संगिना राखेप तालिम तथा प्रशिक्षण विभागको निर्देशक

राष्ट्रिय खेलकुद परिषद्को ६ दशक लामो इतिहासमा संगिना वैद्य विभागीय निर्देशक बन्ने पहिलो महिला

शनिबार, ३ असोज, २०८३
डिजिटल संस्करण

ओलम्पियन तेक्वान्दो खेलाडी संगिना वैद्य राष्ट्रिय खेलकुद परिषद् (राखेप)को तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा नियुक्त भएकी छिन् । राखेपको करिब ६ दशक लामो इतिहासमा संगिना विभागीय निर्देशक बन्ने पहिलो महिला बनेकी छिन् ।

राखेपले उनलाई बिहीबार नियुक्तिपत्र दिएको हो । छनोट चरण पार गरेर ओलम्पिक खेल्ने उनी पहिलो नेपाली खेलाडी हुन् । उनले सन् २००४ मा ग्रिसको एथेन्समा भएको ओलम्पिकमा छनोट चरण पार गर्दै उनले सहभागिता जनाएकी थिइन् । तालिम तथा प्रशिक्षण विभागमा निर्देशकको जिम्मेवारी पाउँदा करिअरमा नयाँ अवसरका रूपमा लिएको संगिनाले बताएकी छिन् ।

‘अहिले एकदम खुसी लागेको छ । महिलाले पहिलोपटक यस्तो अवसर पाउनु भनेको सुखद हो,’ उनले नयाँ पत्रिकालाई भनिन्, ‘यो जिम्मेवारीलाई अवसरका रूपमा लिएकी छु ।’ त्यसपछि संगिनाले तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशक पदबाट राजीनामा दिएकी थिइन् । संगिनाले नयाँ जिम्मेवारीलाई अवसरका रूपमा लिएको बताइन् ।

यसअघि टंकलाल घिसिङ सदस्यसचिव रहेका वेला ०८१ सालमै संगिनालाई तालिम तथा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिने तयारी भएको थियो । तर, तत्कालीन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अन्तिम समयमा कराँते प्रशिक्षक शोभित प्रसाईंलाई निर्देशक नियुक्त गरेपछि विषय विवादमा आएको थियो । संगिनाले तत्कालै पदबाट राजीनामा दिइन् ।

सागमा दोहोरो स्वर्ण विजेता
संगिना नेपाली खेलकुदको सफल खेलाडीमध्येकी एक हुन् । एसियालीस्तरको प्रतियोगितामा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी पनि उनी नै हुन् । उनले सन् १९९६ मा भएको एसियाली तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् । संगिनाले सन् १९९९ मा काठमाडौंमा भएको आठौँ दक्षिण एसियाली खेलकुद (साग) र सन् २००४ मा पाकिस्तानमा भएको नवौँ सागमा स्वर्ण पदक जितेकी थिइन् । उनी हाल राखेपमा वरिष्ठ तेक्वान्दो प्रशिक्षकका रूपमा कार्यरत छिन् । 

See More On

सुझावित समाचार