एनपिएलका सबै खेलमा डिआरएस लागू हुने, खेल समय पनि संशोधन

मंगलबार, ३ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका सबै खेलमा डिसिजन रिभ्यु सिस्टम (डिआरएस) प्रविधि प्रयोग गरिने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताका सबै खेलमा डिआरएस लागू गर्ने निर्णयसँगै खेल सञ्चालनको समयसमेत संशोधन गरिएको जनाएको छ।

क्यानका अनुसार सिद्धार्थ बैंक एनपिएलको तेस्रो संस्करण सन् २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ।

डिआरएस प्रविधि लागू भएपछि खेलाडीले मैदानमा रहेका अम्पायरको निर्णयप्रति असहमति जनाउँदै पुनरवलोकन माग गर्न सक्नेछन्। विशेषगरी एलबिडब्लू, क्याचलगायतका विवादास्पद निर्णयको समीक्षा गर्न यो प्रविधि उपयोगी मानिन्छ।

डिआरएसको प्रयोगले अम्पायरका निर्णयलाई प्रविधिमार्फत पुनः जाँच गर्न सकिने भएकाले खेल सञ्चालनलाई थप पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

क्यानले प्रतियोगिताको संशोधित तालिकाअनुसार एकै दिन दुई खेल हुने अवस्थामा पहिलो खेल दिउँसो १२ः३० बजे र दोस्रो खेल साँझ ५ बजे सुरु हुने जनाएको छ। त्यस्तै, एक दिनमा एउटा मात्र खेल हुने अवस्थामा उक्त खेल साँझ ५ बजेबाट सुरु हुनेछ।

प्रतियोगितामा डिआरएसको प्रयोग र खेल समयको संशोधनले खेलको गुणस्तर अभिवृद्धि गर्नुका साथै दर्शकलाई खेल हेर्न थप सहज हुने अपेक्षा गरिएको छ।

सुझावित समाचार