रियल म्याड्रिडको सनसनीपूर्ण प्रदर्शन

२७ वर्षीय एमबाप्पे च्याम्पियन्स लिगमा सय खेल खेल्ने सबैभन्दा कान्छा खेलाडी बने, यसअघि अर्जेन्टिनाका लियोनल मेसीले यो कीर्तिमान बनाएका थिए

शुक्रबार, ३० असोज, २०८३
प्रिन्ट संस्करण

३–१ ले पछि परेको स्थितिमा खेल फर्काउँदै स्पेनिस क्लब रियल म्याड्रिडले युरोपियन च्याम्पियन्स लिगमा सनसनीपूर्ण कमब्याक गरेको छ । इटालियन क्लब रोमाविरुद्ध रियाल ४–३ को रोमाञ्चक जित निकाल्न सफल भयो । 

रोमको ओलिम्पिको रंगशालामा रियलका लागि केलियन एमबाप्पे, कार्लोस एस्पी, एन्ड्रिक र एन्टोनियो रुडिगरले गोल गरेका थिए । यता, रोमाका लागि डोन्येल मालेनले दुई तथा मार्टेन डे रुनले एक गोल गरे । योसँगै फ्रान्सका कप्तान एमबाप्पेले सयौँ च्याम्पियन्स लिग खेल खेलेका छन् । २७ वर्षीय एमबाप्पे च्याम्पियन्स लिगमा सय खेल खेल्ने सबैभन्दा कान्छा खेलाडी बने । 

यसअघि अर्जेन्टिनाका लियोनल मेसीले यो कीर्तिमान बनाएका थिए । सन् २०१५ मा २८ वर्षको उमेरमा मेसीले सय च्याम्पियन्स लिग खेल खेल्ने कीर्तिमान बनाएका थिए । यता, लगातार दोस्रो जितसँगै दुई खेलबाट ६ अंक जोडेको रियल आठौँ स्थानमा छ । पराजित रोमा १ अंकका साथ २५औँ स्थानमा रह्यो । 

अग्रता रियलकै
दोस्रो हाफमा रियल ३–१ ले पछि परेको थियो । अन्तिम आठ मिनेटमा तीन गोल फर्काउँदै रोमाञ्जक जित निकाल्यो । खेलको २०औँ मिनेटमा रुनको गोलमार्फत रोमाले अग्रता लिएको थियो । तर, टोलीले त्यसलाई लामो समयसम्म टिकाउन सकेन । पाँच मिनेटपछि नै एमबाप्पेले रियललाई बराबरीमा ल्याए । पहिलो हाफ १–१ को बराबरीमा टुंगियो ।

त्यसपछि मालेनले ५१ र ५८औँ मिनेटमा गोल गर्दा रोमा ८१औँ मिनेटसम्म ३–१ को अग्रता लिएको थियो । तर, एस्पीले ८२ र एन्ड्रिकले ८५औँ मिनेटमा गोल गर्दै रियललाई ३–३ को बराबरीमा ल्याए । निर्धारित समयको अन्तिम मिनेटमा रुडिगरले विजयी गोल गरेका थिए । 

 सिटीको घरमा पिएसजीको दबदबा
साबिक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)ले अर्काे उपाधि दाबेदार इंग्लिस क्लब म्यानचेस्टर सिटीविरुद्ध ४–२ को जित निकाल्यो । सिटीको घरेलु मैदान इत्तिहाद रंगशालामा पिएसजीलाई जित दिलाउन डेसिरे डुए, ओस्माने डेम्बेले, भिटिन्हा र माग्नेस अक्लियुसले गोल गरेका थिए ।

सिटीका लागि दुवै गोल एर्लिङ हालान्डले गरेका हुन् । तर, उनले टिमलाई हारबाट जोगाउन सकेनन् । योसँगै एन्जो मारेस्काको सिटीले सिजनमा पहिलो हार व्यहोरेको छ । खेलको १५ मिनेटमा दुई गोल व्यहोरेपछि सिटी दबाबमा आएको थियो । टोली पहिलो हाफमा ३–० ले पछि पर्यो । पहिलो हाफमा बिर्सनलायक प्रदर्शन गरेको सिटी दोस्रो हाफमा भने सम्हालिएको थियो । ‘पहिलो हाफमा बिर्सनलायक प्रदर्शन गर्यौँ । त्यसका लागि समर्थकसँग माफी माग्छु । दोस्रो हाफ भने सोचेजस्तो भयो । तर, नतिजा आएन,’ प्रशिक्षक एन्जोले भने । 

भिनिसियसलाई चार खेलमा प्रतिबन्ध 
स्पेनिस फुटबल महासंघको अनुशासन समितिले रियल म्याड्रिडका फरवार्ड भिनिसियस जुनियरलाई स्पेनिस ला लिगाका चार खेलमा प्रतिबन्ध लगाएको छ । ला लिगाअन्तर्गत भिल्लारियलविरुद्धको खेलमा विपक्षी खेलाडीको दुव्र्यवहार गरेपछि ब्राजिलियन स्टारले सिधै रातो कार्ड पाएका थिए । 

उनले मैदानमा गरेको व्यवहार र रेफ्रीमाथि विरोध जनाएका कारण प्रतिबन्ध लगाइएको महासंघले जनाएको छ । अब भिनिसियसले बार्सिलोनाविरुद्धको एल क्लासिकोसहित सेभिया, रियल रेसिङ र भ्यालेन्सियाविरुद्धको खेल गुमाउनेछन् । रियलले भने प्रतिबन्धविरुद्ध अपिल गर्ने जनाएको छ । भिल्लारियलविरुद्धकै खेलमा फ्रेन्च डिफेन्डर कोनाटेलाई दिइएको पहेँलो कार्डविरुद्ध रियलको अपिल भने सफल भएको थियो ।

सुझावित समाचार