काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अनुचित दबाबमा नपरी काम गर्न प्रहरीलाई निर्देशन दिएका छन्। प्रहरी निरीक्षकको आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले भेदभाव नगरी प्रहरीले सेवा दिन्छ भन्ने अनुभूति नागरिकले महसुस गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘सधैँ अग्रभागमा खटिएर देशमा निरन्तर शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र कुनै पनि संकट आउँदा नागरिकको जीउधनको रक्षा गर्ने मुख्य जिम्मेवारी नेपाल प्रहरीको रहेकोले यो महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी, भेदभाव नगरी, आफ्नो कर्तव्यमा अडिग रही नेपाल प्रहरीले आफ्नो भूमिका सदैव कुशलतापूर्वक निर्वाह गर्नेछ भन्ने विश्वास आमनागरिकमा अनुभूत हुने गरी काम गर्न आग्रह गर्दछु ।’ 
असल कर्मले भविष्य निर्माण गर्ने भन्दै नैतिकतालाई केन्द्रमा राखेर काम गर्न उनको निर्देशन छ । ‘दीक्षित हुनुहुने प्रहरी साथीहरू, यहाँहरूको असल कर्मले असल भविष्य निर्माण गर्नेछ। मलाई विश्वास छ, यहाँहरू कुनै पनि किसिमको दबाब र प्रभावमा पर्नुहुनेछैन। आफ्नो संगठनका प्रोटोकलविपरीत व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न हुनुहुनेछैन ।’
नैतिकतालाई केन्द्रमा राखेर काम गर्न उनको निर्देशन छ। ‘कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारिता हो,’ प्रधानमन्त्री शाहले भने ।
अपराधका प्रवृत्ति फेरिएको भन्दै उनले अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रमाणमुखी अनुसन्धानका लागि सूचना प्रविधिको सदुपयोग गर्नमा जोड दिए । स्रोत साधनमा प्रहरीलाई सहयोग गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।
कार्यक्रममा इन्स्पेक्टरको आधारभूत तालिममा सर्वप्रथम भएका चोपबहादुर डिंगालाई प्रधानमन्त्री शाहले पुरस्कार वितरण गरे । प्रधानमन्त्री शाह प्रहरीको कार्यक्रममा पहिलोपटक सहभागी भएका हुन्।