आइसिसी विश्वकप लिग २ : ओमानमा अन्तिम सिरिज खेल्दै नेपाल

सोमबार, १९ असोज, २०८३
डिजिटल संस्करण

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आइसिसी विश्वकप लिग २ को अन्तिम सिरिज ओमानमा खेल्दै छ । ओमानमा आगामी सातादेखि लिग सुरु हुँदै छ । जसमा आयोजक राष्ट्रसँगै नेपाल र क्यानडाले प्रतिस्पर्धा गर्नेछन् । यसपटक लिग २ को अंकतालिकामा नेपालको अवस्था सन्तोषजनक छैन । कप्तान सन्दीप लामिछानेको नेतृत्वमा रहेको नेपाल अहिले तालिकाको सातौँ स्थानमा छ । नेपालले ३२ खेलबाट २४ अंक बटुलेको छ ।

 लामिछानेलाई नेपालको एकदिवसीय मान्यता रक्षा गर्नुपर्ने दबाब छ । पाँचौँ स्थानमा रहँदा चार वर्षका लागि एकदिवसीय मान्यता रक्षा हुनेछ । विश्वकप लिग २ मा ३६ खेल खेलेको स्कटल्यान्ड ४५ अंकसहित शीर्ष स्थानमा छ । ३२ खेल खेलेको अमेरिका ४३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको नेदरल्यान्ड्सले ३२ खेलमा ३८ अंक जोडेको छ । विश्वकप लिग २ बाट स्कटल्यान्ड, अमेरिका र नेदरल्यान्ड्सले सन् २०२७ मा हुने एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाइसकेका छन् । 

उनीहरूले चार वर्षका लागि एकदिवसीय मान्यता पनि रक्षा गरिसकेका छन् । ओमान ३१ अंकका साथ चौथो स्थानमा छ । उसले २८ खेल खेलेको छ । ३२ खेलबाट २८ अंक जोडेको नामिबिया पाँचौँ स्थानमा रहेको छ । विश्वकप लिग २ मा उत्कृष्ट सुरुवात गरेको तर त्यसपछि खराब प्रदर्शन जारी राखेको क्यानडा छैटौँ स्थानमा छ । क्यानडाले ३२ खेलबाट २५ अंक हात पारेको छ । अंक तालिकाको पुछारमा युएई  छ । युएईले २८ खेलबाट १८ अंक बटुलेको छ । 

 ओमान सिरिज महत्वपूर्ण 
नेपाल क्रिकेट संघ (क्यान)ले सिरिजमा सहभागी हुने टोलीलाई आइतबार बिदाइ गरेको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायतले टोलीलाई शुभकामना दिँदै बिदाइ गरेका छन् ।

क्यानका सचिव खड्काले विश्वकप लिग २ को अन्तिम सिरिज भएकाले ओमानमा राम्रो क्रिकेट खेल्दै जित निकाल्न शुभकामना दिए । ‘महत्वपूर्ण सिरिज‌ छ, अन्य नतिजाले पनि फरक पार्नेछ । सबै टोलीले राम्रो क्रिकेट खेलेका छन्,’ उनले भने, ‘राम्रो प्रदर्शन गर्ने हो भने अबको मार्ग थप स्पष्ट हुनेछ । 

यसअघि राम्रो खेलिरहनुभएको छ, पहिले–पहिले पनि इतिहास रचेजस्तै यसपटक पनि राम्रो गर्नुहोला ।’ प्रशिक्षक स्टुअर्ट लले पनि महत्वपूर्ण सिरिजका रूपमा लिएका छन् । उनले ओमानमा योजनाअनुसार खेल्ने बताए । ‘जित्छौँ भन्न सजिलो छ, तर त्यसका लागि प्रोसेस पनि थाहा हुनुपर्छ र त्यसैअनुसार प्रदर्शन पनि गर्नुपर्छ,’ प्रशिक्षक लले भने ।

कप्तान लामिछानेले तयारी राम्रो भएको बताए । ‘अहिले टोली लयमा देखिएको छ, एकदिवसीय मान्यता बचाउने प्रमुख लक्ष्य हो,’ उनले भने, ‘नेपाललाई विश्वकप छनोटमा पुर्याउने नै हाम्रो लक्ष्य रहनेछ ।’ यसैगरी, अध्यक्ष चन्दले प्रिमियर कप च्याम्पियन बनेर आएको टोलीबाट जितको अपेक्षा राखेको बताए ।

सुझावित समाचार