प्रिमियर लिगमा गोल गर्न संघर्षरत लिभरपुल

इजिप्टका मोहमद सलाहले क्लब छाडेपछि लिभरपुलको फिनिसिङ लाइन कमजोर, इंग्लिस प्रिमियर लिगका प्रत्येक खेलमा गोलका लागि संघर्षरत

सोमबार, ९ कार्तिक, २०८३
प्रिन्ट संस्करण

युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा लिभरपुलको प्रदर्शन दमदार रहेको छ । च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुल तीन खेलमा अपराजित छ । उसले विपक्षी पोस्टमा १२ गोल गरेको छ । विपक्षी टोलीले लिभरपुलको पोस्टमा तीन गोल गरेका छन् । यसविपरीत इंग्लिस प्रिमियर लिगमा लिभरपुलको प्रदर्शन कमजोर देखिन्छ । 

प्रिमियर लिगमा अहिलेसम्म आठ चरणका खेल सकिएका छन् । जसमा लिभरपुलले चार जित, तीन हार तथा एक खेलमा बराबरी नतिजा निकालेको छ । उसले विपक्षको पोस्टमा नौ गोल गरेको छ । विपक्षीले लिभरपुलको पोस्टमा आठ गोल गरेका छन् । बेलायती फुटबल विश्लेषकहरूले च्याम्पियन्स र प्रिमियर लिगमा लिभरपुलको प्रदर्शन फरक भएको बताएका छन् । 

लिभरपुलको तुलनामा ब्राइटनले प्रिमियर लिगमा अचम्मको खेल देखाइरहेको छ । आठ खेल समाप्तिसम्म ब्राइटनले २३ गोल गरेको छ भने गोलअन्तर १७ बनाएको छ । तेस्रो स्थानमा रहेको ब्राइटनको तुलनामा लिभरपुलको फिनिसिङ कमजोर रहेको विश्लेषकहरूले बताए । विशेषतः उनीहरू इजिप्टका मोहमद सलाहले क्लब छाडेसँगै लिभरपुलको फिनिसिङ लाइन कमजोर भएको मान्छन् । 

सलाह एक दशक लिभरपुलमा गोलको वर्षा हुने गथ्र्यो । सलाहकै प्रदर्शनमा लिभरपुलले दुई दशकपछि युरोपियन च्याम्पियन्स लिग र इंग्लिस प्रिमियर लिग उपाधि हात पारेको थियो । गत सिजन सलाहले अचानक एन्डफिल्ड छाड्ने घोषणा गरे । सलाहको घोषणाले लिभरपुलका समर्थक दुःखी बने । जब फिनिसिङमा सलाह हुन्थे, विपक्षीका डिफेन्डर र गोलरक्षक उनको गोल प्रयास रोक्न फरक रणनीति बनाइरहन्थे ।

अब ती क्लबलाई त्यस किसिमको डर छैन । किनभने सलाह लिभरपुलमा छैनन् । प्रिमियर लिगबाहिर लिभरपुलको प्रतिखेल गोल औसत ३.७५ रहेको छ, तर इंग्लिस प्रिमियर लिगमा भने १.२९ छ । एकै सेटका खेलाडीले च्याम्पियन्स र इंग्लिस प्रिमियर लिगमा किन फरक प्रदर्शन गरिरहेका छन् भन्नेमा प्रश्न छ ।

फिनिसिङ र डिफेन्समा कमजोरी
लिभरपुलले प्रिमियर लिगमा डिफेन्समा कमजोर प्रदर्शन गरेको विश्लेषकले दाबी गरेका छन् । ‘हामीलाई थाहा छैन । एकै टोलीले फरक प्रतियोगितामा किन गोल गर्न सकिरहेका छैनन् । च्याम्पियन्स लिगमा उनीहरूको फिनिसिङ बलियो छ, तर प्रिमियर लिगमा फितलो छ,’ इंग्ल्यान्डका पूर्वखेलाडी रायन गिग्सले भनेका छन्, ‘भिल्लारियल र एट्लेटिको म्याड्रिडबिचको खेल हेर्यौँ भने फिनिसिङ सर्वाधिक बलियो देखिएको थियो ।’ उनले डिफेन्स कमजोर बनाउँदा प्रिमियर लिगमा विपक्षी टोलीले गोल गर्ने अवसर पाएको बताए ।

‘इंग्लिस प्रिमियर लिगमा स्कोर गर्न गाह्रो देखिन्छ । यसको एउटै कारण हुन सक्छ– त्यहाँ एक टोलीले अर्कोका बारेमा राम्रोसँग जानकारी लिएको हुन्छ,’ गिग्सले भने, ‘अझ डिफेन्समा बारम्बार गल्ती गरिरहेको छ ।’ 

लिभरपुलले च्याम्पियन्स र प्रिमियर लिगमा फरक स्थानमा खेलाडीलाई खेलाएको उनले बताए । यसकारण पनि खेलाडीहरूले आ–आफ्नो पोजिसनमा गतिलो प्रदर्शन गर्न नसकेको गिग्सको भनाइ छ । यसैगरी लिभरपुलका प्रशिक्षक इराओलाले प्रिमियरभन्दा च्याम्पियन्स लिगमा केन्द्रित गरेको आरोप गिग्सले लगाएका छन् । ‘पछिल्लो समयमा लिभरपुलका प्रशिक्षकले प्रिमियर लिगलाई त्यति ध्यान दिएजस्तो लाग्दैन । उनले च्याम्पियन्स लिग जित्ने गरी खेलाडीलाई खेलाइरहेका छन्,’ गिग्सले भने, ‘यसकारण च्याम्पियन्स लिगमा लिभरपुल अपराजित छ ।’

सुझावित समाचार