१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
रासस/एएनआई
२०७७ कार्तिक २६ बुधबार १२:५८:००
Read Time : < 1 मिनेट
विश्व

बिहारमा तेजस्वीको पार्टी धेरै ठाउँमा विजयी, मुख्यमन्त्री भने नीतीश कुमार नै बन्ने

Read Time : < 1 मिनेट
रासस/एएनआई
२०७७ कार्तिक २६ बुधबार १२:५८:००

भारतको बिहारमा भएको निर्वाचनमा सत्तारुढ दलहरूको गठबन्धनले बहुमत प्राप्त गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) र मुख्यमन्त्री नीतीशकुमारको पार्टी जनता दल युनाइटेड (जेडियू) सहितको राष्ट्रिय लोकतन्त्रवादी गठबन्धन (एनडिए)ले बहुमत प्राप्त गरेको हो । यस गठबन्धनले कुल १२५ सिटमा जित हासिल गरेको छ भने विपक्षी महागठबन्धनले कुल ११० सिट मात्रै हासिल गरेको छ ।

पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वी यादवको नेतृत्वमा रहेको राष्ट्रिय जनता दल (आरजेडी) ७५ सिटसहित सबैभन्दा ठूलो पार्टी बनेको छ ।

दोस्रोमा ७४ सिटसहित भाजपा छ भने मुख्यमन्त्री नीतीशकुमारको जेडियूले केबल ४३ सिट जितेको छ । निर्वाचनको नयाँ नतिजाअनुसार अहिलेका मुख्यमन्त्री नीतीशकुमार नै फेरि मुख्यमन्त्री बन्ने देखिएको छ  । तर, भाजपाको तुलनामा आफ्नो पार्टीसँग निकै कम सिट रहेको स्थितिका कारण नीतीशकुमारलाई चुनौती र खतरा भने निकै छ । 

नीतीशकुमारले आफू बिहारमा अन्तिमपटकका लागि मुख्यमन्त्री हुने यसअघि नै बताइसकेका छन् । तीन कार्यकाल मुख्यमन्त्री भइसकेका नीतीशकुमार अब चौथोपटक मुख्यमन्त्री हुने भएका हुन् ।

नतिजा सार्वजनिक भएसँगै एनडिएका समर्थकहरूले विजय जुलुस निकालिसकेका छन् । उनीहरूले वर्तमान केन्द्रीय तथा राज्य सरकारको समर्थनको रूपमा अहिलेको नतिजालाई व्याख्या गरेका छन् । कुल दुई सय ४३ सिट रहेको बिहार राज्यको विधान सभाका लागि कोरोना भाइरसको महामारीका बीचमा तीन चरणमा निर्वाचन भएको हो । निर्वाचनमा मतदानका लागि एक लाख ६ हजार पाँच सय १५ मतदान केन्द्र तोकिएको थियो भने झन्डै ७५ प्रतिशत मतदाताको सहभागिता रहेको थियो ।