१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २३ आइतबार
  • Monday, 16 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २३ आइतबार १५:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वरीयतामा हस्तक्षेप भएपछि उपनिर्देशकबाट संगिना वैद्यले दिइन् राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २३ आइतबार १५:o१:oo

वरीयता मिचेर तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्ति गरेपछि संगिना वैद्यले पदबाट राजीनामा दिएकी छिन्। आइतबार वैद्यले राखेप सदस्यसचिव टंकलाल घिसिङलाई राजीनामापत्र बुझाएकी हुन्।

शुक्रबार युवा तथा खेलकुद मन्त्रालयको ठाडो निर्देशनमा घिसिङले कराँतेका प्रशिक्षक सोवित प्रसाईंलाई निर्देशक नियुक्त गरेका थिए। ‘यो निर्णय मप्रति गरेको अपमान भएर राजीनामा दिएकी हुँ,’ संगिनाले नयाँ पत्रिकासँग बताइन्, ‘नियम र कानुनअनुसार जाने हो भने मेरो पालो थियो। तर, यहाँ हस्तक्षेप गरेर मभन्दा जुनियर ल्याएपछि सोही पदमा बस्न ठिक लागेन।’

अघिल्लो साता सेवानिवृत्त भएपछि विभागका निर्देशक बक्सिङका वरिष्ठ प्रशिक्षक प्रचण्ड शर्माको बिदाइ भएको थियो। यसपछि उपनिर्देशक रहेकी वैद्य र विष्णुबहादुर सिंहमध्ये एकको बढुवा हुनुपर्ने थियो।

तर, मन्त्री तेजुलाल चौधरीले ठाडो हस्तक्षेप गर्दै कोशी प्रदेशबाट प्रसाईलाई नियुक्ति दिलाएका हुन्। प्रसाईं मन्त्री चौधरीनिकट छन्। उनको कार्यकाल ६ महिनामा सकिँदै छ। त्यसअघि मन्त्रीले उनलाई निर्देशक बनाएका हुन्। राखेपबाट नियुक्ति पत्र लिए पनि उनी कार्यालय पुगेका छैनन्।

सन् २००४ को ग्रिस ओलम्पिकमा छनोट चरण पार गर्दै ओलम्पिक खेल्ने संगिना पहिलो खेलाडी हुन्। सन् १९९९ मा काठमाडौंमा सम्पन्न आठौँ दक्षिण एसियाली महासंघीय खेलकुदमा स्वर्ण पदक जितेपछि उनी राखेपको प्रशिक्षकका रूपमा कार्यरत छिन्। यदि निर्देशक पदमा नियुक्त भएको भए वैद्य तालिम तथा प्रशिक्षक विभाग प्रमुख बन्ने पहिलो महिला हुने थिइन्।