१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २४ सोमबार
  • Tuesday, 17 September, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ भदौ २४ सोमबार o६:१८:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

वरीयता मिचेर ‘आफ्ना’लाई नियुक्ति, अपमान भएपछि ओलम्पियन संगिनाले दिइन् राजीनामा 

उपनिर्देशक संगिना वैद्यलाई पन्छाएर राखेप तालिम तथा प्रशिक्षण विभाग निर्देशकमा कोशी प्रदेश नायब वरिष्ठ प्रशिक्षक सोभितराज प्रसाईं नियुक्त

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २४ सोमबार o६:१८:oo

सरकारले तल्लो वरीयताका अर्का व्यक्तिलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) तालिम तथा प्रशिक्षण विभाग निर्देशकमा नियुक्ति गरेपछि तेक्वान्दोकी संगिना वैद्यले उपनिर्देशक पदबाट राजीनामा दिएकी छिन् । सम्मान र प्रोत्साहनको सट्टा सरकारले अपमान गरेपछि कीर्तिमानी खेलाडी वैद्य राजीनामा दिन बाध्य भएकी हुन् । वैद्य सन् २००४ को ग्रिस ओलम्पिकमा छनोट चरण पार गर्दै ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुन् । 

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ठाडो हस्तक्षेप गर्दै वैद्यभन्दा तल्लो वरीयता (कोशी प्रदेश नायब वरिष्ठ प्रशिक्षक) सोभितराज प्रसाईंलाई निर्देशक बनाएका छन् । राखेपको ६१ वर्षे इतिहासमा हालसम्म यस्तो हस्तक्षेप भएको थिएन । 
आइतबारै वैद्यले राखेप सदस्यसचिव टंकलाल घिसिङलाई राजीनामापत्र बुझाएकी छिन् । ‘मप्रति गरेको अपमानका कारण बाध्य भएर उपनिर्देशकबाट राजीनामा दिएको हो । नियम र कानुनअनुसार जाने हो भने निर्देशक बन्ने मेरो पालो थियो । तर, राज्यले नै हस्तक्षेप गरेर मभन्दा जुनियर ल्यायो । त्यसपछि सोही पदमा बस्न ठिक लागेन र राजीनामा दिएँ । राज्यले पहिलोपटक महिला निर्देशक पाउँदै थियो । तर, यहाँ हस्तक्षेप भयो,’ उनले नयाँ पत्रिकासँग भनिन् ।

यदि निर्देशक पदमा नियुक्त भएको भए कीर्तिमानी वैद्य तालिम तथा प्रशिक्षक विभाग प्रमुख बन्ने पहिलो महिला हुने थिइन् । वैद्यले आफ्नो सेवावधि सकिन आठ वर्षअघि नै पदबाट राजीनामा दिएकी छिन् ।मन्त्रीकै ठाडो निर्देशनपछि सदस्यसचिव घिसिङले शुक्रबार नै प्रसाईंलाई नियुक्ति–पत्र दिएका छन् । दवावकै कारण नियुक्तिको विषयमा राखेप सदस्यसचिव घिसिङले ‘केही नबोल्ने’ प्रतिक्रिया दिए । 

कोशी प्रदेशमा कराँते प्रशिक्षण गराइरहेका प्रसाईंलाई कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाको दबाबमा मन्त्री चौधरीले निर्देशक बनाएको आरोप छ । तर, प्रसाईंले आफूले निर्देशक बन्न हस्तक्षेप नगरेको दाबी गरेका छन् । ‘मैले हस्तक्षेप गरेर निर्देशक पद लिएको हैन । योग्यताअनुसार नै पाएको छु । संगिनाभन्दा पनि म सिनियर भएको दाबी गर्छु । त्यसका लागि राखेपमा गएर कागजपत्र हेर्नुहोला । सबै कागज र प्रक्रिया हेरेर नै सदस्यसचिव र मन्त्रीज्यूले नियुक्त गर्नुभएको छ । मलाई मिडियाबाजी गर्न मन पर्दैन । शुक्रबार नै मैले नियुक्ति–पत्र लिइसकेको छु । अब, चाँडै कार्यभार सम्हाल्न काठमाडौं फर्कन्छु,’ उनले नयाँ पत्रिकासँग भने । 

नियुक्तिका आधारमा पनि प्रसाईं वैद्यभन्दा एक महिना पछाडि छन् । यसअघि वैद्यले ३० भदौ ०५२ मा राखेपमा नियुक्ति पाएकी थिइन् भने उनको बढुवा २१ पुस ०६३ मा भएको थियो । विराटनगरका प्रसाईंको नियुक्ति १ असोज ०५२ मा भएको थियो । बढुवा २६ पुस ०६४ मा भएको हो । प्रसाईंको सेवावधि ०८२ वैशाखसम्म मात्रै छ ।

अघिल्लो साता सेवा निवृत्त भएपछि विभागका निर्देशक बक्सिङका वरिष्ठ प्रशिक्षक प्रचण्ड शर्माको बिदाइ भएको थियो । यसपछि उपनिर्देशक रहेका वैद्य र विष्णुबहादुर सिंहमध्ये एकको बढुवा हुनुपर्ने थियो । तर, मन्त्री तेजुलाल चौधरीले ठाडो हस्तक्षेप गर्दै कोशी प्रदेशमा कार्यरत प्रसाईंलाई नियुिक्त दिलाएका हुन् । 

मन्त्री चौधरीले नियुक्ति प्रक्रियामा आफ्नो केही नचल्ने र सिनियर कोही भए निर्देशक बन्न पाउने बताए । ‘नियुक्ति प्रक्रियामा मेरो केही चल्दैन, नियुक्ति–बढुवा सबै काम सदस्यसचिवको हो । मैले उहाँलाई सिनियरअनुसार निर्देशक चाहियो भनेर निर्देशन गरेको छु । मलाई को सिनियर थाहा हुँदैन, उपनिर्देशक नै निर्देशक हुनुपर्छ मात्रै थाहा छ,’ उनले भने, ‘सिनियर कोही छ भने निर्देशक बन्न पाउँछ । नयाँ आउनेको पनि ६ महिनापछि जिम्मेवारी सकिन्छ ।सदस्य सचिवलाई मिलाएर जानुस् भनेको हो ।’

सीधै ओलम्पिक छनोट भएकी थिइन् वैद्य
सन् २००४ को ग्रिस ओलम्पिकमा छनोट चरण पार गर्दै ओलम्पिक खेल्ने तेक्वान्दोकी संगिना पहिलो खेलाडी हुन् । त्यसपछि मात्रै सन् २००८ मा सीधै छनोटबाटै ओलम्पिकमा स्थान बनाएकी थिइन् । हालै टेबल टेनिसका  स्यान्टु श्रेष्ठले यो उपलब्धि हासिल गरेका थिए ।

सन् १९९९ मा काठमाडौंमा सम्पन्न आठौँ दक्षिण एसियाली महासंघीय खेलकुद (हालको साग) र सन् २००४ पाकिस्तानमा भएको साफमै स्वर्ण पदक जितेकी थिइन् । सन् १९९९ मा स्वर्ण पदक जितेपछि उनी राखेपको प्रशिक्षकका रूपमा प्रवेश गरेकी थिइन् । सन् २००६ मा कोलम्बोमा भएको ११औँ सागमा स्वर्ण पदक जितेकी थिइन् । उनी १९९६ मा भएको १२औँ एसियन तेक्वान्दो च्याम्पियनसिपको स्वर्ण विजेता हुन् ।

राजीनामापछि संगिना वैद्यको गुनासो
राज्यले मेरो अपमान ग
र्‍यो
मप्रति गरेको अपमानका कारण बाध्य भएर उपनिर्देशकबाट राजीनामा दिएकी हुँ । नियम र कानुनअनुसार जाने हो भने निर्देशक बन्ने मेरो पालो थियो । तर, राज्यले नै हस्तक्षेप गरेर मभन्दा जुनियर ल्यायो । त्यसपछि सोही पदमा बस्न ठिक लागेन र राजीनामा दिएँ । राज्यले पहिलोपटक महिला निर्देशक पाउँदै थियो । तर, यहाँ हस्तक्षेप भयो ।

 खेलकुदमन्त्री तेजुलाल चौधरी भन्छन्–सदस्यसचिवलाई मिलाएर जानूस् भनेको हो
नियुक्ति प्रक्रियामा मेरो केही चल्दैन, नियुक्ति–बढुवा सबै काम सदस्यसचिवको हो । मैले उहाँलाई सिनियरअनुसार निर्देशक चाहियो भनेर निर्देशन गरेको छु । मलाई को सिनियर थाहा हुँदैन, उपनिर्देशक नै निर्देशक हुनुपर्छ मात्रै थाहा छ । सिनियर कोही छ भने निर्देशक बन्न पाउँछ । नयाँ आउनेको पनि ६ महिनापछि जिम्मेवारी सकिन्छ । सदस्यसचिवलाई मिलाएर जानुस् भनेको हो ।