काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले विश्व क्रिकेटका चर्चित अलराउन्डर आन्द्रे रसेललाई अनुबन्ध गरेको छ। विश्वभरका विभिन्न फ्रेन्चाइज क्रिकेट लिगमा आफ्नो विस्फोटक ब्याटिङ, प्रभावशाली बलिङ र उत्कृष्ट फिल्डिङका कारण परिचित रसेलको आगमनसँगै विराटनगर किंग्सले आगामी सिजनका लागि आफ्नो टोलीलाई थप मजबुत बनाएको छ।
वेस्ट इन्डिजका अनुभवी खेलाडी रसेललाई टी–२० क्रिकेटका सबैभन्दा खतरनाक अलराउन्डरमध्ये एक मानिन्छ। दबाबपूर्ण अवस्थामा पनि खेलको दिशा परिवर्तन गर्न सक्ने क्षमता भएका उनले आफ्नो आक्रामक खेलशैलीमार्फत विश्व क्रिकेटमा छुट्टै पहिचान बनाएका छन्। उनको उपस्थितिले विराटनगर किंग्सको ब्याटिङ र बलिङ दुवै पक्षमा थप शक्ति प्रदान गर्ने अपेक्षा गरिएको छ।
आन्द्रे रसेलले सन् २०१० मा वेस्ट इन्डिजको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो यात्रा सुरु गरेका थिए। उनले सन् २०१२ मा श्रीलंकामा भएको आइसिसी पुरुष टी–२० विश्वकप जित्ने वेस्ट इन्डिज टोलीको सदस्यका रूपमा पनि सफलता हासिल गरेका थिए। सन् २०१६ मा भारतमा भएको टी–२० विश्वकप जित्दा पनि उनी वेस्ट इन्डिज टोलीका महत्त्वपूर्ण सदस्य थिए।
रसेल इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सका लागि लामो समयदेखि प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। विशेषगरी डेथ ओभरमा आक्रामक ब्याटिङ गर्ने, छक्का प्रहार गर्ने र महत्त्वपूर्ण समयमा विकेट लिने क्षमताका कारण उनी फ्रेन्चाइज क्रिकेटमा निकै लोकप्रिय छन्।
उनले क्यारेबियन प्रिमियर लिग, बिग बास लिगलगायत विभिन्न अन्तर्राष्ट्रिय टी–२० प्रतियोगितामा समेत आफ्नो प्रतिभा प्रदर्शन गरिसकेका छन्।