असोजमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बोलाउन पोखरेलको प्रस्ताव, ओलीसहितका नेताहरूले बिदाइ लिनुपर्ने आवाज

सोमबार, २९ भदौ, २०८३
डिजिटल संस्करण

एमाले महासचिव शंकर पोखरेलले आगामी असोजभित्र राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् आयोजना गरेर पार्टी पुनर्गठन कार्ययोजना पास गर्नुपर्ने प्रस्ताव गरेका छन् । प्रदेशस्तरीय सुझाव संकलनको मतलाई सूत्रीकृत गर्दै पोखरेलले पार्टी पुनर्गठनलाई प्रभावकारी बनाउन चुनावको लज्जास्पद नतिजालाई नैतिक जिम्मेवारीबोध गरेर अध्यक्ष केपी ओलीले पद छोड्नु उपयुक्त हुने सुझाव अगाडि सारेका छन् ।

चुनावको समीक्षा तथा पुनर्गठन कार्यदलका लागि तयार पारेको मस्यौदा प्रतिवेदनमा उनले असोजमा महाधिवेशन प्रतिनिधि परिषद् राखेर पुनर्गठन कार्ययोजना पास गरी पुनर्जागरण अभियान चलाउनुपर्ने प्रस्ताव गरेका छन् । पोखरेलले सात प्रदेश, सम्पर्क समन्वय, प्रवास, राजधानी प्रदेश, केन्द्रीय विभाग र आयोगहरू, केन्द्रीय सल्लाहकार र जनसंगठनको समेत सुझावलाई अनुसूचीमा समावेश गर्दै नेतृत्व हस्तान्तरणलाई विधान संशोधनमार्फत वैधानिक फोरमबाटै सम्बोधन गर्नु उपयुक्त हुने प्रस्ताव गरेका छन् ।

‘पार्टी र सरकारको कामको समीक्षा तथा पार्टी शुद्धीकरण, सुदृढीकरण र रूपान्तरणसहितको पार्टी पुनर्गठनको कार्ययोजना कार्यान्वयनका लागि राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक असोजमा आयोजना गर्ने,’ प्रस्तावमा छ, ‘उक्त बैठकबाट पार्टी पुनर्गठनको कार्ययोजना पारित गरी नयाँ योजना र संकल्पका साथ पार्टी पुनर्जारणको अभियानलाई तीव्रताका साथ अघि बढाउने । महाधिवेशन प्रतिनिधि परिषद्को बैठक सम्पन्न भएलगत्तै सोही बैठकलाई विधान महाधिवेशनमा रूपान्तरण गर्ने र विधान संशोधन गर्ने ।’ 

पुनर्गठनको औचित्यमा जोड दिँदै पोखरेलले त्यसबाटै एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सकिने विश्वास पनि व्यक्त गरेका छन् । ‘निर्वाचनमा भएको हारले पार्टी जीवनमा गम्भीर धक्का लागेकै छ । पार्टीले निर्वाचनमा निकै गहिरो पराजयबोध गरेको छ । तर, यस प्रकारको प्रतिकूल अवस्थाका बाबजुद पार्टीले प्राप्त गरेको १४ लाख मत पार्टी पुनर्जारणको महत्वपूर्ण आधार हो । पार्टीको पुनर्जागरणका लागि शुद्धीकरण, सुदृढीकरण र रूपान्तरणसहितको पार्टी पुनर्गठनको कार्ययोजना कार्यान्वयन गर्नुपर्दछ । प्रस्तावित पार्टी पुनर्गठनको कार्ययोजनालाई प्रभावकारी ढंगले अघि बढाउने हो भने पार्टीलाई वैचारिक, राजनीतिक र सांगठनिक रूपमा एकताबद्ध बनाउँदै पार्टीलाई राष्ट्र निर्माणको निर्णायक शक्तिमा बदल्न सकिन्छ,’ उनले भनेका छन् ।

तर, पोखरेलको त्यस्तो प्रस्तावलाई चुनौती दिँदै कार्यदल संयोजक रामबहादुर थापा बादलले विदेशी शक्तिको षड्यन्त्र, अल्गोरिदम र घेराबन्दीलगायतले अध्यक्ष ओलीलाई सत्ताबाट हटाइएकाले नेतृत्व हेरफेरको कुनै औचित्य नभएको भन्दै अलग प्रतिवेदन कार्यदलमा प्रस्तुत गरेपछि विवाद भएको छ । पोखरेल र बादल दुवैको प्रतिवेदनलाई एकीकृत रूप दिन शनिबारबाट काभ्रेस्थित बल्थली रिसोर्टमा कार्यदल बैठक चलिरहेको छ । यसबाहेक नीति, विधि र नेतृत्वको समग्र विषयको समीक्षासहितको पुनर्गठनको योजना कार्यान्वयनका लागि विधान महाधिवेशन, विशेष महाधिवेशन, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को शीघ्र महाधिवेशनमध्ये कुनै एक अनिवार्य रहेको सुझाव महत्वका साथ आएको छ । 

पार्टीभित्र अध्यक्ष ओलीले पार्टीमा सुधार र रूपान्तरणका लागि पद छाडेर अभिभावकीय भूमिकामा बसिदिए उपयुक्त हुन्थ्यो भन्ने मत बलियो बन्दै गएकोसमेत पोखरेलले प्रतिवेदनमा प्रस्ट्याएका छन् । ‘विगतमा हाम्रो पार्टीले नेतृत्व निर्माण र हस्तान्तरणको सही विधि बनाएको थियो । त्यसलाई परिवर्तन गर्न पुग्दा समस्या आएको अनुभूति पार्टीपंक्तिमा छ । यस प्रकारको स्थितिमा सुधारका लागि पार्टी अध्यक्षले अभिभावकीय वा संरक्षकको भूमिकामा बसिदिए हुन्थ्यो भन्ने भावना कार्यकर्तापंक्तिमा प्रबल बन्दै गएको छ,’ उनले लेखेका छन् ।

सल्लाहकार परिषददेखि प्रवास कमिटीसम्म ओलीको विपक्षमा

सल्लाहकार परिषद् : पार्टीको ‘ओलीकरण’ बन्द गर्नुपर्छ 

  • पार्टीको ओलीकरण भएको छ र पार्टीको काम भनेकै नेताको चाप्लुसी गर्नेजस्तो बन्न पुगेको छ । पार्टीभित्रका आर्थिक र यौनकाण्डहरूको छानबिन गर्न माग गर्दा पनि मानिएको छैन । 
  • विवादास्पद इन्ट्री र चन्दा प्रकरण : दुर्गा प्रसाईंलाई सोझै केन्द्रमा पुर्‍याउनु, मीनबहादुर गुरुङबाट खुलमखुला चन्दा र जग्गा लिनुजस्ता कार्यले पार्टीको छवि धूमिल बनाएको छ । ‘ओली कुटी’ प्रोजेक्ट : ‘ओली कुटी’जस्ता प्रोजेक्टले पार्टीको छविमा थप संकट पैदा गरिरहेको छ ।

केन्द्रीय आयोग र विभागहरू : ओलीको तत्काल राजीनामा 

  • निर्वाचनको ऐतिहासिक हार र सांगठनिक विकृतिको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षले तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्दछ र नयाँ नेतृत्वका लागि प्रस्ताव अघि सार्नुपर्दछ । ग्रेसफुल एक्जिट (सम्मानजनक बहिर्गमन) : जबर्जस्ती कसैलाई निकाल्ने भन्दा पनि संरचनाले थेग्ने गरी शीर्ष नेताहरूका लागि ‘ग्रेसफुल एक्जिट’को बाटो रोजिनुपर्छ ।

सम्पर्क समन्वय : योग्यता र क्षमताका आधारमा नयाँ अनुहार 

  • पार्टीको माथिल्लो तहदेखि स्थानीय तहसम्म युवाहरूलाई केवल कार्यकर्ताका रूपमा मात्र नभई ‘निर्णायक भूमिका’मा स्थापित गरिनुपर्ने र क्षमता एवं योग्यताका आधारमा नयाँ अनुहारलाई अघि बढाउनुपर्छ । 

प्रवास : तेस्रो पुस्ताका लागि सबैबाट मार्गप्रशस्त जरुरी 

  • पुस्तान्तरण, उमेरहद र कार्यकाल सीमा या उमेरहद र कार्यकालको पुनरावृत्ति : पार्टी विधानमा ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्थालाई पुनः लागू गरिनुपर्छ । नेतृत्व हस्तान्तरण र त्याग : पुराना तथा लामो समय नेतृत्वमा रहेका नेताहरूले नयाँ र तेस्रो पुस्ताका लागि त्याग गरी मार्गप्रशस्त गर्नुपर्छ ।
See More On

सुझावित समाचार