जिम्मेवारीबाट हटिसकेका कर्मचारीको ‘युजर’ दुरुपयोग गरी फर्जी विवरण भरियो

आइतबार, ६ जेठ, २०८१
डिजिटल संस्करण

नक्कली सवारी लाइसेन्स प्रकरण 

यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र बुटवलमा सहायक कम्प्युटर अप्रेटरमा करारमा कार्यरत ज्ञानराज पाण्डेको ‘आइडी’ दुरुपयोग गरी १२२ नक्कली सवारी लाइसेन्स जारी भएको तथ्य फेला परेको छ 

नक्कली सवारी लाइसेन्स प्रकरणमाथि छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नयाँ–नयाँ तथ्य फेला पारेको छ । जिम्मेवारीबाट हटिसकेका कर्मचारीको ‘युजर’ दुरुपयोग गरी कार्यालयबाहिरबाट समेत फर्जी विवरण भरेको भेटिएको हो । 

प्रकरणमा संलग्न भएको आशंकामा हालसम्म १२ जनालाई नियन्त्रणमा लिइसकेको छ । बिहीबार मात्रै सिआइबीले यातायात व्यवस्था विभागकी दीपा न्यौपाने तथा बुधबार इलाका प्रशासन कार्यालय, थारमारे सल्यानमा कार्यरत कम्प्युटर अप्रेटर गणेश भण्डारीलाई पक्राउ गरेको छ । न्यौपाने तीन वर्षदेखि विभागमै कार्यरत रहेकोमा भण्डारी भने विगतमा यातायातमा हुँदा यसमा संलग्न रहेको प्रहरीले जनाएको छ । 

सिआइबीले हालसम्म विभिन्न यातायात कार्यालयमा काम गरेका सात सरकारी कर्मचारीलाई पक्राउ गरिसकेको छ । अनुसन्धानका क्रममा नयाँ तथ्य भेटिएको सिआइबीले जनाएको छ । 

यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र बुटवलमा सहायक कम्प्युटर अप्रेटरमा करारमा कार्यरत ज्ञानराज पाण्डेको ‘आइडी’ दुरुपयोग गरी एक सय २२ नक्कली सवारी लाइसेन्स जारी भएको तथ्य फेला परेको छ । उनी ०७८ भदौदेखि ०८० असार मसान्तसम्म कार्यालयमा कार्यरत थिए । 

त्यसबीचमा उनी ०७९ जेठदेखि १० महिना कार्यालयको सवारीचालक अनुमतिपत्र नवीकरण तथा दर्ता शाखामा कार्यरत थिए । उक्त शाखामा रहँदा कार्यालयले दिएको ‘युजर आइडी’बाट उनले ढड्डा इन्ट्री, लाइसेन्स नवीकरण तथा दर्ता प्रक्रियाको काम गर्दथे । 

०७९ चैतदेखि उनको जिम्मेवारी फेरियो, उनी लाइसेन्स नवीकरण/दर्ता शाखाबाट अर्कै शाखामा पुगे । तर, उनको ‘युजर आइडी’ भने यथावत् रूपमा ‘एक्टिभ’ भएको र त्यसबाट नयाँ नक्कली विवरण प्रविष्ट भएको भेटिएको छ । प्रविष्ट गरिएका विवरणका आधारमा एक सय २२ वटासम्म नक्कली लाइसेन्स जारी भएको देखिएको छ ।

त्यति वेला कार्यालयको कार्यालय प्रमुखमा केशव अर्याल कार्यरत रहेको देखिन्छ । ‘युजर आइडी’ दुरुपयोग गरी नक्कली लाइसेन्स जारी गर्ने कार्यमा उनको पनि संलग्नता रहेको स्रोतको दाबी छ । तत्कालीन कार्यालय प्रमुख अर्यालले नै पाण्डेको आइडी ‘एक्टिभ’ गरी प्रणालीमा डाटा प्रविष्ट गर्ने अवैध कार्य गरेको/गर्न लगाएको खुलेको स्रोतले जानकारी दियो । यसमा कार्यालयका तत्कालीन अधिकृत पदमराज आचार्यसमेत संलग्न भएको स्रोत बताउँछ । यसमा पाण्डे स्वयं पनि संलग्न रहेको हुन सक्ने अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूको आशंका छ । 

तत्कालीन समयमा यातायात व्यवस्था विभाग सूचना प्रविधि विभागका निर्देशकको भूमिकामा रहेका कर्मचारी र हाल सिआइबीकै हिरासतमा रहेका सुरजप्रकाश अर्यालको संरक्षणमा यस्तो कार्य भएको देखिएको पनि एक अधिकारीले बताए । जिम्मेवारीबाट हटिसकेको व्यक्तिको नाममा रहेको ‘युजर आइडी’बाट विवरण प्रविष्ट भएको देख्दा अधिकारीहरू छक्क परेका छन् । ‘कि सम्बन्धित व्यक्तिले पूर्वजिम्मेवारीमा रहँदाको युजर आइडी र त्यसको पहुँच जिम्मेवारीबाट हटिसकेपछि पनि लिएर गएको हुनुपर्यो, कि त्यो चोरी या दुरुपयोग गरेर अर्कैले प्रयोग गरेको हुनुपर्यो,’ स्रोत भन्छ, ‘जसो हुँदा पनि यो कार्य तत्कालीन कार्यालय प्रमुख र विभागका जिम्मेवार अधिकारी नमिली सम्भव नै हुँदैन ।’ कतिसम्म भने ‘युजर आइडी’बाट कार्यालयबाहिर तथा घरबाटसमेत फर्जी विवरण प्रविष्ट भएको पनि भेटिएका छन् । 

जिम्मेवारीबाट हटिसकेका व्यक्तिको नाममा रहेको ‘युजर आइडी’बाट कसरी लाइसेन्सका लागि विवरण प्रविष्ट भए र त्यसका आधारमा नयाँ लाइसेन्स जारी भए भन्नेबारे अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ । प्राप्त प्रमाण र उनीहरूको बयानका आधारमा सिआइबीले संलग्न अन्य कर्मचारी र बिचौलियाको खोजी तीव्र पारेको छ । छानबिनका क्रममा यस प्रकरणमा के–कस्ता बदमासी भए भन्ने नयाँ तथ्य पनि खुल्दै गएका छन् । 

नक्कली सवारी लाइसेन्स जारी गर्ने क्रममा मुख्य बदमासी सम्बन्धित कार्यालयकै कर्मचारीबाट भएको देखिएको छ भने उनीहरूलाई संरक्षण गर्ने र अनुचित लेनदेनको हिस्सा भने विभागसम्मै पुगेको देखिएको छ । नक्कली लाइसेन्स प्रकरणमा संलग्न देखिएका थप कर्मचारी तथा लाइसेन्सबाहकलाई पक्राउ गरी विस्तृत अनुसन्धान जारी रहेको सिआइबीका निर्देशक एआइजी श्यामलाल ज्ञवाली बताउँछन् । 

विभागका पूर्वमहानिर्देशकहरूतर्फ पनि सोझियो सिआइबी अनुसन्धान 
नक्कली लाइसेन्स प्रकरणमा नक्कली लाइसेन्स लिनेसहित १२ जनालाई सिआइबीले पक्राउ गरेकोमा लाइसेन्स लिएका तीनजनालाई हाजिरी जमानीमा छाडेको छ । लजारस दनुवार, दीपक सारू मगर र अजित मिश्रलाई अनुसन्धानमा सघाएपछि प्रहरीले हाजिरी जमानीमा छाडेको हो । कर्मचारीहरू हरीश भट्ट, सुरजप्रकाश अर्याल, नारायणप्रसाद पाण्डे, बिर्जुकुमार चौधरी, वसन्त पाण्डे, गणेश भण्डारी र दीपा न्यौपाने सिआइबीको हिरासतमा छन् ।

त्यस्तै, गिरोहमा संलग्न प्रदीप सुनार, मिलन बाँस्तोलालाई पनि सिआइबीले थुनामा राखी लिखत किर्तेसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । छानबिनबाट फेला परेका नयाँ तथ्य र हिरासतमा रहेकाहरूको बयानका आधारमा सिआइबीले यसमा संलग्न अन्य व्यक्ति तथा कर्मचारीको पनि पहिचान गरिरहेको छ ।

यस क्रममा तत्कालीन समयमा विभागको नेतृत्व गरेका महानिर्देशकहरूसम्म पनि अनुसन्धान गर्नुपर्ने प्रारम्भिक निष्कर्षमा सिआइबी पुगेको छ । नक्कली लाइसेन्सबाट आर्जित लाभ कतिपय महानिर्देशकसम्म पनि पुगेको भेटिएको छ । सिआइबीले छानबिनलाई गति दिएसँगै यसमा संलग्न कतिपय कर्मचारी फरार भएका छन् ।

घुस, शक्ति र पहुँचका आधारमा निजामती, सेना, प्रहरी र भिआइपीसमेतले लिए नक्कली लाइसेन्स
नक्कली लाइसेन्सको लहरो तान्दै जाँदा यसले ठूलो आकार ग्रहण गर्दै गएको छ । निजामती, सेना, प्रहरी र भिआइपीसमेतले घुस, शक्ति र पहुँचका आधारमा नक्कली लाइसेन्स लिएको भेटिन थालेका छन् । शक्ति, पहुँचका आधारमा तथा घुस बुझाएर लाइसेन्स लिएकाहरू अहिले लाइसेन्स रद्द भएपछि त्यसको गुनासो लिएर विभाग धाउन थालेका छन् । कतिपय यातायात कार्यालयले नक्कली पहिचान भएका लाइसेन्स रद्द गरेपछि त्यसको गुनासो लिएर समस्या समाधानका लागि विभाग धाउन थालेका हुन् । 

सुझावित समाचार