१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार १७:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

१२६ स्टेसनमा वर्षा मापन, निभायो देशभरको डढेलो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १७:२५:oo

विपतको अवस्थामा पुगेको एक महिनादेखिको डढेलो वर्षाले निभाएको छ। दैनिक पाँच सय स्थानसम्म डढेलो लाग्दा वायु प्रदूषण बढ्नुका साथै वनजंगल र बस्तीमा समेत क्षति बढिरहेको थियो।

तर, यो साता हरेक दिनजसो वर्षा हुँदा अधिकांश स्थानको डढेलो निभाएको हो। नासाको स्याटलाइट तस्बिर हेर्दा बिहीबार कैलालीको जोशीपुर र कैलारी गाउँपालिकामा एउटा–एउटा डढेलो देखिन्छ। 

त्यस्तै, बर्दियाको राजापुर क्षेत्रको जंगलमा पनि डढेलो छ। त्यसबाहेक ठूलाे डढेलो (कम्तीमा एक किलोमिटर क्षेत्रमा फैलिएको) निभेको देखिन्छ। जब कि गत बिहीबार पाँच सय ५२ स्थानमा डढेलो थियो। केही ठाउँमा हल्का वर्षा हुँदा गत शुक्रबार तीन सय ८८ मा झरेकामा शनिबार दुई सय ३८ ठाउँमा डढेलो थियो।

१४९ वर्षा मापन केन्द्रमध्ये पछिल्लो २४ घन्टामा १२६ स्टेसनमा वर्षा रेकर्ड भएको छ। जसमध्ये बाराको कलैयामा ६९.६, झापामा ४४.६, सुर्खेतमा ३६.२, चितवनमा ३३.२, दैलेखमा ३१.६, कैलाली चिसापानीमा २१.२ मिलिमिटर वर्षा भएको छ।

आइतबारबाट वर्षा फैलिन थालेकामा बुधबारसम्म पश्चिम तराईमा समेत वर्षा भएको थियो, जसकारण डढेलो घटेको हो। अघिल्लो दिनको तुलनामा बिहीबार कम क्षेत्रमा वर्षा भएको छ, तर बादल भने लागेको छ।

यसअघि गत फागुनदेखि चैत पहिलो सातासम्म पूर्वी भेगमा डढेलोले उच्च रूप लिएको थियो। तर, वर्षा हुँदा निभेको थियो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको समेत प्रभाव छ।

बिहीबार राति कोशी, मधेश, बागमती र गण्डकीका थोरै स्थान तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

शुक्रबार पनि देशका धेरैजसो क्षेत्रमा बादल लाग्नेछ। कोशी, मधेश, बागमतीलगायत देशका पहाडी भूभागका थोरै स्थानमा पानी पर्ने देखिन्छ।  

शनिबार भने यो प्रणाली पश्चिम सर्ने देखिन्छ। शनिबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलगायत देशका पहाडी भूभागमा वर्षा हुने आकलन गरिएको छ।

ad
ad