशिक्षणमा नेपालका १४ खेलाडी सहभागी थिए । प्रशिक्षणको समापनका अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा ह्विलचेयर रग्बी संघले बिआइएलाई ३९–३६ ले पराजित गर्यो ।
खेलमा सहभागी दुवै टोलीका खेलाडीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रशिक्षण सञ्चालनका लागि अमेरिकी ह्विलचेयर रग्बी प्रशिक्षक माइकल स्टिभ केयर्लीको नेतृत्वमा पाँच सदस्यीय टोली नेपाल आएको थियो । टोलीमा मेरुदण्डको चोटपछिको पुनस्र्थापनासम्बन्धी विशेषज्ञ डा. जेफ्री क्रेग बर्लिनर र अमेरिकी ह्विलचेयर रग्बी खेलाडी लोगन डिन फुलर पनि सहभागी थिए ।
तीनदिने प्रशिक्षणमा ह्विलचेयर सञ्चालन, खेलकौशल, रणनीति, शारीरिक क्षमता विकास, चोटपटकको जोखिम न्यूनीकरण तथा स्वास्थ्य र पुनस्र्थापनासम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रमले नेपाली खेलाडीलाई ह्विलचेयर रग्बीका प्राविधिक पक्ष र खेल सञ्चालनका आधारभूत सिप सिक्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।
समापन समारोहमा नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर प्रमुख अतिथि थिए । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य मोनालिशा खम्बू, नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी, महासचिव गोविन्द घिमिरे, कोषाध्यक्ष दीपक अधिकारी, केशवप्रसाद सिटौला, राखेपका प्रतियोगिता प्रमुख मीनप्रसाद शर्मा तथा नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री विपना थापालगायतको उपस्थिति थियो ।
समारोहमा अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख हार्करले ह्विलचेयर रग्बीजस्ता खेलले आपसी सद्भाव र सहकार्य बढाउनुका साथै खेलाडीको मनोबल उच्च बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।