काठमाडौं। आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत ओमानमा भएको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ।
ओमानमा सम्पन्न शृंखलामा सहभागी नेपाली टोली मंगलबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो। टोलीलाई विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का प्रतिनिधिहरूले स्वागत गरेका थिए।
शृंखलामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै चारमध्ये तीन खेलमा जित निकालेको थियो। नेपालले क्यानडालाई दुई खेलमा तथा आयोजक ओमानलाई एक खेलमा पराजित गरेको थियो। अन्तिम खेलमा सोमबार नेपालले ओमानलाई १० रनले हराएको थियो।
लिग– २ को यस शृंखलामा तीन खेल जिते पनि नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता जोगाउने सम्भावना अझै चुनौतीपूर्ण छ। लिग– २ को शीर्ष चारमा पर्ने सम्भावना गुमाइसकेको नेपालले ओडिआई मान्यता जोगाउन अब छनोट प्रतियोगिताको प्लेअफ चरणमा प्रतिस्पर्धा गर्नुपर्नेछ।
शृंखलामा प्राप्त जितले नेपाली टोलीको मनोबल बढाएको छ। अब नेपालले आगामी प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्ने लक्ष्य लिनेछ।