काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)बाट आधिकारिक मान्यता पाएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले प्रेस विज्ञप्तिमार्फत प्रतियोगिताका सम्पूर्ण खेलले लिस्ट ‘ए’ टी– २० को मान्यता प्राप्त गरेको जनाएको हो।
आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछ। प्रतियोगिताको आयोजना क्यानले गर्न लागेको हो।
क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एसबिएल एनपिएल) का सबै खेलले आधिकारिक मान्यता प्राप्त गरेको उल्लेख छ।
एनपिएलका सम्पूर्ण खेलले आइसिसीको मान्यता पाएसँगै नेपाली क्रिकेटको विकास, व्यावसायिकता र अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिमा थप योगदान पुग्ने क्यानले विश्वास लिएको छ।
प्रतियोगिताले नेपाली क्रिकेटको स्तर उकास्नुका साथै खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।