काठमाडाैं- दुईपटकको उपविजेता सुदूरपश्चिम रोयल्स तेस्रो एनपिएलको अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । त्रिवि क्रिकेट मैदानमा शुक्रबार कर्णाली याक्सलाई ३९ रनको फराकिलो अन्तरले हराउँदै सुदूरपश्चिम दोस्रो स्थानमा पुगेको हो । पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर एक सय ७६ रनको बलियो योगफल खडा गर्यो ।
प्रत्युत्तरमा कर्णालीले २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३७ रन बनायो । चालू एनपिएलमा कर्णालीले लगातार दुई खेल गुमायो । सुदूरपश्चिमले लगातार दुई जित निकाल्यो । एक सय ७७ रन पछ्याएको कर्णालीका लागि दक्षिण अफ्रिकी ब्याट्सम्यान डेभिड मिलरले जितको आशा दिलाएका थिए ।
उनले ५५ बलमा ९३ रन जोड्दा पनि टोलीलाई दुई अंक दिलाउन सकेनन् । उनले अन्तिम ओभरमा स्कट कुगेलिजिनविरुद्ध चार छक्का प्रहार गरेका थिए । उनी क्रिजमा रहँदा सुदूरपश्चिमलाई डरको भय थियो । तर, मिलरलाई अन्य ब्याट्सम्यानले गतिलो साथ दिन सकेनन्, जसको फाइदा सुदूरपश्चिमले उठाउन सफल भयो ।
कर्णालीको कमजोर सुरुवात नै हारको प्रमुख कारण थियो । कर्णालीले पावरप्लेमा ३५ रन स्कोर बोर्डमा चढाउँदा तीन विकेट गुमाएको थियो । कर्णाली इनिङ्सको ९.५ ओभरमा ४९/५ को कमजोर अवस्थामा थियो । यसैगरी, सुदूरपश्चिमले पहिलो ६ ओभरमा ६३ रन बनाएको थियो । उसले अन्तिम पाँच ओभरमा ५७ रन जोड्दै कर्णालीलाई बलियो योगफल दिन सफल भयो । सुदूरपश्चिमले मध्यक्रममा विकेट गुमाए पनि रत्नायके र स्कटले आक्रामक ब्याटिङ गरेका थिए । उनीहरूको सटीक फिनिसिङका कारण नै सुदूरपश्चिमको जितको आधार बन्यो ।
पावर प्ले र डेथ ओभरमा बलियो सुदूरपश्चिम
सुदूरपश्चिमको ब्याटिङमा कसैले पनि अर्धशतकीय योगदान दिएन । तर, उसले कर्णालीलाई चुनौतीपूर्ण लक्ष्य दिन सफल भयो । प्रतिस्पर्धामा सुदूरपश्चिमले पावर प्ले तथा डेथ ओभरमा बलियो ब्याटिङ गरेको थियो । सुदूरपश्चिमले पहिलो विकेट ७.३ ओभरमा गुमाउँदा स्कोरबोर्डमा ६८ रन बनाएको थियो । चालू एनपिएलमा पहिलोपटक विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले २२ बलमा २७ रन जोड्न समान दुई चौका र छक्का प्रहार गरे ।
ओपनर सैफ जैवले २४ बलमा चार चौका र एक छक्काको सहयोगमा ३५ रन बनाए । ब्रान्डोन म्याकमुलेनले १६ बलमा २४ रन जोडे । कप्तान दीपेन्द्रसिंह ऐरीले १४ बल खेलेर १० रनमा आफ्नो विकेट गुमाए । मध्यक्रममा ईशान पाण्डेले १३ बलमा तीन छक्का हिर्काएर २३ रन जोडे । त्यसपछि थिरिन्दु रत्नायके र स्कट कुगेलिजिनले अन्तिम पाँच ओभरमा आक्रामक रूपमा ब्याटिङ गरे । थिरिन्दुले १२ बलमा २२ रन तथा स्कटले ६ बलमा १३ रन बनाए ।
