१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २३ आइतबार
  • Monday, 16 September, 2024
२o८१ भदौ २३ आइतबार o७:o९:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

६ अर्ब लागतमा बनेको गेटा अस्पतालको व्यथा : आकस्मिक कक्ष र आइसियू सेवा नभएकाले डेढ महिनामा एकजना बिरामी पनि भर्ना भएनन्

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २३ आइतबार o७:o९:oo

धेरै अस्पतालमा बिरामीले समयमै गुणस्तरीय सेवा पाउन नसकेको गुनासो हुन्छ । तर, कैलालीको गेटा अस्पतालको अर्कै छ व्यथा । यहाँ अस्पतालले उपचारका लागि बिरामी पाउन सकेको छैन ।

करिब १० महिनादेखि बहिरंग (ओपिडी) सेवा दिँदै आएको अस्पतालले गत ३२ साउनबाट बिरामी भर्ना गरेर उपचार गर्न सकिने गरी सेवा सुरु गरेको थियो । तर, हालसम्म एकजना बिरामी पनि अस्पतालमा भर्ना भएका छैनन् । नजिकै रहेको धनगढीका सरकारी र निजी अस्पतालमा बिरामीको चाप हुँदा गेटामा भने उपलब्ध सेवा लिने बिरामी छैनन् । बिरामी राख्न बनाइएका शय्या खाली छन् ।

अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले बहिरंग सेवा सुरु गरेदेखि हालसम्म भर्ना गरेर उपचार गर्नुपर्ने बिरामी नआएको बताए । ‘सेवा दिन तयार छौँ, तर अहिलेसम्म भर्ना गर्नुपर्ने बिरामी आएका छैनन्,’ उनले भने । 

मेडिकल कलेजका लागि निर्मित संरचनामा सरकारले गत वर्ष कात्तिकबाट ५० शय्याको अस्पताल सञ्चालनमा ल्याएको थियो । अस्पतालले सुरुबाट ओपिडी सेवा दिँदै आएकोमा गत ३२ साउनबाट अन्तरंग सेवा पनि सुरु गरेको हो । ओपिडीमा दैनिक ४० देखि ४५ जनासम्म बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । अन्तरंग सेवाका लागि ३५ शय्या छुट्याइएका छन् ।

अस्पतालमा मध्यम खालको शल्यक्रिया गर्ने सुविधा छ, तर हालसम्म एकजनाले पनि शल्यक्रिया गरेका छैनन् । अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला र केही विशेषज्ञ सेवा उपलब्ध छ । अत्याधुनिक मेसिनबाट सबै प्रकारका अल्ट्रासाउन्ड, इसिजी, भिडियो एक्सरे, लिभर, किड्नी, थाइराइड, सुगर जाँचलगायत प्रयोगशालाको सुविधा अस्पतालमा छ । एक महिनाअघि इन्डोस्कोपी सेवा पनि सुरु गरिएको सूचना अधिकारी कार्कीले बताए । प्रयोगशालामा सेवा लिनेको संख्या पनि न्यून छ । गेटामा फिजियोथेरापी सेवा पनि सुरु गरिएको छ ।    

ओपिडीमा आउनेमध्ये अधिकांश ज्वरो, रुघाखोकी, पेट, टाउको तथा दाँत दुखेको, सुगरको बिरामी रहने गरेको अस्पतालले जनाएको छ । ‘यहाँ आउनेमध्ये धेरैजसो बिरामी नजिककै हुन्छन्, पहाडी जिल्लाबाट आउने बिरामीको संख्या कम छ,’ कार्कीले भने, ‘उपचार सेवाबारे थाहा नपाएर पनि बिरामी कम आएका होलान् ।’ फिजिसियन, हाडजोर्नी, जनरल सर्जरी, रेडियोलोजी, एनेस्थेसिया, डेन्टल, गर्भवती जाँचलगायत सेवा यहाँ उपलब्ध छन् । अस्पतालमा हाल आठजना विशेषज्ञसहित १३ जना चिकित्सक, ६ जना पारामेडिक्स, २३ जना नर्सलगायत ७१ जना कर्मचारी कार्यरत छन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विप्लव सापकोटाले आकस्मिक कक्ष र आइसियू सेवा नभएकाले पनि बिरामी भर्ना हुन नसकेको बताए । उनले आगामी कात्तिकबाट आकस्मिक सेवा सुरु गर्ने तयारी रहेको जानकारी दिए । ‘इमर्जेन्सी सेवाबाटै बिरामी भर्ना हुने हो । अहिले आइसियू पनि छैन,’ उनले भने, ‘सेवाबारे थाहा नभएर पनि बिरामी कम आएका हुन् ।’ आइसियू सेवा सुरु भए जटिल बिरामी पनि भर्ना लिन सकिने अस्पतालले जनाएको छ ।

६ सय शय्याको संरचनामा ५० शय्याको अस्पताल
गेटामा मेडिकल कलेजका नाममा करिब ६ अर्ब लागतका संरचना निर्माण गरिएका छन् । ६ सय शय्याको अस्पताल र मेडिकल कक्षा सञ्चालन गर्न सकिने पूर्वाधार दुई वर्षअघि नै तयार छ । तर, गेटामा हाल ५० शय्यामा मात्र अस्पताल सञ्चालनमा छ । त्यसमा पनि स्वीकृति दरबन्दीअनुसार जनशक्ति छैन । उपकरण जडान हुने क्रममा रहेकाले सबै सेवा उपलब्ध छैनन् । अर्कोतिर उपलब्ध सेवामा पनि बिरामी छैनन् । 

५० शय्याका लागि १४१ जनाको दरबन्दी स्वीकृत भएकोमा हाल ७१ जना मात्र कार्यरत रहेका सूचना अधिकारी कार्कीले बताए । गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक वैकुण्ठ सुवेदीका अनुसार करिब ६ अर्बका संरचना तयार भइसकेका छन् भने खानेपानी र भित्री सडक निर्माणको काम भइरहेको छ । फोहोरमैला व्यवस्थापन केन्द्रबाहेक पूर्वाधार निर्माणको काम लगभग पूरा भएको उनले बताए ।

सरकारले गत वर्षको नीति तथा कार्यक्रममा गेटामा सय शय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरेकोमा स्वास्थ्य मन्त्रालयले भने ५० शय्याको मात्र स्वीकृति दिएको छ । सरकारले मेडिकल कलेजका नाममा पूर्वाधार निर्माण गरेको हो । मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान वा मेडिकल विश्वविद्यालय कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषयमा लामो समयको अन्योल चिर्दै सरकारले गत वर्ष गेटामा मेडिकल विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । त्यसका लागि ऐन निर्माणको प्रक्रियामा छ । तर, विश्वविद्यालयका लागि आवश्यक पर्ने तीन सय शय्याको अस्पताल सञ्चालन गरेर सुदूरपश्चिमका नागरिकलाई स्तरीय स्वास्थ्य सेवा दिनेतर्फ सरकारले ध्यान दिन सकेको छैन ।

६ सय शय्याको अस्पताल र मेडिकल कक्षा सञ्चालन गर्न सक्ने पूर्वाधार तयार भए पनि ५० शय्याको अस्पताल सञ्चालन गरेर यहाँका नागरिकलाई झुक्याउने काम भएको भन्दै सामाजिक स्तरमा विरोध हुँदै आएको छ । ‘चिकित्सा शिक्षा अध्यापनका लागि तीन सय शय्याको अस्पताल तीन वर्ष सञ्चालन भएको हुनुपर्ने नियम छ,’ वरिष्ठ चिकित्सक डा. गणेशबहादुर सिंहले भने, ‘गेटामा चिकित्सा शिक्षा अध्यापन गराउने हो भने अहिले नै तीन सय शय्याको अस्पताल सुरु गर्नुपर्छ ।’ उनले विशेषज्ञ सेवासहितको अस्पताल मात्र सुरु भए सुदूरपश्चिमका धेरै नागरिकले सेवा पाउने बताए ।

भौतिक संरचना बने पनि अस्पताल सञ्चालनमा सरकारले ध्यान दिन नसकेको सिंहले बताए । ‘अहिले यहाँका नागरिकलाई चिकित्सा शिक्षाभन्दा पनि उपचार सुविधा चाहिएको छ,’ उनले भने, ‘सय शय्यामा पनि जलन, मुटुरोग, मिर्गौला प्रत्यारोपणलगायत सुदूरपश्चिममा नभएका सेवा सुरु गर्न सके नागरिकले सेवा पाउने थिए ।’

गेटा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सापकोटाले यसै वर्ष तीन सय शय्याको अस्पताल सञ्चालनको अनुमतिका लागि स्वास्थ्य मन्त्रालयलाई पत्र पठाइएको बताए । त्यसका लागि ११२ जना विशेषज्ञ चिकित्सकसहित २२० जना चिकित्सकलगायत एक हजार ३७३ जना कर्मचारी माग गरिएको बताए । उनले अस्पतालमा उपकरण जडान हुने क्रममा रहेकाले ५० शय्यामा पनि सेवा विस्तार गर्दै लगिएको बताए । 

३५ शय्याको आइसियू, अत्याधुनिक एक्सरे, स्तन क्यान्सर पत्ता लगाउने मेमोग्राफ, ल्याबलगायत उपकरण जडानका क्रममा रहेको डा. सापकोटाले बताए । अस्पतालमा निःसन्तान सेवा पनि यसै वर्ष सुरु गर्ने तयारी रहेको उनले बताए । अस्पतालले भ्याटबाहेक ६५ करोड लागतमा खरिद गरेका उपकरणमध्ये केही जडान हुने क्रममा रहेको जनाएको छ ।