पाकिस्तानका  कप्तान फर्हान नेपाल आइपुगे

शनिबार, ७ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका टेस्टराष्ट्र पाकिस्तान टी– २० टिमका कप्तान साहबजादा फर्हान नेपाल आइपुगेका छन्। शनिबार उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई कर्णाली याक्स स्पोर्टस् प्रालिका प्रतिनिधिले स्वागत गरेका थिए । 
 
क्लबले शुक्रबार ३० वर्षीय शीर्षक्रमका दायाँहाते ब्याटर फर्हानलाई अनुबन्ध गरेको घोषणा गरेको हो । उनी कर्णाली याक्समा अनुबन्ध हुने दोस्रो पाकिस्तानी राष्ट्रिय टिमका खेलाडी हुन् । बिहीबार  कर्णालीले पाकिस्तानका चर्चित अलराउन्डर हुसैन तलातलाई अनुबन्ध गरेको थियो । तलात पनि नेपाल आइसकेका छन् । 

फर्हानले सन् २०१८ मा अस्ट्रेलियासँग खेल्दै टी–२० आईमा डेब्यु गरेका थिए । उनले पाकिस्तानबाट टी–२० मा ५१ खेल खेल्दा एक हजार ५५४ रन बनाएका छन् । जसमा दुई शतक र १३ अर्धशतक सामेल छ । उनले रावलपिन्डीमा भएको पछिल्लो तीन टी– २० आईमै अर्धशतक बनाएका छन् । 

कर्णाली याक्सले ६  विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ। यसअघि कर्णालीले पाकिस्तानकै अलराउन्डर हुसैन तलातसँगै बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम र अकबर अलीलाई भित्र्याइसकेको छ। शुक्रबार मात्रै टिमले दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेभिड मिलरलाई अनुबन्ध गरेको थियो। 

त्यस्तै, दोस्रो सिजनमा सानदार प्रदर्शन गरेको स्कटल्यान्डका अलराउन्डर मार्क वाट पनि टिममा अनुबन्ध भइसकेका छन्। वाटबाहेक मिलर,  फर्हान, तलात, अरिफुल र अकबर चारैजना पहिलोपटक एनपिएल खेल्दै छन्। 

कात्तिक ९ बाट सुरु हुने एनपिएलका लागि कर्णालीले घरेलु खेलाडीमा मार्कीमा सोमपाल कामी,  गुल्सन झा, नन्दन यादव, विपिन शर्मा, युनिसविक्रम सिंह,  दीपेन्द्र रावत, पवन सर्राफ, युवराज खत्री, दीपक डुम्रे, सूर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मालाई अनुबन्ध गरेको छ ।
 

सुझावित समाचार