Skip This
एकीकृत समाजवादीको बैठकमा भीम रावलको चर्चा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o९:३७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एकीकृत समाजवादीको बैठकमा भीम रावलको चर्चा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o९:३७:oo

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकमा एमाले नेता भीम रावलको चर्चा भएको छ । आगामी असारमा आयोजित महाधिवेशनमा प्रस्तुत गरिने दस्ताबेजमाथि समूहगत छलफलका क्रममा रावलबारे चर्चा भएको हो । समूह नेताले निष्कर्ष प्रस्तुत गर्ने वेलामा पनि उनको चर्चा गरेका छन् ।

१२ मध्ये समूह ९ का नेता हस्तबहादुर शाहीले समूहमा छलफल गरेर सुझाव पेस गरेको जानकारी दिए । ‘कतिपय नेताको कार्यशैलीका कारण पार्टी बन्न नसकेको हो । नेताका कोठरीवाला र तिनैका स्वार्थले आमकार्यकर्ताबीच सामञ्जस्यता बनिरहेको छैन । एकतामा आउन चाहनेलाई रोकावट छ, जस्तो कि भीम रावल आदि,’ उनले सुझावमा भनेका छन् । अन्य समूहमा पनि समूहगत छलफलका क्रममा रावलको नाम आएको थियो । तर, समूह नेताहरूले नामै उल्लेख गरेर प्रस्तुत भने नगरेको नेताहरूले बताएका छन् । 

बैठकमा सुझावका रूपमा विषय प्रवेश भएपछि अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियता, वामपन्थी र समाजवादी पक्षधर पार्टी, समूह र व्यक्तिसँग एकताको ढोका खुला रहेको बताए । उनले पार्टीसँग विचार मिल्ने शक्तिलाई एकताबद्ध गर्दै लैजाने बताए । स्रोतका अनुसार एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताले रावलसँगको भेटवार्तालाई बाक्लो बनाएका छन् । विशेष गरी सुदूरपश्चिम र कर्णालीका नेता तथा कार्यकर्ताले प्रायः दैनिकजसो रावलसँग भेटघाट गरिरहेको एक नेताले बताए । 

एमाले विभाजनअघि रावल नेपाल पक्षमै थिए । पार्टी विभाजनका वेला १० बुँदे सहमति गरेर रावललगायत नेताहरू एमालेमै बसेका थिए । दशौँ महाधिवेशनमा रावलले अध्यक्षमा केपी ओलीसँग प्रतिस्पर्धा गरेका थिए । महाधिवेशनमा पराजित भएपछि ओलीले रावललाई सल्लाहकार बनाएका छन् । तर, ओलीको कार्यशैलीप्रति रावलले निरन्तर असन्तुष्टि पोख्दै आएका छन् । पछिल्लो समय एमालेमा बस्न गाह्रो हुँदै गएको टिप्पणीसमेत रावलले गर्ने गरेका छन् । 

महाधिवेशन मध्यअसारमै हुने
अधिकांश समूहले मध्यअसारको महाधिवेशन सार्नुपर्ने सुझाव दिएका थिए । मध्यअसारमा वर्षाका कारण बाटो अवरुद्ध हुन सक्ने, प्रकृति विपत्ति आइपरे उद्धारमा खटिनुपर्ने, धान रोप्नुपर्नेलगायत कारण महाधिवेशन मध्यअसारमा गर्न नहुने तर्क समूहगत छलफलमा उठेको थियो । टोली नेताहरूले सोहीअनुसार सुझाव दिएका थिए । 

तर, जनवादी केन्द्रीयता प्रयोग गर्दै अध्यक्ष नेपालले महाधिवेशन तोकिएकै समयमा हुने बताए । बैठक समापन गर्दै नेपालले १६–२० असारमैै महाधिवेशन हुने भन्दै आवश्यक तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । ‘पार्टी बनाउन प्रतिबद्धता चाहिन्छ । हामीले अप्ठेरो परिस्थितिमा पार्टी निर्माण गर्दै आएका छौँ । बहाना बनाएर पार्टी महाधिवेशन सार्नुहुँदैन । निर्धारित समयमै महाधिवेशन हुन्छ,’ उनले भने । नेपालले दस्ताबेजमाथि प्राप्त सुझावलाई समेटेर जाने प्रतिबद्धतासमेत जनाए ।

दस्ताबेजहरू सुझावसहित पारित
एकीकृत समाजवादीको महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजहरू केन्द्रीय समिति बैठकबाट परिमार्जनसहित पारित भएका छन् । मंगलबार र बुधबार ललितपुर बालकुमारीस्थित कान्तिपुर गार्डेनमा बसेको केन्द्रीय समिति बैठकले विभिन्न दस्ताबेज परिमार्जनसहित पारित गरेको हो । बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन पेस गरेका थिए । नेता साध्यबहादुर भण्डारीले राष्ट्रियता, नागरिकता वितरण प्रणालीमा कडाइ गर्नुपर्ने मागसहित पूरक प्रतिवेदन पेस गरेका थिए । ती प्रतिवेदनमाथि केन्द्रीय सदस्यलाई १२ समूहमा विभाजन गरेर छलफल गराइएको थियो ।