ज्ञान संस्कारको वार्षिक खेलकुद महोत्सव सम्पन्न

शुक्रबार, २० कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । ज्ञान संस्कार इन्टरनेसनल स्कुलको वार्षिक खेलकुद महोत्सव (स्पोर्टस् डे) भव्य रूपमा सम्पन्न भएको छ । बिहीबार काठमाडौंको सामाखुसीस्थित ज्ञान संस्कारको प्रांगणमा साता दिनसम्म चलेको स्पोर्टस् डे सम्पन्न भएको हो ।

सहभागी खेलाडीलाई प्रमुख अतिथि महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बा र विद्यालयकी प्रधानाध्यापक निलम बानियाँ बडूले एक कार्यक्रमबिच पुरस्कृत र सम्मान गरेका थिए ।

०७९ सालमा काठमाडौं उपत्यकाको टोखा नगरपालिकामा स्थापना भएको ज्ञान संस्कार इन्टरनेसनल स्कुलले जीवनोपयोगी संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्दै नेपाली शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ । विद्यालय स्थापनाको प्रारम्भिक चरणदेखि नै शैक्षिक, संस्कारदेखि खेलकुदका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

यस्तै, ज्ञान संस्कार स्कुलले राष्ट्रिय खेलकुद परिषद्को मातहत रहेको नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघसँगको समन्वयमा हरेक वर्ष राष्ट्रियस्तरको स्केटिङ प्रतियोगिता आयोजना गर्दै आएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अञ्जिलाले स्कुलमा पढाइदेखि विद्यार्थीको संस्कार र खेलकुदमा पनि उत्तिकै प्रभावकारी कार्यक्रय आयोजना हुँदै आएकोमा खुसी व्यक्त गरिन् । ‘एक खेलाडीका लागि संस्कार र अनुशासन निकै महत्त्वपूर्ण हुन्छ । ज्ञान संस्कार स्कुलले सुरुबाटै विद्यार्थीलाई यी कार्यक्रममा पोख्त बनाएको रहेछ । निकै खुसी लाग्यो,’ अञ्जिलाले भनिन्, ‘स्कुलले आगामी दिनमा पढाइ सँगसँगै खेलकुदलाई झनै प्राथमिकतामा राख्ने विश्वास लिएकी छु ।’

विद्यालयकी प्रधानाध्यापक निलम बानियाँ बडूले कार्यक्रममा सहभागी भएकोमा अञ्जिलालाई धन्यवाद ज्ञापन गरिन् । उनले हरेक वर्ष पढाइसँगै खेलकुदलाई पनि निरन्तरता दिन स्कुल सफल भएको बताइन् ।

सुझावित समाचार