काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतक प्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडाैं गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको हो।
दीपेन्द्रले सर्वाधिक ६० रन बनाए। उनले ५५ बलमा पाँच चौका र दुई छक्का हिर्काए। थरिन्दु रत्नायकेले अविजित २६ र आरिफ शेखले १६ रनको योगदान गरे।
जारी एनपिएलमा दीपेन्द्रको यो दोस्रो अर्धशतक हो। उनले यसअघि पोखरा एभेन्जर्सविरुद्ध अविजित ५१ रन बनाएका थिए। उनी दुई अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी हुन्। यसअघि काठमाडाैंका रासिद खानले पनि दुई अर्धशतक प्रहार गरिसकेका छन्।
दीपेन्द्रले पाँचौँ विकेटका लागि आरिफ शेखसँग ५४ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। आरिफले २५ बल खेल्दै एक चौका मद्दतमा १६ रन बनाए। दीपेन्द्रले थरिन्दु रत्नायकेसँग छैटौँ विकेटका लागि पनि ५४ रनको साझेदारी गरेका थिए।
काठमाडौंका लागि जहान्दाद खानले तीन तथा सन्तोष यादवले दुई विकेट निकाले।