काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरानिकट इनाम सापकोटाको मोबाइलमा भेटिएका केही गोप्य सन्देशपछि सरकारले सशस्त्र प्रहरी बलका एआइजी वंशीराज दाहाललाई निलम्बन गरेको खुलेको छ। सापकोटालाई दाहालले सुरक्षासँग सम्बन्धित कतिपय गोप्य विवरण पठाएका थिए ।
बिचौलियाका रूपमा काम गर्ने सापकोटालाई प्रहरीले पक्राउ गरी केही दिनयता अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद लिएर सापकोटामाथि अनुसन्धान गरिरहेको छ। उनको मोबाइल र ल्यापटपमा एआइजी दाहालसँग बारम्बार कुरा हुने गरेको र त्यसमा प्रधानमन्त्रीका गतिविधिबारे समेत उनलाई जानकारी गराउने गरेको भेटिएको गृह मन्त्रालय स्रोत बताउँछ । सोही अधारमा गृह मन्त्रालयले सोमबार उनलाई निलम्बन गरी जाँचबुझ थालेको हो। एआइजी अञ्जनीकुमार पोखरेललाई जाँचबुझ अधिकृत तोक्दै तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।
चोलेन्द्र र वंशी नातेदार हुन्। चोलेन्द्रलाई गत ११ असोजमा प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गरेर छाडेको थियो । त्यसपछि सुरक्षा निकायका कतिपय गोप्य सूचनासमेत उनले सापकोटामार्फत चोलेन्द्रलाई पठाएको भेटिएपछि एआइजी दाहाल पनि गम्भीर छानबिनमा तानिएका हुन्। छानबिन प्रतिवेदनका आधारमा उनीमाथि फौजदारी मुद्दासमेत आकर्षित हुन सक्ने गृह मन्त्रालयका एक अधिकारी बताउँछन् ।
एआइजी दाहालको पदावधि थपका लागि गत साता मात्र प्रक्रिया अघि बढेको थियो। एआइजीका रूपमा उनको चार वर्ष पदावधि आगामी २८ असोजमा सकिँदै छ । एआइजीको पदावधि सरकारले एक वर्ष थप्न सक्ने प्रावधान छ । अब गम्भीर छानबिनमा तानिएपछि उनको म्याद थप हुने सम्भावना नरहेको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् ।