काठमाडौं/ सशस्त्र प्रहरी बलको पोसाक दुरुपयोग गर्नेमाथि अनुसन्धान सुरु भएको छ । सशस्त्र प्रहरी बलको उजुरीका आधारमा साइबर ब्युरोले अनुसन्धान थालेको हो ।
सशस्त्र प्रहरी बल, नेपालको कम्ब्याट ड्रेसको पाइन्ट लगाई सडक पेटीमा सुतिरहेको व्यक्तिको भिडियो बनाई विभिन्न सामाजिक सञ्जाल अपलोड भएपछि सशस्त्र प्रहरीले आन्तरिक छानबिन गरेको थियो । छानबिनमा ती व्यक्ति संगठनका कर्मचारी नभएको खुलेपछि प्रहरीमाथि अनुसन्धान अघि बढेको हो । सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भिडियोमा देखिएका व्यक्तिले सशस्त्र प्रहरी बल, नेपालको कम्ब्याटको अर्ध पोसाक लगाई संगठनको पोसाकको दुरुपयोग गरेको र निज व्यक्तिलाई सशस्त्र प्रहरी बल, नेपालको सुरक्षाकर्मीका रूपमा चित्रण गर्दै वास्तविकता नबुझी सामाजिक सञ्जालमा विभिन्न भ्रामक सामग्री तथा टिप्पणीहरू प्रसारित हुँदा आमनागरिकमा भ्रम सिर्जना हुन सक्ने देखिएकोले संगठनको पोसाक दुरुपयोग गर्ने व्यक्ति तथा उक्त गतिविधिको भिडियो बनाएर विभिन्न सामाजिक सञ्जालमा प्रसारण गर्ने व्यक्तिहरूविरुद्ध प्रचलित कानुनबमोजिम आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।’
भ्रामक भिडियोलाई सशस्त्र प्रहरी बल, नेपालसँग जोडेर नबुझिदिनुहुन सर्वसाधारणलाई सशस्त्र प्रहरीले अनुरोध गरेको छ।