Skip This
इलाम-२ मा करिब ६० प्रतिशत मतदान, आजबाटै गणनाकाे तयारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
२o८१ बैशाख २७ बिहीबार २१:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

इलाम-२ मा करिब ६० प्रतिशत मतदान, आजबाटै गणनाकाे तयारी

मत परिणाम एक घण्टाको फरकमा सार्वजनिक गरिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार २१:१५:oo

इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा ५९ दशमलव ७९ प्रतिशत मत खसेको छ। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रको विवरण आइसकेको र कुल ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मतदान भएको जानकारी गराएकाे छ।

कार्यालयका अनुसार ३५ हजार एक सय ३५ पुरुष, ३४ हजार एक सय ५० महिला र अन्य दुईले मतदान गरेका छन्। सो क्षेत्रमा ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई अन्यसहित एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए। २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाममा ५७ दशमलव ४४ प्रतिशत मत खसेको थियो। 

इलाम–२ मा ७९ मतदानस्थलमा एक सय ४९ मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान भएको थियो। उपनिर्वाचन शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।   

उनका अनुसार मतगणना आज रातिबाट सुरु गर्ने तयारी छ। आज राति १०–११ बजेसम्ममा सबैतिरबाट मतपेटिका ल्याइसक्ने अपेक्षा मुख्य निर्वाचन अधिकृतको कार्यालयको छ। 

चाँडो मतपेटिका आए सर्वदलीय बैठक बसेर आजै रातिबाट मतगणना गरिने प्रजिअ यादवले बताए। सदरमुकामबाट टाढाका पालिका चुलाचुली, माङसेबुङ, फाकफोकथुम गाउँपालिकाबाट मतपेटिका ल्याउन समय लाग्नेछ।

मतगणनाका लागि इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृह (सिटी हल) तयार गरिएको छ। सिटी हलको एक कोठामा तार जाली लगाएर गणक मात्र भित्र बस्न मिल्ने बनाइएको छ। 

मतपेटिका भण्डारणका लागि सभाहलको भित्री भाग तयार गरिएको छ। यस्तै, प्रतिनिधिलाई बाहिर बस्ने ठाउँ मिलाइएको छ। मतगणनास्थलमा ११ वटा सिसिक्यामेरा जडान गरिएको छ। 

मतगणनास्थलमा भिडभाड हुन नदिन चोक बजारमा रहेको डिस्प्लेमा मतगणनाको परिणाम देखाइने भएको छ। यसका लागि प्राविधिक तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ। मतपरिणाम एक घण्टाको फरकमा सार्वजनिक गर्ने तयारी छ।
 
२०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो। उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन्। 
 

ad
ad