जीवनदान पाएका लोकेश चम्किँदा कर्णालीलाई १८७ रनको विशाल लक्ष्य

बिहिबार, १२ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । जीवनदान पाएका ओपनर लोकेश बम चम्किएपछि कर्णाली याक्सलाई नेपाल प्रिमियर लिग (एनपिएल)को आफ्नो दोस्रो खेलमा विराटनगर किंग्सले १८७ रनको विशाल लक्ष्य दिएको छ। 

बिहीबार त्रिवि क्रिकेट मैदानमा कप्तान सोमपाल कामीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन्। विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८६ रन बनाएको हो। 

ओपनर लोकेशले ५२ बलमा सर्वाधिक ८७ रन बनाए। तेस्रो एनपिएलमा पहिलो अर्धशतक हिर्काउने क्रममा उनले ३ चौका र ९ छक्का प्रहार गरे। उनलाई सोमपाल कामीले १५.५ ओभरमा आफ्नै बलिङमा क्याच आउट गरेका हुन्। त्यसअघि पहिलो ओभरमै लोकशले जीवनदान पाएका थिए। कप्तान सोमपाल कामीको बलमा लोकेशको क्याच नन्दन यादवले छाडेका थिए।

लोकेश र एन्जेलो म्याथ्युजबीच ७१ रनको साझेदारी भयो। श्रीलंकाका पूर्व कप्तान म्याथ्युजले ३२ बलमा ३१ रन बनाए। चार चौका प्रहार गरेका उनलाई सोमपालले बोल्ड गरेका थिए। विराटनगरले ८.६ ओभरमा ७३ रन बनाउँदा तीन विकेट गुमाएपछि लोकेश र म्याथ्युजबीच बलियो साझेदारी भएको हो। लोकेश आउट हुँदा विराटनगरले १४४ रन बनाउँदा ४ विकेट गुमाएको थियो।

वेष्ट इन्डिजका पूर्वअलराउन्डर आन्द्रे रसेलले १५ बलमा आक्रमक  २७ रन हिर्काए। तीन चौका र दुई छक्का हान्दै त्रिवि मैदानमा दर्शकलाई रोमाञ्चकता दिएका रसेललाई कप्तान सोमपालले युनिसविक्रम ठकुरीबाट क्याच गराए। बसिर अहमदले १३ रन जोडे। यसअघि ओपनर इमरान खान ५, चरिथ असलंका ३ तथा शेहान जयासुरियाले ११ रन बनाएका थिए।

कर्णालीका बलर सोमपाल कामीले एक्ले चार विकेट लिए। उनले ३३ रन खर्चिए। यसबाहेक मार्क वाटले एक मेडनसहित २३ रन खर्चिएर एक विकेट लिए। अन्य बलर भने महँगो सावित हुन पुगे। नन्दन यादवले चार ओभर बलिङ गर्दा एक विकेट लिएर सर्वाधिक ४३ रन खर्चिए। पाकिस्तानका हुसैन तलातले तीन ओभरमा ३९ र युनिसले तीन ओभरमा २६ रन खर्चिए पनि विकेट झार्न सकेनन्।

दुबै टोलीको यो दोस्रो खेल हो। कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराएको थियो। त्यसैले टिम लगातार दोस्रो पटक जित्ने लक्ष्यमा छ। विराटनगर भने पहिलो खेलमा चितवन राइनोजविरुद्ध ८ विकेटले पराजित भएको थियो।

आजै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौंलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ।

सुझावित समाचार