ठमेलमा बलात्कार गरेको अभियोगमा सेनाका मेजर पक्राउ

आइतबार, १८ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ बलात्कार मुद्दामा नेपाली सेनाका मेजर पक्राउ परेका छन्। प्रहरी वृत्त दरबारमार्गले एक साताअघि मेजर अनिलबहादुर बस्नेतलाई पक्राउ गरेको हो। 
घटना गत ३ असोजको हो। पीडित युवती नेपाली मूलकी विदेशी नागरिक हुन्। 

 प्रहरी स्रोतका अनुसार ठमेलको एक रेस्टुरेन्टमा राति अबेरसम्म युवक–युवती बसेका थिए। दुवैजना करिब तीन बजे ठमेलको ज्याठास्थित एक होटेलमा गएको देखिन्छ। युवक बिहान ६ बजे निस्किएकामा युवती भने दिउँसो मात्र निस्किएकी थिइन्। सोही बिहान आफूमाथि बलात्कार भएको युवतीको जाहेरी छ। 

प्रहरी स्रोतका अनुसार घटनाको तीन दिनपछि युवतीले जाहेरी दिएकी थिइन्। जाहेरी परेपछि प्रहरीले पक्राउ पुर्जी लिई बस्नेतलाई पक्राउ गरेको हो । 
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले अभियुक्त बस्नेत सेनाको मेजर भए–नभएको आधिकारिक रूपमा बुझ्न नेपाली सेनालाई पत्राचार भए पनि जवाफ आइनसकेको बताए। 
अनुसन्धानको क्रममा केही दिनअघि मात्र युवक र युवतीबिच चिनजान भएको देखिन्छ। रेस्टुरेन्टमै भएको चिनजानपछि उनीहरू होटेलमा पुगेका थिए। 
 

सुझावित समाचार