न्यायाधीशको आचरणबारे निष्पक्ष छानबिन होस्ः नेपाल बार

बिहिबार, १२ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं/ बिचौलिया र न्यायाधीशको संवाद र भेटघाटबारे निष्पक्ष छानबिन गर्न नेपाल बार एसोसिएसनले माग गरेको छ । सर्वाेच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र बिचौलिया इनम सापकोटाबिचको संवाद बाहिरिएपछि बारले आफ्नो धारणा सार्वजनिक गरेको हो । 

‘सार्वजनिक भएका समाचारमा उल्लिखित आरोप तथा विवरणलाई नै अन्तिम सत्य वा कुनै व्यक्तिविरुद्धमा दोष नै प्रमाणित भइसकेको निष्कर्षका रूपमा नेपाल बार एसोसिएसनले लिन मिल्दैन,’ महासचिव केदार कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रत्येक व्यक्तिलाई निष्पक्ष छानबिन, आफ्नो धारणा प्रस्तुत गर्ने अवसर र प्रचलित कानुनबमोजिमको न्यायिक प्रक्रियाको पूर्ण प्रत्याभूति हुनुपर्छ भन्ने मान्यता यस एसोसिएसनको दृढ धारणा हो। तथापि, न्यायपालिकाको उच्च नेतृत्व तथा न्यायाधीशहरूको आचरणसँग सम्बन्धित विषयमा सार्वजनिक रूपमा गम्भीर प्रश्न उठेपछि त्यसलाई केवल सञ्चारमाध्यममा आएका समाचारका रूपमा सीमित राख्नु पनि उचित नहुने नेबाएको मान्यता रहेको छ। यस्तो संवेदनशील विषयका सम्बन्धमा सत्यतथ्य, निष्पक्ष, विश्वसनीय र पारदर्शी प्रक्रियाबाट छानबिन हुन आवश्यक छ।’ 

न्यायाधीश फुयाल र थुनामा रहेका बिचौलिया सापकोटाबिचको संवाद बिहीबार नयाँ पत्रिकाले सार्वजनिक गरेको थियो । 

प्रधानन्यायाधीशसँग सम्बन्धित समाचारको पनि गम्भीर सार्वजनिक चासो उत्पन्न गरेकाले यसलाई समाचारका रूपमा सीमित राख्नु पनि उचित नहुने नेबाएको मान्यता रहेको उल्लेख गरेको छ । 

 प्रधानन्यायाधीश मनोजकुमार शर्माले भने विज्ञप्ति प्रकाशन गरी इनामसँग आफ्नो कुनै सम्बन्ध र सम्पर्क नरहेको दाबी गरेका छन्। 

उता, न्यायाधीश फुयालले भने सापकोटासँग आफ्नो सम्पर्क र भेटघाट भएको स्वीकार गरेका छन् । बिहीबार केही पत्रकारहरूसँगको कुराकानीमा सापकोटाले आफू प्रधानमन्त्रीको मान्छे भएको र महाभियोगको त्रास देखाएर विभिन्न मुद्दामा दबाब दिएको बताएका छन् । तर, सापकोटाका गतिविधि शंकास्पद लागेपछि आफूले नै प्रधानमन्त्रीको सचिवालय र प्रहरीलाई खबर गरेको उनको दाबी छ। 
 

सुझावित समाचार