सुदूरपश्चिमको दोस्रो जित

सोमबार, १६ कार्तिक, २०८३
डिजिटल संस्करण


काठमाडौं/ चितवन राइनोजलाई ५ विकेटले हराउँदै तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेको छ । 

सोमबार त्रिवि क्रिकेट मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ३० रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा सुदूरपश्चिमले १६.१ ओभरमा ५ विकेट गुमाउँदै जित निकाल्यो। 

सुदूरपश्चिम चौथो खेलमा दोस्रो जित निकाल्न सफल भयो। योसँगै टिम तेस्रो स्थानमा उक्लिएको छ। सुदूर पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो । दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै कमब्याक हुन सफल भयो । तर, वर्षा विवाद र अन्योलताबिच सुरु भएको पाँच ओभरको खेलमा विराटनगरसँग ३५ रनले पराजित हुन पुगेको हो । 

यता, चितवन भने प्रतियोगितामा पहिलो हार बेहोर्न बाध्य भयो । पहिलो खेलमा विराटनगरलाई ८ विकेटले पराजित गरेको थियो । तर, दोस्रो खेलमा भने वर्षा बाधक हुँदा चितवनले लुम्बिनी लायन्ससँग अंक बाँडेको हो । 

आज नै भएको पहिलो खेलमा कर्णाली याक्स पहिलो हार बेहोर्न बाध्य भयो । कर्णालीलाई पहिलो हार चखाएको काठमाडौं भने ४ विकेटको पहिलो जित निकाल्न सफल भयो । 

दुई संस्करणको फाइनलिस्ट सुदूरलाई दोस्रो जिताउन स्कटल्यान्डका ब्रान्डन म्याकमुलेनले सर्वाधिक ४३ रन बनाए । २१ बलको सामना गरेका उनले ६ चौका र २ छक्का हिर्काएका थिए । ईशान पाण्डेले २९ बलमा २५ रन हाने । 

मध्यक्रमका आरिफ शेखले २६ बलमा अविजित २० रन बनाए । वेस्ट इन्डिजका आक्रमक ब्याटर शेरफान रुथरफोर्डले १५ बलमा २१ रनको योगदान गरेका हुन् । 

ओपनर विनोद भण्डारीले ११ रन प्रहार गर्दा अर्का ओपनर सैफ जैवले मात्र २ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरी भने डकआउट हुन पुगे । दीपेन्द्रलाई रञ्जित कुमारले डक आउट गरेका थिए । 

उनै २० वर्षीय रञ्जित कुमारले चितवनको लागि सर्वाधिक तीन विकेट लिए । उनले २८ रन खर्चिएका थिए । दीपेन्द्रसँगै रञ्जितले विनोद भण्डारी र ब्रान्डन म्याकमुलेनको विकेट लिएका हुन् । चितवनको लागि थप विकेट रिजन ढकाल र मौसन ढकालले दिएका थिए । 

यसअघि पहिलो इनिङ्समा चितवनको लागि ब्याटर रवि बोपराले ४० बलमा सर्वाधिक ४९ रन बनाए । अर्धशतक बनाउन एक रनले चुकेका उनले ३ चौका र २ छक्का हिर्काएका थिए । उनलाई स्कट कुगुलेइनले बाउण्ड्री हान्ने क्रममा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराएका थिए । 

यसबाहेक डेबिड मालनले १६ तथा अर्जुन साउद र नयाँ कप्तान सिकन्दर राजाले समान १५ रन बनाएका थिए। विवेक यादव १७ रनमा अविजित रहे । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन् । ओपनर देव खनाल ७ रन बनाएर आउट भएका हुन् । 

सुदूरपश्चिमको लागि स्कटले २ तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले समान एक विकेट लिएका थिए ।

सुझावित समाचार